ड्राइभर बन्ने रहरले बैंकर बनेका लक्ष्मण कार्की, भन्छन्, ‘पैसाको लागि जागिर गरेको होइन’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 27, 2021 | 12:55:31 PM मा प्रकाशित

laxmi  sunrise bank

हिन्दी भाषामा एउटा उखान 'दाने दाने पे लिखा है खाने वाले का नाम' भने जस्तै भएको छ बैंकर लक्ष्मण कार्कीको जीवनका घटना। सायद उनले कहिल्यै सोचेका थिएनन् होला, कुनै दिन वाणिज् बैकमा बैंकर हुन्छु र सबै बैंकरको नेता पनि हुन्छु भनेर। 

लक्ष्मण कार्की हाल नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकका कर्मचारी हुन् र उनी उक्त बैंकका कर्मचारी युनियनका अध्यक्ष समेत हुन्। तर उनको बैंकिङ यात्रा भने कुनै फिल्मको रोचक घटना भन्दा फरक छैन। 

२०४३ सालमा एसएलसी पास गरेर आइकम पुरा नगरी कोरिया पुगेका कार्कीलाई त्यहाँको कष्टकर जिन्दगी र विदेशीको गालि सह्य भएन। सोहि कारण उनी डेढ बर्ष नबित्दै नेपाल फर्किए। 

नेपाल फर्केलगत्तै फेरी उनले आफ्नो पुरानो सपना पुरा गर्न आइकमको पढाई पुरा पनि गरे। सामान्यतया आइकम सकेपछि मानिसहरु एउटा राम्रो जागिरको खोजीमा लाग्छ्न् तर यिनमा भने यत्ति बेला पनि एउटा गाडी त्यो पनि 'पजेरो'चलाउने हुटहुटि थियो। तर पजेरो किन्नलाई उनीसंग पर्याप्त पैसा थिएन। तर पनि उनीमा ड्राइभर बन्ने सपना मरेको थिएन।

आफ्नो ड्राइभिङ इन्स्टिच्युटमा आफैले ड्राइभिङ सिकाईरहेका उनी दिउसो १२ बजेपछि फुर्सदिला हुन्थे। उनको यो फुर्सदको समय चिया पिएर तथा साथीभाईसँगको गफगाफ मै बितेको थियो। यो समयलाई उनी प्रयोग गर्न चाहन्थे।   

के खोज्छस् कानो आँखो भनेझै पत्रिका पढ्दै गर्दा उनको आँखा एउटा बिज्ञापनमा पुग्यो। त्यो बिज्ञापनमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा ड्राइभरको लागि आबेदन माग गरिएको थियो। अझ रमाइलो कुरा, श्रीलंकाका नागरिक बैंकको नेतृत्त्वमा भएकाले ड्राइभरले अंग्रेजी जानेको हुनुपर्ने  बिज्ञापनमा उल्लेख थियो। 

केहि बर्ष कोरिया बसेको र आफै पनि आइकम पास बिद्यार्थी भएकाले अंग्रेजी भाषा उनको लागि ठुलो बाधक बनेन। बरु बैंकको गाडी चलाउने ड्राइभर बन्ने इच्छा पुरा हुने कुराले उनलाई उत्साहित बनायो। उनले आबेदन दिए र ड्राइभरको लागि छनौट पनि भए। 

बैंकमा २०५४ सालदेखि ड्राइभर पेशामा रहेका कार्की झन्डै १६ बर्षसम्म बैंकको प्रमुख कार्यकारी तथा अन्य उच्च अधिकारीका ड्राइभर बनि रहे। यी १६ बर्षमा उनले बिदेशी स्वदेशी गरि झन्डै आधा दर्जन उच्च अधिकारीका ड्राइभर बन्ने मौका पाए। 

१६ बर्षदेखि गाडी हाँकी रहेका कार्कीले अब भने बैंकमा बैंकको कर्मचारी बन्ने सपना देखिरहेका थिए। बैंकका उच्च अधिकारीहरुको गाडी चलाउदा चलाउदै अब उनीमा भने बैंकको कर्मचारी बनेर बैंकिंङ नै गर्न सकिने आँट पनि पलाएको थियो। 

यहि बेला बैंकले नयाँ कर्मचारीको लागि बिज्ञापन खुलायो। र कार्कीले पनि बैंकमा जुनियर एसिस्टेन्टको लागि आबेदन दिए। बैंकका उच्च अधिकारीहरुको गाडी चलाउने क्रममा उनले बैंकको बैंकिङलाई धेरै नजिकबाट बुझ्ने मौका पाएका थिए। सायद यहि कुराले हुनुपर्छ, उनले जुनियर एसिस्टेन्टको पयीक्षामा सबैभन्दा राम्रो अंक ल्याए र छनौट पनि भए।

रमाइलो कुरा, अहिले बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका रमेश अर्यालले नै त्यो बेला एचआर हेडको रुपमा उनको अन्तर्वार्ता लिएका थिए।  

सीईओ अर्यालले अन्तर्वार्तामा ड्राइभिङ गरिरहेको व्यक्ति कोर बैंकिङमा आएर बैंकलाई के दिन सक्च्नुहुन्छ भनेर प्रश्न सोध्दा अर्यालले आफुले दिएको जवाफ स्मरण गर्दै भन्छन्, 'अहिले ड्राइभिङ गरिरहँदा पनि ग्राहकलाई सहजीकरण पनि गरिरहेको छु, कसरी र कस्ता सुविधा दिँदा ग्राहक खुसि हुन्छन् भन्ने कुरालाई नजिकबाट नियालिरहेको छु, त्यहि भएर अब कोर बैंकिगबाट ग्राहकलाई खुसि राख्न सकिन्छ भनेर बैंकमा आउँन लागेको हुँ भन्ने जवाफ दिएको थिए।' 

त्यो बेला अन्तर्वार्ताकै क्रममा रमेश सरले आफुलाई यत्तिका लामो समय ड्राइभर बनेर किन बसेको, पहिल्यै बैंकमा आउनुपर्थ्यो भनेर उनको प्रशंसा गरेको समेत उनी सम्झिन्छन्।    

१६ बर्षदेखि ड्राइभर बनेका कार्कीको बैंकर बन्ने सपना पनि २०७० सालमा पुरा भयो। अहिले भने उनि एसिस्टेन्ट पोजिसनमा मात्र छैनन्, बरु बैंकका कर्मचारीको नेता नै बनेका छन्। 

बैंकका कर्मचारीहरुको हकहितका लागि पछिल्लो ८ बर्षदेखि लडिरहेका कार्की बैंकका कर्मचारी युनियन भनेको बैंकको हकहितमा काम गर्ने हुनुपर्ने बताउँछन् र आफुले पनि त्यहि अनुसार काम गरिरहेको बताउँछन्। 

राम्रो कर्मचारीले राम्रो गर्दा गर्दै पनि आफुले पाउने सेवा सुविधाबाट बन्चित हुन्छ भने त्यस्तो बेला कर्मचारी युनियनले आफ्नो भूमिका निर्वाह गर्ने उनी बताउछन् । उनी भन्छन् ' सबै मिलेर बैंकलाई राम्रो बनाउनुपर्छ, बैंक राम्रो हुँदा कर्मचारीको पनि स्वत राम्रो हुन्छ।'

कुनै बेला आफ्नो शोख पुरा गर्न बैंकमा ड्राइभर बनेका कार्की अहिले पनि पैसाको लागि नै बैंकर नबनेको बताउँछन्। फर्निचर उद्योग, ड्राइभिङ इन्स्टिच्युट, ठेक्का पट्टा, इलेक्ट्रोनिकसंग जोडिएका व्यवसाय अहिलेपनि सुचारु रहेको र घरभाडाबाट महिनामा डेढ दुई लाख आउने भएकाले आफुले पैसाको लागि बैंकमा काम नगरेको उनी बताउछन्।

मानिसहरुले सन्तानको लागि कमाउनु पर्ने अवस्था छ तर उनलाई भने आफ्ना दुवै सन्तान पनि ठुला भएर छोरा अमेरिका र छोरी क्यानडा भएकाले आर्थिक भार व्योहोर्नु परेको छैन। बरु उल्टै चण्डोलको घरबाट नै महिनामा डेढ दुई लाख भाडा आउने भएकाले बैंकमा आफ्नो समय पैसा कमाउनलाई नभएको उनको भनाई छ। 

फुर्सदको समयको सदुपयोग पनि हुने र केहि नयाँ कुरा सिक्न पनि पाइने र आफ्नो समय सहि ठाउँमा प्रयोग पनि हुने भएकाले आफुले अहिले पनि बैंकमा काम गरिरहेको उनी सुनाउँछन्। 

२०७२ सालमा बैंकमा कर्मचारी युनियनको वरिष्ठ उपाध्यक्ष रहेका कार्की अहिले २०७२ सालदेखि नै युनियनको अध्यक्ष रहँदै आएका छन्। उनी आफुलाई बैंकको कर्मचारीको साथसाथै सामाजिक व्यक्तिको रुपमा चिनाउन चाहन्छन्। आफुले जे काम गरिन्छ त्यसमा रमाउन सकिएन भने जिन्दगिमा प्रगति पनि नहुने र जिन्दगि पनि बेकार हुने उनको बुझाई छ।   

आज धेरै संस्थामा सामुहिक सौदाबाजी र आफ्नो हितको लागि मात्र कर्मचारी युनियनको प्रयोग हुँदै आएकाले यसमा आफुलाई चित्त नबुझेको उनी सुनाउछन्। आफुले काम गर्ने सँस्थाको प्रगति हुँदा मात्रै आफ्नो प्रगति हुने र सँस्थाको प्रगतिको लागि आफुले आफ्नो ठाउँबाट कुनै कसर बाँकी नराखी कर्मचारीले काम गर्नुपर्ने उनको भनाइ छ। 

कर्मचारीले आफ्नो ठाउँबाट राम्रो गर्दागर्दै पनि उनीहरुको सेवा सुविधामा वृद्धि भएको छैन, बढुवा वा अन्य कुरामा न्याय भएको छैन, सँस्थामा कर्मचारी कर्मचारीबीच समानता छैन भने मात्र युनियनले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको बुझाई छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved