१ करोड लगानीमा ४ युवाले सुरु गरे अर्बन बजार, नेपाली उत्पादन विश्व बजारमा पुर्याउने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2021 | 11:39:43 AM मा प्रकाशित

laxmi  sunrise bank

डिजिटल युगमा ‘स्टार्टअप’ लाई समृद्धिको प्रमुख पिल्लर मध्येको एक मानिन्छ । तर, नेपालमा भने भर्खर भर्खर स्टार्टअपका विषयमा बहस तीव्र बन्दै गएको छ । नीजि लगानीमा विभिन्न क्षेत्रसँग सम्बन्धित स्टार्टअप पनि खुल्दै छन् । 

कृषि क्षेत्रमा पनि स्टार्टअपहरु आउँदै छन् । अहिले पोखरा सिमलचौरमा ‘अर्बन बजार प्रा.ली.’ सञ्चालनमा आएको छ । तरकारी, फलफूल लगायतका स्थानीय उत्पादनलाई उपभोक्ता माझमा पुर्याउने अर्बन बजारको उदेश्य छ । एक हिसाबले भन्ने हो भने यो डिजिटल हाटबजार नै हो ।

४ युवाको लगाव

अहिले अर्बन बजारमा ४ युवा व्यवसायीहरु सञ्चालकको रुपमा छन् । १ अर्ब भन्दा बढी लगानी गरिसकेका उनीहरु उपभोक्तालाई कृषि उपज र कृषकलाई कृषि सामग्री सहजै पुर्याउन तल्लिन छन् ।

रोजगारी सिर्जना, उपभोक्ताको समय बचत, कृषिमा आत्मनिर्भरताको लक्ष्य र राजस्वमा योगदान गर्दै मूलुकलाई ‘डिजिटल नेपाल’ बनाउने अभियानका भरपर्दा सारथीका रुपमा उदाएका यी ४ युवामध्ये कम्पनीका अध्यक्ष हुन् तिलक लामिछाने ।

‘साना तथा ठूला सबै खाले कृषकका उत्पादन खरिद गरी उपभोक्तालाई ताजा तरकारी, फलफुल तथा दुग्धजन्य उत्पादन घरमै पुर्याउँदै आएका छौँ’ अध्यक्ष लामिछानेले भने, ‘हामी किसानहरुलाई उत्पादन बढाउने तरिका सहितको तालिम पनि दिने योजनामा छौँ । जसरी हुन्छ, कृषि उत्पादन बढाउन लागि परेका छौँ ।’

ग्रेडिङ लेबल टाँसेरै बिक्रि

डिजिटल कृषि हाट बजारका रुपमा सुरु भएको अर्बन बजारले फलफूल तथा तरकारीलाई अर्गानिक वा नन–अर्गानिकमा ग्रेडिङ गर्छ । यति मात्रै नभई मूल्य र खान योग्य अवधि सहितको लेबल बाहिर प्रष्ट देखिने गरी टाँसेर मात्रै बस्तु बजार पठाउने गरिएको छ ।

अर्बन बजारले तरकारी र फलफूल मात्रै नभई अन्य स्थानीय उत्पादनसमेत बजारमा पठाउँदै आएको छ । घरमा बनाईने अचार, गुन्द्रुक, सुकाएका तरकारीका चाना (मूलाका सिन्की लगायत), मस्यौरा, तामा लगायतका स्थानीय उत्पादनको बजारीकरण पनि सुरु भईसकेको छ ।

मासुजन्य उत्पादन पनि अर्बन बजारमा उपलब्ध छ ।

यति मात्रै नभई, कृषकका लागि आवश्यक कृषि औजारहरु, पशुपंक्षीका आहारा, बिउ बिजन पनि उपलब्ध रहेको छ । 

मोबाइल एप पनि

अर्बन बजारको मोबाइल एप पनि उपलब्ध छ । ‘खेतदेखि भान्छासम्म’ भन्ने नारा सहित सुरु भएको डिजिटल हाट बजार अर्बन बजारले मोबाइल एपमार्फत सहज रुपमा बस्तु अर्डर गर्न सकिने व्यवस्था गरेको छ ।

पहिलो चरणमा पोखरा र पोखरा आसपासको क्षेत्रलाई लक्षित गरी सेवा सुरु गरेको अर्बन बजारले निकट भविष्यमा देशैभरी सेवा विस्तारको योजना बनाएको अध्यक्ष तिलक लामिछानेको भनाई छ ।

आगामी लक्ष्य

नमूना डिजिटल बजारको परिकल्पनासहित स्थापित भएको अर्बन बजारले नेपाली कृषि उत्पादनलाई विश्व बजारसम्म पुर्याउने लक्ष्य लिएको छ । यति मात्रै होइन, किसानलाई उत्पादन बढाउने तालिम र सिप पनि प्रदान गर्ने लक्ष्य कम्पनीको छ ।

केही समयमै नेपालभरी सेवा विस्तार गरी पर्याप्त रोजगारी सिर्जना गर्दै कृषि क्षेत्रकै नमूना ‘स्टार्टअप’ बन्ने लक्ष्य बोकेको अर्बन बजारले हरेक गृहिणीको सहयोगी भन्ने पवित्र उदेश्य राखेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved