स्वदेश मै दिवाकरको पौरख: २० लाखबाट सुरु गरेर ३ करोडको जुत्ता कारोबार, देशभर बिक्री

सीता बुढाथोकी

सीता बुढाथोकी

Dec 07, 2023 | 06:31:18 PM मा प्रकाशित

laxmi  sunrise bank

हामीले दैनिक जीवनमा धेरै ब्राण्डका जुत्ताहरु लगाउँछौँ । कुनैबेला विदेशी जुत्ताको दबदबा रहेको नेपालमा अहिले स्वदेशी उत्पादनले उपभोक्ताको मन जितिरहेका छन् । यसरी लाखौँ नेपालीको मन जित्न सफल स्वदेशी जुत्ताको ब्राण्ड हो ‘सिल्स’ । सिल्स ब्राण्डको कम्पनीको नाम भने नमस्ते फुटवेयर प्राइभेट लिमिटेड हो । यो कम्पनीले स्पोर्ट सुज, पार्टी सुज, बुट आइटम, ट्रेकिङ सुज जस्ता २५ प्रकारका १ हजार भन्दा बढी डिजाइनका जुत्ताहरु उत्पादन गर्दै आएको छ । 

स्वदेशमै पौरख गरेर आत्मनिर्भर अर्थतन्त्रका लागि योगदान दिन सकिन्छ भन्ने आत्मविश्वासका साथ दिवाकर गिरीले आजभन्दा १३ वर्ष अगाडीबाट सिल्स ब्राण्डका जुत्ताको उत्पादन सुरु गरेका हुन् । सानैदेखि व्यवसायिक कर्ममा होमिएका दिवाकर कुनै रैथाने उद्योगी वा पारिवारिक विरासतबाट उद्यम व्यवसायमा प्रवेश गरेका भने होइनन् । रामेछाप घर भएका गिरीका बुबा शिक्षक थिए । पिता शिक्षक हुँदा पनि उनी भने सानैदेखि कसरी व्यवसायी बन्न सकिन्छ भन्ने ध्याउन्नमै हुन्थे । सानैदेखि व्यवसायतर्फ आकर्षित भएका उनी पढाईमा खास दख्खल भने राख्दैनन् थिए । उनले कक्षा १२ सम्मको अध्ययन सक्नासाथ व्यवसाय सुरु गरे । सानैदेखि व्यवसायी बन्ने आफ्नो लक्ष्य पछ्याउँदै कर्म सुरु गरेका दिवाकर कालान्तरमा व्यवसायीमा मात्रै सिमित भएनन्, सफल उद्यमीसमेत बन्न पुगे ।

दिवाकरले २०५७ सालदेखि २०६४ सालसम्म गाउँमै जुत्ता चप्पल तथा खाद्यान्न एवम् तरकारी बेच्थे । गाउँमा व्यवसाय गर्न काठमाडौँबाटै सामान लैजानुपर्थ्यो । काठमाडौँबाटै सामान लैजान त्यतिबेला अहिले जस्तो यातायातको सहज सुविधा पनि थिएन । त्यसपछि उनले सोचे, ‘आँखिर सामान काठमाडौँबाटै ल्याउनुपर्छ भने काठमाडौँमै गएर व्यवसाय किन नगर्ने ?’ यो सोचपछि उनी काठमाडौँ हानिए । काठमाडौँमा आएर भृकुटीमण्डपमा जुत्ताको व्यापार सुरु गरे ।

अरु कम्पनीका जुत्ता बेच्ने क्रममा उनलाई आफ्नै ब्राण्ड बनाएर आफैँ जुत्ता उत्पादन गर्नुपर्छ भन्ने सोच पलायो । विदेशबाट ल्याइएका जुत्ता बिक्रि गरेर आफ्नो त भविष्य ठिकठाकै होला, तर देश भने क्रमशः परनिर्भरताको बाटोमा जान्छ भन्ने ठानेपछि उनले जुत्ता उत्पादन गर्ने योजनाका साथ २०६४ सालमा नमस्ते फुट्वेयर प्रा.लि. नामक कम्पनी दर्ता गरे । 



२०६४ सालमै कम्पनी दर्ता गरे पनि लगानी जुटाउने लगायतका काममा केही ढिलाई हुँदा जुत्ता उत्पादनका लागि भने उनले थप ३ वर्ष कुनुपर्यो । तर, हरेश नखाई उदेश्यमा केन्द्रित भएका दिवाकर अन्ततः २०६७ सालमा २० लाख रुपैयाँ लगानीबाट जुत्ता उत्पादन सुरु गर्न सफल भए । सुरुमा ११ जना श्रमिक राखेर जुत्ता उत्पादन सुरु गरेका दिवाकरले २०७२ सालसम्म आइपुग्दा कामदार संख्या बढाएर ३६ पुर्याए । तर, सोही वर्षको सुरुवातमै नेपालमा भूकम्प गयो । भूकम्प लगत्तै भारतले नाकाबन्दी गर्यो । यसको असर उनको उद्योगलाई पनि पर्यो । त्यसबाट जसोतसो तङ्ग्रिँदै गर्दा कोरोना आयो । कोरोनापछि लगत्तै आर्थिक मन्दीको चपेटामा मुलुक फस्यो । यसपछि भने उनले कामदार कटौती नगरी नहुने बाध्यता आइपर्यो । अहिले उनको उद्योगमा १९ जना कामदार छन् । 

यद्यपी, उनलाई काममा श्रीमती सुनिता भारतीले सघाइरहेकी छिन् । 

५० प्रतिशत कच्चा पदार्थ स्वदेशी

सिल्स ब्राण्डका जुत्तामा ५० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग हुने दिवाकर बताउँछन् । अपुग हुने ५० प्रतिशत कच्चा पदार्थ भने भारत र चीनबाट ल्याउँछन् । 

‘देशका विभिन्न ठाउँबाट कच्चा पदार्थ संकलन गरेर फ्याक्ट्रीसम्म ल्याइन्छ, हाम्रो फ्याक्ट्री पेप्सिकोलामा छ’ दिवाकर भन्छन्, ‘हाम्रो जुत्तामा ५० प्रतिशत कच्चा पदार्थ स्वदेशी प्रयोग हुन्छ । बाँकी भारत र चीनबाट ल्याउँछौँ ।’



नेपालभरी बिक्रि

सिल्स ब्राण्डका जुत्ता सस्तोमा ३ सयदेखि महँगोमा ९ हजारसम्मका छन् । अधिकांश उत्पादन पुरुषहरुका लागि छन् । महिलाका लागि ‘स्कुल सुज’ मात्रै बनाउँदै आएको छ । दिवाकरका अनुसार अहिले दैनिक १८० डिजाइनका जुत्ताहरु बनाइन्छ । 

‘बजारको माग अनुसार जुत्ता उत्पादन गर्ने हो, बजारले मागेको खण्डमा ५ सय डिजाइनका जुत्ता उत्पादन गर्न सक्ने क्षमता छ’ उनले भने ।  

यसरी उत्पादन भएका जुत्ता नेपालभरी बिक्रि हुँदै आएका छन् । सिल्सका जुत्ताहरु काठमाडौँ, ललितपुर, भक्तपुर, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज, चितवन, रामेछाप, सिन्धुली र जनकपुरका विभिन्न स्टोरहरुबाट बिक्रि हुँदै आएको छ ।

लगानी २ करोड पुग्यो, कारोबार ३ करोड बढी

२० लाखमा भएको कम्पनीले अहिले वार्षिक ३ करोडभन्दा बढीको कारोबार गर्दै आएको दिवाकर बताउँछन् । उनका अनुसार अहिले कम्पनीमा लगानी मात्रै २ करोड पुगेको छ । 

‘हाम्रो लक्ष्य भनेको युवालाई नेपालमै रोक्ने हो, यहीँ रोजगारी सिर्जना गर्ने हो, देश हरेक उत्पादनमा आत्मनिर्भर हुनुपर्छ भन्ने हो’ उनले भने, ‘एउटै उद्योगबाट यो सम्भव हुन्छ भन्ने होइन, तर यो एउटा अभियान हो । थोरै युवालाई भएपनि देशमै राखेर रोजगारी दिन सकेकोमा म खुशी छु ।’

हलुका र कम्फर्टेबल जुत्ता विशेषता  

दिवाकरका अनुसार सिल्सका जुत्ता बालकदेखि वृद्धवृद्धा सम्मले लगाउन मिल्छ । हलुका र कम्फर्टेबल जुत्ता नै आफ्नो कम्पनीको विशेषता भएको उनको भनाई छ । 

‘सिल्सका जुत्ता प्रयोग गरिरहनु भएकाहरुलाई यसको क्वालिटी र अरु विशेषता थाहा छ, जसले लगाउनु भएको छैन, उहाँहरुले पनि एकपटक लगाएपछि अरु ब्राण्ड र सिल्समा अन्तर थाहा पाउनुहुनेछ’  आत्मविश्वासका साथ दिवाकर भन्छन् ।



जाडो महिना लक्षित ट्रेकिङ सुज

सिल्सले अहिले जाडो महिनाका लागि लक्षित गरेर ‘ट्रेकिङ सुज’ बजारमा ल्याएको छ । यो जुत्ता सबै उपभोक्ताको रोजाईमा परेको दिवाकर बताउँछन् । यो जुत्ताको बजार मूल्य ६ हजार ८ सय रुपैयाँ छ । तर, उद्योगले जुत्ता मेलामा ५० प्रतिशत छुट दिइरहेको छ । 

दिवाकरका अनुसार यो जुत्ताकम काल्फ् लेदर प्रयोग गरिएको छ । यो लेदर भारतबाट आयात गरिन्छ । गजबको तातो र बलियो जुत्ता, त्यसमाथि छुटमा पाउँदा उपभोक्तामाझ यो जुत्ता निकै लोकप्रीय बनेको छ । 

‘जुत्ता मेलामा ५० प्रतिशत छुटमा यो जुत्ता उपलब्ध गराएका छौँ, शोरुममा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौँ’ दिवाकर भन्छन्, ‘जाडो यामले गर्दा होला यो जुत्ता सबैभन्दा धेरै बिक्रि हुने जुत्ता हो ।’ 



१३ हजार मूल्य पर्ने ‘हार्ड्ली डेविट सन’ उत्पादनको तयारी

अबको केही समयमै दिवाकरको नमस्ते फुट्वेयर प्राइभेट लिमिटेडले ‘हार्ड्ली डेविट सन’ नामक नयाँ जुत्ता बजारमा ल्याउँदैछ । उनका अनुसार यो विदेशी ब्राण्ड हो । तर, दिवाकरले नेपालमै उत्पादन गर्ने योजना बनाइरहेका छन् । यो जुत्ताको मूल्य प्रतिजोर १३ हजारसम्म पर्ने उनको भनाई छ ।

‘यो विदेशी ब्राण्ड भएकाले मार्टहरुमा यो २४÷२५ हजारमा बिक्रि हुने गरेको छ, हामीले नेपालमै उत्पादन गर्ने भएकाले यसको मूल्य प्रतिजोर १३ देखि १४ हजारसम्म पर्न सक्छ’ दिवाकरले भने, ‘यो जुत्ता इस्ट्यान्डर ठाँउमा मात्र बिक्छ, हामीलाई पनि यसलाई बजारमा ल्याउन केही समय लाग्छ ।’ 

भन्सार छलीको जुत्ताले नेपाली ब्राण्डलाई समस्या

दिवाकरका अनुसार अहिले नेपाल जुत्ता चप्पलमा आत्मनिर्भर छ । विदेशबाट आयात नहुँदा पनि नेपाली उपभोक्तालाई स्वदेशी उत्पादनले नै धान्ने उनको दाबी छ । तर, सरकारले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आयातलाई निरुत्साहित गर्ने नीति नलिएकोमा पनि उनी खिन्न छन् । त्यसमाथि भन्सार छलेर हुने अवैध आयातले स्वदेशी ब्राण्डलाई निकै मर्का पारिरहेको गुनासो पनि छ ।

‘क्वालीटीका हिसाबमा नेपाली जुत्ता विदेशीभन्दा कम छैनन्, अहिले त भन्सार छलेर आउने जुत्ताका कारण नेपाली जुत्ता महँगो देखिन गएको छ’, उनले भने, ‘नेपालीलाई पुग्ने गरी नेपालमै जुत्ता उत्पादन भइरहेको छ, यस्तो अवस्थामा बाहिरबाट आउने जुत्ता चप्पललाई रोक लगाउनु पर्छ । अनि मात्र नेपाली ब्राण्डले राम्रो बजार पाउँछ ।’ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved