हानले बागमतीका मुख्यमन्त्रीलाई भन्यो, ‘खर्च बढाउने वातावरण ऐन संशोधन गरियोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2021 | 08:54:56 AM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान) ले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेटी दिगो पर्यटनको लागि सुझाव प्रस्तुत गरेको छ । 

सुझाव प्रस्तुत गर्दै होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले बागमती प्रदेश पर्यटनको केन्द्र भएको हुँदा विशेष पर्यटन नीति तथा योजना बनाई विशेषगरी पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रमहरु शीघ्र कार्यान्वयन गरिनुपर्ने र यसबाट अन्य प्रदेशहरुले पनि सोही बमोजिमको अनुसरण गर्ने बताईन् । 

उनले वातावरणीय अध्ययन आफैंमा राम्रो र यसको सराहना हुँदाहुँदै पनि कोभिड–१९ को मध्य समय असार १, २०७६ मा संशोधन भएको वातावरण ऐन २०७६ मा २५ देखि ५० बेड सम्मका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिनुपर्ने कानून लागू हुनुले स्तरोन्नति र सकारात्मक दूरदृष्टि राखेपनि परामर्श र व्यवहारिकता नहेरी गरिएको यस व्यवस्थाले साना तथा मझौला व्यवसायीहरुलाई चेपुवामा पारेको बताएकी छिन् । अहिलेको जटिल परिस्थितिमा खर्चका कारण उक्त कार्य गर्न केही समय लाग्ने भएकोले नेपाल राष्ट्र बैंक लगायतका निकायहरुबाट उपलब्ध हुनुपर्ने इजाजतहरु वातावरणीय अध्ययनलाई थाँती राखी इजाजत प्रक्रिया लगायतका कार्यहरु स्थगित हुन पुगेकाले यसलाई सहजिकरण गरिदिन पनि उनले मुख्यमन्त्रीलाई आग्रह गरेकी छिन् । 

साथै नयाँ आउने प्रदेश नीति तथा नियम र संशोधन गरिने अन्य विषयहरुमा हानको प्रत्यक्ष सहभागिता तथा छलफल हुन सके दिगो पर्यटनलाई टेवा पुग्ने अध्यक्ष राणाको भनाई छ । 

उपत्यका पर्यटन कार्यालयलाई स्रोत साधनसहित मजबुत बनाइनुपर्ने पनि उनको माग छ । 

कार्यक्रममा संघका महासचिव साजन शाक्यले कोभिड–१९ ले अतिप्रभावित पर्यटन तथा होटल उद्योगलाई बचाउनका लागि प्रदेश पर्यटन नीति तथा कानुन पर्यटन मैत्री हुनुपर्ने बताए । 

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार व्यवसाय मैत्री नीयम तथा कानुनको अवलम्वन गर्दै अगाडि बढिरहेको र यसबाट पर्यटन क्षेत्रलाई ठूलो राहत पुग्ने दाबी गरे । उनले यस क्षेत्रको जर्गेना हुन सके, बढी भन्दा बढी लगानी हुन सके, रोजगारी र राजस्वको दयरा बढ्ने बताउँदै पर्यटन क्षेत्रलाई फराकिलो बनाउँदै अघि बढ्ने आश्वासन दिए । 

सो अवसरमा उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराईले कार्यालय नीति तथा नियमको पूर्ण परिपालना गरी अगाडि बढ्ने भएको हुँदा यस्ता किसिमका समस्याहरु कार्यालयमा अवगत हुँदा व्यवसायीको समस्या आफैंमा सकारात्मक हुँदाहुँदै पनि कानुनको पालना गर्ने क्रममा कार्यालय दृढ रहेको बताए । 

कार्यक्रममा पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष, पश्चिम ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तथा पर्यटकीयस्तरका होटलहरुका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved