विदेशिने युवाको ट्रेनिङ सेन्टर बन्दैछन् ठूला होटल, सरकारसँग छैन राख्ने योजना

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 23, 2023 | 10:41:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका स्तरीय होटलहरु युवालाई विदेश पठाउने तालिम (ट्रेनिङ) सेन्टर बन्न थालेको छ । नेपालमा व्यवसायिक र रोजगारीको वातावरण हराउँदै गएपछि विदेश पलायन हुने युवाहरु सीप सिक्नका लागि मात्रै होटललाई उपयोग गर्न बाध्य भएका छन् ।

नेपालमै युवाहरुलाई रोजगारी सिर्जना गर्ने सरकारको नारामात्रै रहेको र रोजगारीका लागि चाहिने वातावरण नहुँदा युवाहरु विदेशिने क्रम बढ्दो छ । उनीहरु मुख्य गरी होटलको सीप सिकेर विदेशिने गरेका छन् । त्यसका लागि स्तरीय होटल छनोटमा पर्ने गरेको छ । 

 केही महिना होटलमा काम गर्ने र त्यसको अनुभव प्रमाणपत्र लिएपछि उनीहरु विदेशिने गरेकाले होटल सञ्चालकहरु चिन्तित भएका छन् ।

'२्/३ महिना दैनिक देखेपछि जब नामसमेत याद हुन थाल्छ, तब मान्छे देखिन छोड्छन् । फलानो देखिँदैन, कहाँ गयो भनेर सोध्दा भिसा आयो रे, उ त विदेश गयो भनेर सुनाउँछन् । यसरी धेरै जना गइसके । हामी कहाँ ५ महिना, ६ महिना काम सिकेर विदेशका ब्राण्डेड होटलमा काम गर्न जानेहरु धेरै छन्’, होटल मेरियटका अध्यक्ष शशिकान्त अग्रवालले भने ।

बाराही ग्रुपका योगेन्द्र थापाको चिन्ता पनि त्यही छ । उनका अनुसार बाराही काठमाडौँको ओपनिङमा ८० जना जति कर्मचारी राखिएको थियो । उनीहरुलाई दुई/तीन महिना अगाडिबाटै तालिम दिएर तयार पारिएको थियो । होटल सञ्चालनमा आएको ३ महिना पुगेको छैन, १० जनाभन्दा बढी उडिसके’, बाराही ग्रुपका थापाले सुनाए । 

यी २ ठूला होटलका सञ्चालकको समानार्थी भनाइले नै नेपालका होटलहरु ‘ट्रेनिङ इन्स्च्यिूट’ बनेको पुष्टि हुन्छ । भइरहेको जनशक्ति पलायन हुँदा यता भने होटलहरुले स्तरीय जनशक्तिको अभाव झेल्नुपर्ने अवस्था नजिक रहेको थापा बताउँछन् । होटलहरु कुनै समयमा तालिम दिँदै विदेश पठाउँदै गर्ने ‘इन्स्च्यिूट’ बन्नछन् कि भन्ने चिन्ता लागेको उनीहरुले बताए।

त्यसो त, वैदेशिक रोजगारीमा कच्चा कामदार पठाउनु र तालिम प्राप्त दक्ष जनशक्ति पठाउनुमा धेरै फरक रहेको उद्योगी शशिकान्त अग्रवालको भनाइ छ । उनका अनुसार नेपालका तारे होटलमा मासिक ५० हजार कमाउने व्यक्तिले विदेशका होटलहरुमा मासिक २ लाखभन्दा बढी आर्जन गर्छन् । 

‘कोही अदक्ष मान्छे विदेश जाँदा उसले गर्ने कामको ठेगान हुँदैन, उसले गर्ने आम्दानी पनि निकै कम हुन्छ’ उद्योगी अग्रवाल भन्छन्, ‘तर दक्ष जनशक्ति जाँदा उसले गर्ने काम पनि पक्का हुन्छ र उसले कमाउने रकम पनि ठूलो हुन्छ । होटलकै कुरा गर्दा पनि हामी कहाँ मासिक ५० हजार कमाउनेले विदेश गएपछि २ लाखभन्दा बढी कमाउँछन् ।’

तर तालिम दिएर तयार पारेको जनशक्ति विदेश गइदिँदा नेपालका होटलहरुले पटकपटक जनशक्ति उत्पादनमा खर्च गर्नु परिरहेको होटल व्यवसायी थापाको अनुभव छ । सँगै, त्यस्तो जनशक्ति विदेश गएपछि फर्किने सम्भावना पनि अत्यन्त न्यून हुने उनी बताउँछन् । 

कारण के ?

होटल व्यवसायी थापाको अनुभवमा २ वटा मुख्य कारणले जनशक्ति विदेशिएको देखाउँछ । पहिलो, यहाँको न्यूनतम् पारिश्रमिक र दोस्रो, यहाँ भएका होटलहरुबीचको अस्वस्थ प्रतिस्पर्धा । त्यसमाथि व्यवसायिक वातावरणको पनि कमी छ ।

 ‘सरकारले तोकेको न्यूनतम् पारिश्रमिक नै मासिक १७ हजार ३०० रुपैयाँ छ, यो पनि अहिले बढाएको भयो, यसले दैनिक जीवनयापन गर्न पुग्ने अवस्था छैन’, उनी भन्छन्, ‘अर्को चाहिँ यो भन्दा बढी दिन सक्ने अवस्था पनि छैन । किनकी, अस्वस्थ प्रतिस्पर्धाले आजभन्दा १० वर्ष अगाडि १०० डलर पर्ने कोठा अहिले होटलहरुले ६०/७० डलरमा बेच्नु परिरहेको छ । होटलहरुको आम्दानी नै कम हुँदै गएको छ ।’

उद्योगी अग्रवालल चाहिँ यहाँ काम सिकेर विदेश गएर कमाउने र फर्केर आएपछि त्यो पैसा यहीँ लगानी गर्ने उदेश्य बोकेर पछिल्लो समय होटलका जनशक्तिहरु विदेशिएको बताउँछन् । तर, उनीहरु केही वर्ष परदेश बसेपछि उतै बस्ने र लगानी पनि उतै गर्ने अवस्था देखिएकाले उनीहरुलाई स्वदेश फर्काउने भरपर्दो नीति चाहिने उनको बुझाइ छ ।

‘सुरुमा जाँदा पैसा कमाउने उद्देश्यले नै जान्छन्, तालिम प्राप्तलाई विदेशका होटलमा यहाँको भन्दा ४ गुणा बढी सुविधा हुन्छ, तर बस्दै गएपछि उ नफर्किन सक्छ, किनकी उसले यहाँभन्दा उतै सम्भावना देख्छ र उतै लगानी गर्न सक्छ’, उनले भने, ‘उनीहरुलाई स्वदेश फर्काएर उनीहरुले दुःख गरेर कमाएको पैसा यहाँ लगानी हुने वातावरण बनाउन उनीहरुले विश्वास गर्ने नीति हुनुपर्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved