संसद बैठक सारेर देउवाले थाले ओलीसँग छलफल, गठबन्धन टुटेर नयाँ समीकरणको संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2022 | 02:51:03 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार बस्ने भनिएको संसद बैठक स्थगित गर्न लगाएका प्रधानमन्त्री शेर बहादुर देउवाले संसद भवन भित्रै नै एमाले अध्यक्ष केपी ओलीसँग बैठक सुरु गरेका छन् । देउवाले एमालेसँग संवाद गर्नको लागि समय आवश्यक भएको भन्दै आजको संसद बैठक स्थगित गरेर भोलिको लागि राख्न आग्रह गरेका थिए ।

सोहि अनुसार संसद सचिवालयले बैठक भोलि शुक्रबार १ बजेसम्मको लागि स्थगित गरेको छ । बैठक स्थगित भए लगत्तै देउवाले ओलीसँग छलफल थालेका हुन् । छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।

देउवाले एमसीसी पास गर्न ओलीको साथ खोजेका छन् । ओलीले भने आफ्ना माग पुरा नभए सम्म कुनै पनि संसदीय प्रक्रियामा भाग नलिने अडान राख्दै आएका छन् । एमालेले सभामुखले राजिनामा दिनु पर्ने र आफ्ना पार्टीले कारवाही गरेका माधव नेपाल सहितका १४ जना सांसदहरुलाई संसद बैठकमा राखेर संसद चल्न दिन नसक्दै बताउदै आएको छ । एमालेले नेकपा एकिकृत समाजवादीका ति १४ जनालाई गैर सांसदको संज्ञा दिदै आएको छ । गैर सांसद राखेर संसद बैठक चल्न नसक्ने एमालेको अडान छ । 

देउवाले यस अघि पनि पटक पटक एमालेसँग संवाद गरेका थिए । यस पटकको छलफल भने निर्णायक हुने बताईएको छ । हालको सत्ता गठबन्धन भत्किने संकेत समेत नेताहरुले गरेका छन् । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले  आज संसद भवनबाट बाहिरिने क्रममा गठबन्धन बन्नु र भत्किनु ठूलो कुरा नभएको बताएका थिए  । त्यस्तै एमाले सचिव योगेश भट्टराईले गठबन्धन रहेसम्म देशले निकास नपाउने बताएका थिए  । अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भन्दै छिटो भत्किनुपर्ने भट्टराईको भनाई थियो। कांग्रेस नेताहरुले समेत सत्तामा बस्ने तर सरकारले ल्याएको प्रस्ताव पास नगर्ने हो भने सरकारमा बस्नुको औचित्य समाप्त हुने बताउदै आएका छन् । यिनै कारण सत्ता समीकरणमा फेरबदलको सम्भावना अधिक रहेको नेताहरु बताउछन् । 

आज बस्ने भनिएको बैठकमा एमसीसीको कार्यसूची समावेश गरिएको थियो । संसद सचिवालयले तयार पारेको कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीको विषय समावेश थियो । दोस्रो नम्बरको कार्यसूचीमा  "अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।' उल्लेख थियो ।

तर बैठक बस्दै नबसी शुक्रबारसम्मको लागि स्थगित भएको छ ।  

यस अघि फागुन ८ गते बसेको बैठकमा नाराबाजी र होहल्लाका बीच एमसीसी पेश भएको थियो । बिहिबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुन लागेको हो। एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved