डेढ सयमै १०० किलोमिटर गुड्छन् विद्युतीय गाडी, भाडा भने डिजेल गाडी सरह अशुल्छन्

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 22, 2023 | 01:11:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले देशका विभिन्न ठाउँमा सार्वजनिक यातायातका रुपमा विद्युतीय सवारी साधन चल्न सुरु भएको छ । काठमाडौँबाट उपत्यका बाहिरका जिल्लामा छोटो तथा लामो दूरीका गन्तव्यमा इलेक्ट्रिक माइक्रो बस चलिरहेका छन् । उपत्यका भित्र साझा यातायातले बिजुली बस चलाइरहेको छ ।

काठमाडौँबाट पूर्वतर्फ रामेछापको मन्थली र सिन्धुलीसहित विभिन्न जिल्लामा इलेक्ट्रिक गाडी चलिरहेका छन् । पश्चिम नेपालका विभिन्न शहरभित्र पनि विद्युतीय गाडी सार्वजनिक यातायातका रुपमा चल्ने क्रम बढिरहेको छ ।

तर, सञ्चालन खर्च निकै कम लाग्ने भएपनि विद्युतीय सवारीको भाडादर भने डिजेलबाट चल्ने गाडी सरह नै छ । विद्युतीय गाडी १ सय किलोमिटर गुडाउँदा चार्ज गराउँदा करिब १५० रुपैयाँ मात्रै खर्च हुन्छ । थोरै खर्च हुने भएपनि सार्वजनिक यातायातमा विद्युतीय गाडी चलाइरहेका कम्पनीहरुले इन्धनबाट चल्ने गाडी सरह नै भाडा लिँदै आएका छन् ।

उदाहरणका रुपमा काठमाडौँ–रामेछाप (मन्थली) रुटमा चल्ने विद्युतीय गाडीलाई हेरौँ । यो रुटको दूरी १३० किलोमिटर हो । अहिले बागमती प्रदेश सरकारले तोकेको भाडादर अनुसार काठमाडौँ–मन्थली रुटको भाडा ६ सय ६ रुपैयाँ छ । तर, गाडी व्यवसायीहरुले ७ सय रुपैयाँ लिँदै आएका छन् । सञ्चालन खर्च कम हुँदा विद्युतीय सवारीको भाडा यो भन्दा निकै सस्तो हुनुपर्ने हो । तर, यो रुटमा विद्युतीय गाडी चलाइरहेको पूर्व अरनिको यातायातले डिजेलबाट चल्ने गाडी सरह नै प्रतिव्यक्ति ७ सय रुपैयाँ नै लिँदै आएको छ ।

केही समय अगाडी हिमाल तराई यातायातले पनि काठमाडौँ–मन्थली–मालुखोलासम्म विद्युतीय गाडी चलायो । भाडा भने डिजेलबाट चल्ने गाडीको बराबर नै लियो । कम्पनीका एक जना बजार प्रतिनिधि सन्दीप थापाका अनुसार कम्पनीले फेरि यो रुटमा विद्युतीय गाडी चलाउने तयारी गरिरहेको छ ।

नेपालकै बिजुली खपत हुने, प्रदूषण नहुने, वातावरणमैत्री हुने र उपभोक्तालाई भाडा पनि सस्तो पर्ने भन्दै सरकारले विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न कर छुट दिएको छ । तर, उपभोक्ताले डिजेलबाट चल्ने गाडी सरह नै भाडा तिर्नुपरेपछि कुनै सहुलियत पाएका छैनन् ।

सरकारले नै तोकेको छैन छुट्टै भाडा

विद्युतीय सार्वजनिक सवारी साधनको प्रयोग बढिरहेको भएपनि संघीय र प्रादेशिक सरकारले विद्युतीय गाडीका लागि छुट्टै भाडादर तोकेका छैनन् । यातायात व्यवस्था विभागले विद्युतीय सार्वजनिक यातायातका लागि छुट्टै भाडादर नतोक्दा व्यवसायीहरुले डिजेल र पेट्रोल गाडी बराबर नै भाडा अशुल्ने काम गरिरहेका छन् । 

यस सम्बन्धमा यातायात व्यवस्था विभागले भने बाहिरबाट हेर्दा विद्युतीय सार्वजनिक सवारीमा बिजुली मात्रै खपत भएको देखिने र त्यसलाई हेरेर सस्तो भाडादरमा सेवा दिनुपर्ने भन्ने जस्तो देखिएपनि सुरुवाती लागत महँगो हुने भएकाले अहिले नै सस्तोमा सेवा देउ भनेर भाडा तोक्न नसकिएको बताएको छ । विभागका सूचना अधिकारी इश्वरी दत्त पनेरुले विद्युतीय गाडी किन्दा सुरुवाती लागत डिजेल गाडीको भन्दा दोब्बर पर्ने देखिएको बताए ।

सँगै, उनले अहिले जति पनि विद्युतीय सार्वजनिक सवारी साधनहरु चलिरहेका छन्, तिनीहरु लामो दूरीमा नभई प्रदेशभित्र मात्रै चलेकाले यसको भाडादर तोक्ने काम पनि प्रदेश सरकारको क्षेत्राधिकार भित्रको काम भएको बताए ।

‘हामीले लामो दूरीको भाडादर तोक्ने हो, अहिले जति पनि विद्युतीय सार्वजनिक सवारी साधन चलिरहेका छन्, ति कुनै प्रदेशभित्र मात्रै चलेका छन्’ पनेरुले भने, ‘यद्यपी, विद्युतीय सार्वजनिक यातायातको भाडादर के कसरी निर्धारण गर्ने भन्ने सम्बन्धमा छलफल गर्नुपर्ने बेला चाहिँ भएको हो । विगतमा नमूनाका रुपमा एकाध गाडीहरु चल्थे, तर अहिले डिजेलबाट चल्ने गाडीको संख्या बराबर नै हुन थालिसके । यसकारण छलफलको बेला चाहिँ भइसकेको हो ।’

डिजेल गाडीको भन्दा बढी भाडा तोकिनुपर्छः व्यवसायी

विद्युतीय माइक्रो बस चलाइरहेका व्यवसायीहरुले भने डिजेलबाट चल्ने गाडीको भन्दा विद्युतीय गाडीको भाडा बढी तोकिनुपर्ने बताएका छन् । पूर्व अरनिको याताता प्रा.ली.का अध्यक्ष केदार क्षेत्रीले बिजुली गाडी चार्ज गर्दा बिजुली खपतबापत तिरेको थोरै पैसा मात्रै हेरेर भाडा पनि थोरै हुनुपर्छ भन्ने कुरा जायज नभएको बताए ।

‘तेल हाल्नु पर्दैन, थोरै पैसामा चार्ज हुन्छ किन डिजेल गाडी बराबर नै भाडा, किन पेट्रोल गाडी बराबर नै भाडा भन्ने आम पब्लिकको प्रश्न छ, अपरेशन खर्च कम हुँदैमा भाडा पनि कम हुनुपर्छ भन्ने कुरा हुँदैन’ क्षेत्रीले भने, ‘डिजेल पेट्रोलबाट चल्ने गाडी १२/१३ लाखमा आउँछ, तर विद्युतीय गाडी साढे ४५ लाख पर्छ । एकै पटक धेरै लगानी गर्नुपर्छ, ब्याज र किस्ता पनि धेरै तिर्नुपर्छ । फेरि ५/६ वर्षमा ब्याट्री फेर्नुपर्दा एकैपटक ठूलो खर्च आउँछ । यसकारण हामी व्यवसायीको भनाई के छ भने विद्युतीय गाडीको भाडा डिजेल पेट्रोलबाट चल्ने गाडीको भन्दा बढी तोकिनुपर्छ, यो लक्जरीयस पनि छ ।’

उनले यदि सरकारले सुरुवाती लागत, ब्याज, किस्ता र केही वर्षमा ब्याट्री फेर्नुपर्दा लाग्ने खर्च नहेरी सञ्चालन खर्च मात्रै हेरेर डिजेल गाडीको तुलनामा विद्युतीय गाडीको भाडादर घटायो भने आफूहरुले विद्युतीय गाडी चलाउन नसक्ने बताए ।

‘यदि भाडा घटाउने काम हुन्छ भने विद्युतीय गाडी किन्ने कि नकिन्ने भनेर हामीले सोच्नुपर्ने हुन्छ’ अध्यक्ष क्षेत्रीले भने । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved