रुद्राक्ष खेतीबाट किसानलाई धनी बनाउन सकिन्छ, तर सरकारले महत्व नै बुझेन (भिडियो अन्तरवार्ता)

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 21, 2023 | 09:04:08 AM मा प्रकाशित

laxmi  sunrise bank

अहिले रुद्राक्ष निकासीको समय हो । भोजपूर, धनकुटा लगायत देशका ४० जिल्लामा फल्ने रुद्राक्षको निर्यातले नेपालले वार्षिक डेढ अर्बदेखि २ अर्ब आम्दानी गरिरहेको छ । विरुवा रोपेको ४ वर्षपछि फल दिने रुद्राक्षको खेतीमा किसानहरु आकर्षित भइरहेका पनि छन् । तर, यसको व्यवसायिक खेतीमा निकै हडल र नीतिगत समस्याहरु पनि उत्तिकै छन् । 

विदेशी मुद्रा आर्जनको प्रमुख माध्यमका रुपमा विकास भइरहेको रुद्राक्ष खेतीलाई सरकारी तहबाट जति प्रोत्साहन गरिनुपर्ने हो, त्यति हुन नसकेको यसको खेती र व्यवसायमा जोडिएका व्यक्तिहरुको गुनासो छ । रुद्राक्ष खेती गर्नेहरुलाई सरकारले किसान नै नमानेको र उनीहरुले आफूले तिरो तिरेको आफ्नो स्वामित्वको नीति जमिनमा रुद्राक्ष खेती गर्दा समेत वनसँग सम्बन्धित कानुनहरु परिपालना गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना गराइएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोजकुमार चापागाईंको भनाई छ । 

रोपेर हुर्काएपछि खास समय नदिँदा पनि हुने, अन्य खेतीपातीको जसरी चौबिसै घण्टा खट्नु नपर्ने, वर्षका एक पटक मल हाले पुग्ने भएकाले यसको खेती सहज छ । समुद्री सतहबाट ५ सयदेखि १ हजार उचाईसम्मको भू–भागमा यसको उत्पादन राम्रो हुन्छ । १ हजार मिटरभन्दा माथिको उचाईमा पनि यसको औसत उत्पादन हुन्छ । 

एउटै बोटबाट लाखौँ रुपैयाँ आर्जन गर्न सकिने भए पनि यसतर्फ आकर्षित भएका किसानहरुलाई सरकारले किसानले पाउने सुविधानबाट बन्चित गरिरहेको अध्यक्ष चापागाईंको गुनासो छ ।

‘रुद्राक्ष खेती गर्ने व्यक्तिलाई सरकारले किसान नै मान्दैन, कम्तीमा किसानको रुपमा वर्गीकृत गरिदिए उसले किसानले पाउने सुविधा पाउँथ्यो, यसका लागि हामीले १० वर्षदेखि भन्दै आए पनि सरकारले सुनेको छैन, सांसदहरुले पनि सुनेका छैनन्’ चापागाईंले गुनासो गर्दै भने, ‘वार्षिक डेढदेखि दुइ अर्ब विदेशी मुद्रा आर्जन गर्ने क्षेत्रलाई सधैँ उपेक्षा गरिएको छ ।’

अध्यक्ष चापागाईले उद्योग मन्त्रालय, कृषि मन्त्रालय, अर्थ मन्त्रालय, वन मन्त्रालय, यो पर्यटनसँग पनि जोडिएको हुनाले पर्यटन मन्त्रालय लगायत सरोकार राख्ने सबै मन्त्रालयमा पुगेर यसबारे कुरा राख्दा पनि कुनै वास्ता नगरिएको गुनासो गरेका छन् । 

‘किसानलाई धनी बनाउने, देशमा विदेशी मुद्राको आर्जन गर्ने यो सबैभन्दा सहज र सजिलो खेती हो, यसलाई प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक छ भनेर कार्यक्रमको खाकासहित जाँदा पनि भेटुन्जेल मन्त्री, सचिवहरु सकारात्मक नै देखिनुहुन्छ, तर हामी त्यहाँबाट बाहिर निस्किएपछि बिर्सनुहुन्छ’ अध्यक्ष चापागाईं थप्छन्, ‘६ महिना पछि त्यहीँ माग बोकेर पूरानो कुरा सम्झाउन जाँदा मन्त्रालयका कर्मचारी र मन्त्रीले सबै कुरा बिर्सिसकेका हुन्छन् ।’

भिडियो हेरौँः



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved