छाडा साँढे जस्ता अराजकले उद्योगी व्यवसायीमाथि आक्रमण गर्दा पनि सरकार चूप बस्यो (अन्तर्वार्ता)

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 26, 2024 | 07:46:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले अहिले संसदमा प्रमुख प्रतिपक्षी दलको भूमीकामा छ । सरकारको कार्यशैलीप्रति नेकपा एमालेले संसदमा होस् वा सडकमा नै किन नहोस्, आवाज उठाइरहेको छ । यद्यपी, एमालेले अपेक्षाकृत रुपमा संसदमा आवाज उठाउन नसकेको आरोप पनि खेपिरहेको छ ।

त्यसो त, वर्तमान सरकारले पनि एक वर्ष गुजारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले एक वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा खास उपलब्धि नभएको र आफू सच्चिएर बाँकी कार्यकाल सफल बनाउने उद्घोष गरेका छन् । नेकपा एमालेले पनि वर्तमान सरकारको एक वर्षे कार्यकाल उपलब्धि बिहिन र सत्ता कसरी टिकाउने भन्ने खेलमै ब्यतित भएको टिप्पणी गरेको छ ।

सँगै, अहिले निजी क्षेत्रले लगानीमैत्री वातावरण नभएको गुनासो गरिरहेको छ । लगानी नबढ्दा बैंकमा तरलता थुप्रिएको छ भने थप रोजगारी सिर्जना हुन सकिरहेको छैन । बेरोजगारी बढिरहेको छ, युवा पुस्ताको विदेश पलायन बढ्दो छ ।

साथै, नेकपा एमालेले अहिले २०८४ सालमा हुने निर्वाचत केन्द्रित ‘मिशन ०८४’ अभियान पनि चलाइरहेको छ । जनतामा एमालेको ‘मिशन ०८४’ अभियान के हो भन्ने जानकारी दिन नेताहरु अहिलेदेखि नै दौडधूपमा छन् ।

यहीँ बीचमा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ पनि सम्पन्न गरेको छ । खासमा यो यात्राबाट एमालेले मध्यपहाडमा समस्या के देख्यो र सम्भावना के देख्यो ? यी र यस्तै विषयमा केन्द्रित रहेर हामीले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेका छौँ ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

वर्तमान सरकारले एक वर्ष बिताएको छ, प्रधानमन्त्रीले आफ्नो सरकारको एक वर्षे उपलब्धि पनि सार्वजनिक गरिसक्नु भएको छ । नेकपा एमालेको नजरमा सरकारको वर्ष दिने कार्यकाल सफल कि असफल ?

प्रधानमन्त्रीले एक वर्षे उपलब्धि सार्वजनिक गरिसक्नुभएको छ भनेर भन्नुभयो नि, उहाँको एक वर्षे उपलब्धि सार्वजनिक गरिएको वक्तव्यमा केही पनि गर्न सकिएन, अब सच्चिन्छु, अब गर्छु भन्नुभएको छ । अथवा, केही हुन नसकेको, राम्रो काम हुन नसकेको, जनतामा उत्साह जगाउन नसकेको, निराशा बढेको, सुशासन दिन नसकिएको, विकासको बाटोमा देशलाई अगाडी लैजान नसकेको र कुनै राम्रो लक्षण देखिन नसकेको भनेर प्रधानमन्त्री ज्यूले आफैँले भन्नु भएपछि त्यसमा मैले थप ब्याख्या गरिराख्नु पर्ला जस्तो लाग्दैन ।

तस्बिर आफैँ बोल्छ भने जस्तो, प्रधानमन्त्री ज्यूको वर्षदिन पुगेको उपलक्ष्यको वक्तव्यको सार संक्षेप यहीँ हो । १८ पूराणमा ब्यासले दुइ वटा कुरा भने, परोपकार पुण्याय पापाय परपीडनम् भने जस्तै, प्रधानमन्त्रीको वक्तव्यमा अहिले गर्न सकिन, अब सच्चिएर गर्न कोशिस गर्छु भनेपछि मैले थप केही भनिरहनु प¥यो र ?

वर्तमान सरकारप्रति उद्योगी व्यवसायीहरु विश्वस्त हुन सकिरहेका छैनन् । लगानीमैत्री वातावरण बनेन भनेर सार्वजनिक मञ्चबाटै उद्योगी व्यवसायीले सरकारको आलोचना गरिरहे पनि सरकार भने लगानीमैत्री वातावरण छ भनेर लगानी सम्मेलनको तयारी गरिरहेको छ । उद्योगी व्यवसायी चाहिँ एमालेले केही गरिदिए हुन्थ्यो भनेर एमालेसँग आश गरिरहेका छन् । उद्योगी व्यवसायीलाई लगानीमैत्री वातावरण निर्माणका लागि नेकपा एमालेले चाहिँ कसरी सहयोग गरिरहेको छ ?

हामी त प्रतिपक्षमा बसेर बेठिक नगर्नुहोस्, नराम्रो नगर्नुहोस्, आन्तरिक र बाह्य लगानीमैत्री वातावरण बनाउनुस्, उद्यमी व्यवसायीलाई अनुकुल वातावरण दिनुस् भनेर सरकारलाई भनिरहेका छौँ । यसो भयो भने उद्योगहरुको स्थापना बढ्छ, रोजगारी बढ्छ भनेर भनिराखेकै छौँ, सरकारलाई सुझाव दिइराखेका छौँ ।

अर्को कुरा, हामीले ८ वटा ठूला औद्योगिक क्षेत्रहरु तयार गरेका छौँ । ति औद्योगिक क्षेत्रमा उद्योगहरुको स्थापनाका लागि कसरी आन्तरिक र बाह्य लगानी आकर्षित गर्ने या त्यसलाई परिचालन गर्ने, कति सरकारले लगानी गर्नुपर्ला, कति सरकार र निजी क्षेत्र मिलेर गर्नुपर्ला, कति निजी क्षेत्रलाई मात्रै भन्नुपर्ला, कति आन्तरिक गर्नुपर्ला, कति बाह्य ल्याउनुपर्ला, यसको वतावरण सरकारले बनाउनुप¥यो । तत् सम्बन्धमा लगानी सम्बन्धि नीति, उद्योग सम्बन्धि नीति, कर सम्बन्धि नीति जोडिएका छन् । 

अर्को, उद्योगी व्यवसायीसँग एक्सटर्सन छोड्नुप¥यो । पैसा अशुल गर्ने कुरा जुन छ, कमिशन माग्ने कुरा जुन छ, कमिशन खाने कुरा जुन छ, यो छोड्नुप¥यो । अर्को, लैनो गाईले पनि दिनभरी, रातभरी दूध दोहेको दोह्यै गर्दा कसरी दूध दिन्छ र ? त्यसलाई बिहान एक पटक दोहेपछि साँझका लागि छोड्नुप¥यो नि । यो नगरेर दोहेको दोह्यै गरेर हुन्छ र ? अनि उद्यमी व्यवसायीले सधैँभरी लैनो गाईले समेत दूध दिन नसक्ने जस्तो गरि दोहेको दोह्यै गरेपछि कसरी टिक्छन् ति ? यसकारण उद्यमी व्यवसायीलाई भय र त्रासको वातावरण, असहज अवस्था हुनु भएन । हरेक तिरबाट चेप्ने र बैंकहरु पनि सहयोगी नहुने अवस्थालाई सबैतिरबाट अनुकुलमा परिणत गर्नुप¥यो नि । हामीले गर्ने कुरा त गरेकै छौँ । हामीले ८ वटा ठूला औद्योगिक क्षेत्र स्थापना गरेको त्यत्तिकै होइन ।

कृषिलाई नै प्रमुख माध्यम बनाएर पनि दुनियाँका धेरै देशले प्रगति गरेका छन् । कृषिबाट केही पनि हुँदैन भन्ने होइन । आज न्यूजिल्याण्डलाई हेर्ने हो भने उसको मुख्य उत्पादन नै कृषि हो र कृषिको निर्यात हो । दोस्रो पर्यटन होला । यसकारण कृषिको असाधारण महत्व छ । यसको उदाहरणका रुपमा न्यूजिल्याण्ड हाम्रोसामू छ । चकलेट पनि बनाएर पठाउँछ, दुनियाँभरी डेरी उत्पादन उसैले पठाउँछ । सबैभन्दा धेरै दूध गाईले कहाँ दिन्छ भन्दा, न्यूजिल्याण्डमा दिन्छ, सबैभन्दा राम्रा फल कहाँ फल्छन् भन्दा उनीहरुकामै फल्छ । विभिन्न फलफूलको निर्यातबाटै असाधारण आम्दानी गरेको छ । उत्पादन, उत्पादकत्व वृद्धिका लागि प्रविधिको प्रयोग गरेका छन् ।

यसरी हरेक क्षेत्रमा गर्न सकिन्छ । तर, सरकारको संकल्प हुनुप¥यो । यति राम्रो देश छ । आज इजरायल हेर्ने हो भने, एक ढङ्गको मरुभूमीको देश हो, जहाँ समुन्द्र सतहभन्दा ४५० मिटर गहिरो मृत सागर छ । त्यसलाई उसले पर्यटकीय थलो बनाएको छ । त्यहाँको नुन उसले महँगोमा बेचेको छ । समुन्द्र सतहभन्दा मुनिको जमिन भएकाले त्यहाँको हिलो पनि जम्मा गरेर नुनिलो हिलो भनेर बेच्छ । यसले हात खुट्टामा मसाज गर्दा राम्रो हुन्छ, छाला राम्रो हुन्छ भन्ने हिसाबले हिलो पनि बिक्रि गरिरहेको छ ।

आज यो मरुभूमीको देश कृषिको निर्यातकर्ता बनेको छ । थोपा सिँचाई भन्ने पद्धतिको विकास गरेको छ, बिना सिँचाई फलाउने भन्ने प्रविधिको विकास गरेको छ, जमिन बिना नै फलाउने प्रविधिको विकास गरेको छ र असाधारण कृषि उपजको निकासी गरेको छ । विश्वकै कृषिका लागि इजरायल गुरु मानिन्छ ।

यसो भएर गर्न खोज्यो भने हुन्छ । आज प्रविधिको समय हो । त्यसमा पनि हाम्रो देश त जीवनमय छ । यस्तो जीवनमय देशमा जेसुकै पनि गर्न सकिन्छ । र, उद्यम व्यवसायका झन बढी सम्भावना छन् । 

अर्को कुरा, सरकारले बैशाखमा लगानी सम्मेलन गर्ने भनेर जुन कुरा भनिरहेको छ, सरकारले लगानीमैत्री वातावरण बनाउँदै नबनाई कसले यहाँ आएर के प्रतिवद्धता गर्लान् भन्ने देखिन्छ । यसका लागि त तयारी गर्नुप¥यो नि सरकारले । 

अहिले उद्योगी व्यवसायी निराश हुँदा पूँजी पलायन भएर देश नै समस्यामा पर्ने हो कि भन्ने जोखिम पनि उत्तिकै बढेको छ  । निराश भएर बसेको निजी क्षेत्रलाई पूर्वप्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा के सन्देश दिन चाहनुहुन्छ ?

निजी क्षेत्र निराश किन छ भने, जातीय आधारमा इस्यू बनाइन्छ, फलानो जातले खायो, फलानो जातले यसो ग¥यो, तिनीहरुले यसो गरे, उस्तो गरे । जात विशेषमा कोही अगाडी बढेको हुन सक्छ, कोही पछाडी पनि हुन सक्छ । जात विशेषका केही पेशागत विशेषता पनि हुन्छन् । माझी समुदाय भन्दा एक खालको पेशा व्यवसाय बुझिन्छ, अर्को जात भन्दा अर्को खालको पेशा व्यवसाय बुझिन्छ । त्यस्तै गरेर, मारवाडी समुदाय भन्नाले अधिकांश उद्यम व्यवसायमा संलग्न समुदाय भन्ने बुझिन्छ । 

तर, जातीय आधारमा इस्यू बनाइनु भएन । उनीहरुका कामका आधारमा हुनुप¥यो । उनीहरुले बेठिक गरेका छन् भने कानुनले समानुप¥यो । उनीहरुले कर तिरेका छैनन् भने कर तिराउनुप¥यो । तर, बजारमा निश्चित समुदाय र उद्योगी व्यवसायी लक्षित गरेर यीनिहरुले कर तिरेका छैनन् भनेर, मान्छे उकासेर, पशुपतिमा डामेर छाडेको साढे जस्तो गरि छाडा भएर, जथाभावी बोल्दै हिडेर, हिड्न दिएर, साम्प्रदायक विद्धेष भड्काएपछि अनि पूँजी पलायन हुँदैन ? कति पुस्ता अगाडी मान्छे आयो, अनि उसलाई नेपाली नै होइन भनेर हुन्छ ? अमेरिकामा गएर हाम्रा मान्छेहरु उम्मेदवार हुँदैछन् । बेलायतका प्रधानमन्त्री ऋषी सुनक कुन मूलका हुन् ? अमेरिकाका उपराष्ट्रपति कुन ओरिजनका हुन् ? यस्तो हुँदो रहेछ त । यसकारण अहिले आएर जातका कुरा गर्ने, को कहाँबाट आयो भनेर उद्गम खोज्ने जस्ता कुरा होइन । जो नेपाली नागरिक छन्, उनीहरुलाई नियम कानुन बराबर लाग्छ । बराबर नियम कानुन अनुसार सबैलाई संरक्षण दिनुपर्छ, उत्साहित गर्नुपर्छ । र, उनीहरुले बेठिक गरेका छन् भने बेठिक गर्नबाट रोक्नुपर्छ । अपराध गरेका छन् भने सजाय गर्नुपर्छ । 

तर, जातीय नारा लगाउँदै, साम्प्रदायिक विद्धेष भड्काउँदै हिडेर, जो विरुद्द अफवाह फैलाइएको छ, उसलाई प्रोटेक्शन नदिएपछि पूँजी पलायनको जोखिम नबढेर के हुन्छ त ? अनधिकृत ढङ्गले कसैले नाम लिस्ट नै प्रकाशित गरेर हिड्छ फलाना फलाना कारबाहीको सूचीमा भनेर । सरकार चुप लागेर बसेको छ । कारबाही गर्ने त सरकारले होला नि ? कारबाही गर्ने त कानुनले होला नि ? दुइ चार धधङ्गा सडकमा निस्किएर कारबाही गर्ने होइन होला नि ? यस्ता धधङ्गाले सूचना, नोटिस, नाम, नामावली प्रकाशित गरेर यी यी मान्छे कारबाही गरिनेछन् भनेर अराजकता मच्चाउँदा पनि सरकार चूप लागेर बसेको छ । यस्तो अराजकताले प्रश्रय पाइरहेको बेलामा लगानीको वतावरण कहाँबाट हुन्छ ? उद्योग सञ्चालन कसरी हुन्छ ? मान्छेले चलाइरहेको उद्योग चलाउन छोड्छ, बेच्न थाल्छ । यो स्थितितर्फ देश जाँदैछ । यसकारण परिस्थिति गम्भीर छ । तर, यो देशमा नेकपा एमाले छ, उद्योगी व्यवसायीहरुका पीडामा, मर्कामा नेकपा एमाले साथमा छ ।

नेकपा एमालेले हालै भनेर मध्यपहाडी पुष्पलाल राजमार्ग केन्द्रित ‘झुलाघाट चिवाभन्ज्याङ ‘समृद्धिका लागि संकल्प यात्रा’ सम्पन्न गरेको छ । यो यात्रामा केवल पार्टीका नेता कार्यकर्ता मात्रै नभई जनताको पनि साथ समर्थन एमालेले प्राप्त गरेको देखियो, नागरिक स्तरबाट समेत यो यात्राको प्रशंसा भयो । यो यात्राबाट नेकपा एमालेले राष्ट्रिय रुपमा कस्तो बहस सिर्जना गर्दैछ ?

मुख्य कुरा हामीले जनतासँगको प्रत्यक्ष भेटघाट, प्रत्यक्ष संवादका लागि यो देशमा निराश हुनुपर्ने कारण छैन, यो देश भौगोलिक हिसाबले, प्राकृतिक हिसाबले अथवा जनसांख्यिक हिसाबले अत्यन्त सम्भावना भएको देश हो भन्ने सन्देश दिनका लागि हामीले यो यात्रा गरेका हौँ । हामी प्रविधिको प्रयोग पनि यसै अनुसार गर्न सक्छौँ, उत्पादनका लागि विकासका लागि । मैले जनसांख्यिक वा जनशक्तिका हिसाबले पनि सम्भावना छ भन्नुको अर्थ, अहिले नेपाल जेष्ठ नागरिकको देश भयो भन्नुपर्ने अवस्थामा पुगेको छैन । हाम्रो कुल जनसंख्याको ४० प्रतिशत युवाहरु अझै पनि देशमै छन् । यो जनसांख्यिक लाभ हामीसँग छ । यस्तो सुन्दर र उर्वर प्रकृति छ । यस्तो खानिजमय र जलमय उर्वर जमिन छ । यस्तो मेहनति जनशक्ति पनि छ । मलेशिया बनाउने, दुबई बनाउने, कतार बनाउने, साउदी अ‍ेरिबया बनाउने बहराइन बनाइदिने, यमन बनाइदिने, ओमान बनाइदिने नेपालीहरु नै हुन् । भारतमै गएर पनि बनाइदिएका छन् । यस्ता नेपालीहरु आफ्नै देशमा बस्ने वातावरण बनाउने हो भने असम्भवन छैन ।

अर्को कुरा, एउटा फ्रष्टेशन, मान्छेहरुमा असुरक्षाको भावना, निराशाको भावना, असन्तुष्टिको भावना जुन छ, त्यसलाई सम्बोधन गरेर यहीँ रोक्ने हो भने यहीँ जीविका र प्रगति सम्भव छ । जीविका मात्रै भएर हुँदैन, जीविका र प्रगति यहीँ देशमा सम्भव छ भन्ने विश्वास दिन सकियो भने वा यस देशमै सुन्दर भविष्य छ भन्ने कुरा बताउन सकियो भने यो देशको विकास हुन नसक्ने भन्ने कुरै छैन ।

यसकारण यो खालको आशा र भरोसा नेपाली जनतामा जगाउनका लागि हामीले मध्यपहाडी क्षेत्रको यात्रा ग¥यौँ । खासगरि बसाईसराईको हिसाबले पनि पहाड रित्तिन लागेका छन्, विदेश जाने क्रमले पनि पहाड रित्तिन लागेका छन् । कारण हामीले मध्यपहाडी क्षेत्र, जहाँबाट नदीहरु बगेर आएका छन्, जसले तराईको पनि तलतिर झरेर उपयोग गर्न सक्छ र माथि उक्लिएर हिमालको पनि उपभोग गर्न सक्छ, त्यस्ता ठाउँबाट पश्चिमदेखि पूर्वसम्मको झुलाघाटदेखि चिवाभन्ज्याङ सम्मको समृद्धिका लागि संकल्प यात्राबाट नै स्पष्ट हुन्छ कि नेकपा एमाले निराश छैन । नेकपा एमाले समृद्धि ल्याउन सकिन्छ भन्ने विश्वासका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा बोकेर अगाडी बढेको छ । यसकारण, यो उदेश्यमा पुगिछाड्छौँ, त्यो गन्तव्यमा पुगिछाड्छौँ भन्ने संकल्पका लागि पनि यो यात्रा हो । जनतालाई बुझाउन, जनतासँग संवाद गर्न, जनताका सुझावहरु सुन्न, जनताका समस्याहरु सुन्नु हाम्रो उदेश्य थियो । 

जनताको जुन उत्साहका साथ, सबै वर्ग,  सबै तहतप्का, सबै पार्टी, सबै समुदाय, सबै विचार र सबै पक्षका मानिसहरुबाट हामीले जुन उत्साहपूर्ण साथ, सहयोग र समर्थन पायौँ, यसले हाम्रो पार्टीको आफ्नै पनि आत्मविश्वास बढेको छ । देश बनाउन जनता साथ दिन तयार छन्, बाटो देखाउने पार्टीको आवश्यकता छ, बाटो देखाउने नेतृत्वको आवश्यकता छ । यहीँ कुरामा हामी छौँ है भन्ने संकल्प ब्यापक गर्न र यो संकल्पलाई साझा राष्ट्रिय संकल्पका रुपमा विकास गर्नका लागि पनि हाम्रो यात्रा भएको हो ।

केही समय अगाडी एमालेले ‘मिशन ग्रास रुट’ अभियान चलायो । लगत्तै झुलाघाट चिवाभन्ज्याङ संकल्प यात्रा ग¥यो । आगामी दिनमा कुनै यस्तै यात्रा वा अभियानको तयारी छ कि छैन ?

यस्ता अभियानहरु हामीले समय समयमा गर्छौँ । यस्ता अभियान भनेको आवश्यकता अनुसार हुन्छन् । कतिबेर के आवश्यक हुन्छ, त्यस अनुसार हुन्छ । अहिले त हामी, अहिले देश जुन अवस्थामा छ, यस अवस्थाबाट अगाडी जान सक्दैन, चल्न सक्दैन भन्ने निष्कर्षमा छौँ । यो कुरा जनतामा लिएर जाँदैछौँ ।

नेकपा एमालेले अहिले ‘मिशन ०८४’ भनेर २०८४ सालमा हुने निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेको छ । मिशन ०८४ को अन्तर्य र लक्ष्य प्रष्ट्याइदिनुहोस् न ।

पहिलो कुरा के हो भने देश बलियो हुनुपर्दछ । देश बलियो बनाउन जनता सचेत हुनुपर्दछ । जनताले आफ्नो सचेततालाई संगठित रुप दिनु पर्दछ । सही विचारमा, सचेततामा जनता पनि संगठित हुनुपर्दछ । र, देशको पक्षमा उभिने र लड्ने गरि निर्णायक तहमा राष्ट्रिय शक्तिको रुपमा जनता विकास हुनुपर्छ । यसकारण हामीले मिशन ०८४ भनेको राष्ट्रिय शक्तिलाई, जो नेकपा एमाले राष्ट्रिय शक्ति हुँदै हो, यसलाई निर्णायक तहमा पु¥याउने । त्यसो भइसके पनि स्वभाविक रुपमा एमालेले कति ल्याउँछ, के ल्याउँछ त्यो अहिले नभनौँ, तर शानदार बहुमत ल्याउँछ, यो कसैले रोक्न सक्दैन । हो यसकै निम्ति नेकपा एमाले मिशन ०८४ भनेर लागि परेको छ ।

कतिपयले २०८४ सालको चुनाव आउनु कहाँ हो कहाँ छ, अहिलेदेखि नै मिशन ०८४ किन पनि भन्छन् । नेकपा एमालेले मिशन ०८४ भनेर चुनाव मात्रै भनेको होइन । त्यो त एउटा मोड हो । त्यसभन्दा पछि पनि राष्ट्रिय शक्ति कमजोर भएर रहन सक्दैन । यस देशमा राष्ट्रिय शक्ति सबल रहँदै आएको हो । अंग्रेजहरुलाई पराजित गरेर, युद्धबाट पराजित गरेर स्वाधिन रहेको देश हो यो । राष्ट्रियताका लागि त्यसरी लड्ने स्वाभिमानी नेपाली आज अकारण, बिनासित्तीमा निरिह जस्तो हुनु परेको छ । निरिह हुनुपर्ने कुनै कारण छैन । त्यसकारण आफ्नो देश बनाउनका निम्ति स्वतन्त्र ढङ्गले राष्ट्रिय अर्थतन्त्रलाई विकास गर्दै अगाडी बढ्नका लागि राष्ट्रिय शक्ति निर्णायक तहमा विकास हुनुपर्दछ । यो मुख्य विषय हो । चुनाव त सेकेण्डरी कुरा हो । चुनाव आवधिक कुरा हो, तर राष्ट्रिय शक्तिको निर्णायक तहमा विकास भनेको आवधिक कुरा मात्रै होइन, यो रणनीतिक कुरा हो ।

नेकपा एमालेले मिशन ०८४ अभियान चलाउँदै गर्दा २०८४ सालको निर्वाचनसम्म वाम गठबन्धन हुन्छ वा गर्नुपर्छ भन्ने आवाज पनि सुनिन थालेको छ । माओवादी केन्द्रका नेताहरु नै वाम गठबन्धनको पक्षमा वकालत गर्न थालिसक्नु भएको छ । नेकपा एमाले चाहिँ वाम गठबन्धनको पक्षमा छ कि छैन ?

यस्तो कुरामा अल्झिनु हुँदैन । मैले अघि नै भने, राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्नुपर्छ । अब वाम कसलाई भन्ने, कसलाई नभन्ने ? वामपन्थीको खोल ओढेका छन्, वामपन्थी आन्दोलनलाई नै कमजोर पारेका छन् । यस्तालाई माछाको वाम भन्ने कि विचारको वाम ? यसकारण वाम एकता वा गठबन्धन भन्ने कुरा गर्नु जरुरी छैन ।

अन्तिममा, नेकपा एमाले सरकार ढाल्ने खेलमा लागिरहेको छ भनेर आरोप लगाउनेहरु पनि छन् । एमालेको प्राथमिकता सरकार फेरबदल हो कि होइन ?

हुँदै होइन । तर, यो अहिलेको गठबन्धन त खरानीको डल्लो जस्तो हो । यसलाई पानी छम्किए पनि फुट्छ, सुख्खा राखे पनि फुट्छ । पहिला डल्लो पर्दा पानी हालेर चिसो बनाएर डल्लो बनाउँदा मात्रै रहने हो, पछि चिसै राखेर डल्लो कायमै राख्छु भने पनि फुटिहाल्छ, पानी नहाल्दा पनि सुख्खा भएर फुटिहाल्छ । यसकारण यसलाई फुटाउन हामी लाग्नै पर्दैन, हामी लागेका पनि छैनौँ र लाग्दैनौँ ।

तर, यदि पानी हालेर कसैले फुटाइदियो भने हामी देशलाई अफ्ट्यारो परेका बेला एमाले यस देशमा छ । देशमा अफ्ट्यारो प¥यो की, यदा यदा ही भने जस्तो जब जब अफ्ट्यारो पर्छ, तदत् थानम् । देशलाई असजिलो भएका बेला देशलाई उठाउनका लागि देशको रक्षा गर्नका लागि हामी छौँ । 

तर, यो गठबन्धन नामको खरानीको डल्लोसँग हामीलाई के मतलब भयो र ?

 हेर्नुस् देशको आर्थिक, राजनीतिक, समसामयिक तथा अन्य विविध विषयमा केपी ओलीसँगको भिडियो अन्तर्वार्ता :



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved