कसको प्रस्तावमा स्थगित भयो भ्रमण वर्ष ? के हुन्छ बजेट र कर्मचारी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 02, 2020 | 04:06:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मनाइरहेको ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगित गरेको छ । आइतबार साँझ आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले चीनबाट फैलिएको कोरोना भाइरसका कारण २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मनाईरहेको भ्रमण वर्ष स्थगित गर्‍यो ।

सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरिएको २ महिना पूरा भएकै भोलिपल्ट स्थगितको निर्णय भयो । यो २ महिनामा १ लाख ५८ हजार ३३७
विदेशी पर्यटक नेपाल भित्रिए ।

भ्रमण वर्ष कसरी स्थगित ?

पर्यटन मन्त्रालयले फागुन १७ गते नै विदेशमा हुने भ्रमण वर्षको प्रचार रोक्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष नै स्थगित गरेको हो । पर्यटनविद्हरु भने आइतबारको मन्त्रिपरिषद्ले भ्रमण वर्ष स्थगित गर्छ भन्ने थाहा पाएर अघिल्लो दिन नै पर्यटनमन्त्री योगेश भट्टराईले विदेशमा हुने भ्रमण वर्षको प्रचार रोक्ने र सम्पूर्ण रुपमले स्वदेश केन्द्रित प्रचारमा होमिने भाषण गरेको दाबी गर्छन् ।

तर पर्यटन मन्त्रालयले भने उक्त प्रस्ताव मन्त्रालयले पठाएको नभई प्रधानमन्त्रीकै प्रस्तावमा निर्णय भएको बताएको छ । ‘मन्त्रालयबाट गएको प्रस्तावमा निर्णय भएको होईन’ पर्यटन मन्त्रालयका प्रवक्तासमेत रहेका सह–सचिव रुद्रसिंह तामाङले भने, ‘मन्त्रिपरिषद्मा नै छलफलका क्रममा प्रधानमन्त्रीले नै प्रस्ताव गर्नुभएको र निर्णय भएको भन्ने जानकारी आएको छ ।’

भ्रमण वर्षको सचिवालयले ६१ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने गरी विभिन्न कार्यक्रमहरुको तर्जुमा गरेको छ ।

बजेट के हुन्छ ?

सरकारले भ्रमण वर्ष २०२० को प्रचार गर्न भन्दै छुट्टै सचिवालय नै बनाएको थियो । सरकारले भ्रमण वर्षको छुट्टै सचिवालय बनाएर २०७५ सालको कार्तिक १६ गते नै व्यवसायी सुरज वैद्यलाई राष्ट्रिय संयोजकमा नियुक्ति गरेको थियो ।

गतवर्षको फागुन २८ गते नै सरकारले संयोजकलाई एक पटकमा २० लाखसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो । मन्त्रिपरिषद्को त्यतिबेलाको बैठकले ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यविधि पारित गर्दै राष्ट्रिय संयोजकलाई एक पटकमा २० लाख खर्च गर्ने अधिकार दिईएको थियो ।

गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको गरी जम्मा २५ करोड बजेट सचिवालयले पाएको छ । कति खर्च भयो र कति बाँकी छ भन्ने जानकारी सचिवालयले सार्वजनिक गरेको छैन । भ्रमण वर्षको उद्घाटनमा मात्रै २ करोड सकिएको सचिवालय दाबी गर्छ ।

‘स्थगित गर्ने निर्णय भयो भन्ने जानकारी आएको छ, औपचारिक पत्र आएको छैन, पत्र आएपछि मात्रै बाँकी बजेट के गर्ने भन्ने जानकारी हुन्छ’ प्रवक्ता तामाङले भने । बाँकी बजेटबारे पनि सचिवालयसँग जानकारी मागिने उनको भनाई छ ।

सचिवालयका कर्मचारीलाई के गरिन्छ ?

वैद्यलाई राष्ट्रिय संयोजक बनाएको करिब १३ महिनापछि सदस्य सचिवको रुपमा पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठलाई ल्याईएको छ । संयोजक र सदस्यसचिव बाहेक सचिवालयमा अस्थायी नियुक्तिका कर्मचारी पनि धेरै छन् ।

हाल भ्रमण वर्षको ७ वटै प्रदेशमा प्रदेशस्तरीय समिति छ । प्रदेशका सरकारले बजेट पनि विनियोजन गरेका छन् । कार्यक्रम नै स्थगित भएपछि सचिवालयका कर्मचारी र बजेट के हुन्छ भन्नेबारे जिज्ञासा छ । यसबारे पर्यटन मन्त्रालयले भने मन्त्रिपरिषद्को निर्णय आएपछि मात्रै भन्न सकिने जवाफ दिएको छ ।

मन्त्रालयका प्रवक्ता तामाङका अनुसार निर्णयको औपचारिक पत्र मन्त्रालयमा आएपछि मन्त्रालयमा त्यसबारे छलफल हुने र प्रशासनिक काम सुरु हुनेछ । ‘पत्रमा कर्मचारीलाई बिदा गर्ने भनिएको रहेछ भने हामी उहाँहरुको बिदाई गर्छौँ’ प्रवक्ता तामाङ भन्छन्, ‘हामीले प्रस्ताव गरेको भए सबै कुरा समावेश हुन्थ्यो र भन्न सकिन्थ्यो, माथिकै प्रस्तावमा माथिकै निर्णय भएकाले अनुमानको भरमा भन्न सकिँदैन ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved