संसदीय समितिको बैठकमा ३ मिनेट ढिलो पुग्ने मन्त्रीको राजिनामा माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2019 | 11:53:59 AM मा प्रकाशित

laxmi  sunrise bank

योशीताका साकुरादा जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री हुन्। बिहीवार उनी निर्धारित संसदीय बैठकमा ३ मिनेट ढिलो पुगे। विपक्षी सांसदहरूले उनको ढिलाईले उनको कार्यालयप्रतिको अपमान दर्शाएको भन्दै बजेट समितिको बैठक नै विरोधस्वरूप पाँच घण्टासम्म बहिष्कार गरिदिए। श्रृङ्खलाबद्ध गल्ती गरेको भन्दै साकरादाको उनीहरूले चर्को आलोचना गरेका छन्। 

गत साता साकुरादाले ओलिम्पिक्समा पौडीमा पदक जित्ने आश गरिएकी जापानी खेलाडी रिकाको इकिलाई ल्युकेमिया रोग लागेको पत्ता लागेपछि आफू निराश भएको जनाएका थिए। "सन् २०२० को टोकियो गेम्समा उनले स्वर्णपदक ल्याउने सम्भावना थियो। उनीप्रति हाम्रो ठूलो आशा थियो। म निराश भएको छु," उनले भनेका थिए। लगत्तै उनको सो टिप्पणीको आलोचना भयो र उनले क्षमा मागे। 

सन् २०१६ मा पनि उनले दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका कम्फर्ट विमेन भनिने महिलाहरूलाई व्यावसायिक वेश्याको संज्ञा दिएपछि आलोचित बनेका थिए।  अनि गत वर्ष साइबर सुरक्षा मामिलाको समेत जिम्मेवारी सम्हालेका साकुरादाले आफूले कहिल्यै कम्प्युटर नचलाएको र सधैँ कर्मचारीको सहयोग लिने गरेको बताएका थिए। विपक्षीहरूले बारम्बार उनको राजीनामा माग गरेका छन्।

जापानमा बैठकहरूमा केही ढिलो पुग्नुलाई भयङ्कर गल्ती नै त मानिँदैन तर यो पछिल्लो घटना भने चर्चित बन्यो। बारम्बार गल्तीहरू दोहोर्‍याइरहेको भन्दै विपक्षी सांसदहरूले यो विषयलाई चर्को गरि उठाए। के साकुरादा मन्त्री बनिरहन योग्य छन् भनी गरिएको एक मत सर्वेक्षणमा सहभागीमध्ये ६५ प्रतिशतले छैनन् भने। आसाही सिम्बुन पत्रिकाले यो साता निकालेको आँकडामा केवल १३ प्रतिशतले उनी योग्य छन् भनेको देखायो। साकुरादालाई वर्तमान पदमा गत वर्ष अक्टोबरमा नियुक्त गरिएको हो। उनको जिम्मेवारीमा सन् २०२० मा हुने ओलिम्पिक्स प्रतियोगिताको साइबर सुरक्षाको निगरानी गर्नु पनि पर्छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved