श्रीलङ्का विस्फोट: मृतकको सङ्ख्या घटाईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 09:14:40 AM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलङ्का सरकारले गत आइतवार चर्च र होटलहरूमा भएका आत्मघाती बम विस्फोटनमा मारिनेहरूको संख्या निक्कै घटाएको छ। मृतकहरूको गणनामा गल्ती भएको भन्दै स्वास्थ्य मन्त्रालयले उक्त घटनामा परि दुई सय ५३ जनाले मात्र ज्यान गुमाएको जनाएको हो। पछिल्लो सङ्ख्या पहिले भनिएको मृतकहरूको संख्याको तुलनामा करिब एक सयले कम हो।

एकजना अधिकारीले मानव शरीरका धेरै अवशेषहरूले गर्दा मृतकको संख्या गणनामा कमजोरी हुन गएको बताएका छन्। गत आइतवार राजधानी कोलम्बो र पूर्वी क्षेत्रको एउटा शहरमा रहेका चर्चहरू र होटलहरूमा आक्रमण हुँदा ती मानिसहरू मारिएका थिए।मारिनेमध्ये धेरै श्रीलङ्काली नागरिकहरू छन् भने केही विदेशीहरू पनि छन्।उक्त घटनामा सयौँ मानिसहरू घाइते भएको अधिकारीहरूले जनाएका छन्। 

नौ जना व्यक्तिहरूले ती हमलाहरू गरेको शङ्का गरिएको छ। प्रहरीले आक्रमणकारीहरूसँग निकट रहेकाहरूको खोजी जारी राखेको छ। आक्रमणकारीसँग सम्पर्कमा रहेका सात जना खोजी भइरहेका व्यक्तिहरूको तस्बिर पनि प्रहरीले सार्वजनिक गरेको छ। अधिकारीहरूले श्रीलङ्काको एउटा अतिवादी इस्लामिक समूहलाई उक्त घटनाका लागि दोष दिइरहेको छ। इस्लामिक स्टेटले उक्त घटनामा आफ्नो हात रहेको बताए पनि हालसम्म त्यसको पुष्टी हुने प्रर्याप्त प्रमाणहरू भेटिएका छैनन्।

उक्त घटनापछि श्रीलङ्काका अल्पसंख्यक मुस्लिमहरूमा उत्पीडन भोग्नुपर्ने डर पैदा भएको खबरहरू आएका छन्।  श्रीलङ्काका कट्टरपन्थी मुस्लिहरूले धर्म विरोधी ठान्ने गरेको अहमदी सम्प्रदायका सयौँ मानिसहरूलाई प्रहरीको सुरक्षामा मस्जिदहरूमा राखिएको छ।

प्रधानमन्त्री रनिल बिक्रमसिङ्घले पनि केही अहमदी मुस्लिमहरूलाई आक्रमणको निशाना बनाइएको पुष्टि गरेका छन्। उनले सरकारले अल्पसङ्ख्यकहरूको सुरक्षा गर्ने प्रतिबद्धता जनाएका छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved