राष्ट्रसंघका महासचिव गुटेरेसलाई राजकीय सुरक्षा, १४ गते संसद्लाई सम्बोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2023 | 12:11:55 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण राजकीय सुरक्षा सहित हुने भएको छ। महासचिव गुटेरेसको भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेकाले उनको नेपाल भ्रमण राजकीय सुरक्षा सहित हुने भएको हो। 

महासचिव गुटेरेसको भ्रमणमा भिभिआइपीको सुरक्षामा अपनाइने उच्चतम विधि अपनाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले बिजपाटीलाई बताए। उनकाअनुसार यसै विषयलाई लिएर काठमाडौं जिल्ला प्रशासनले शुक्रबार सुरक्षा समितिको बैठक राखेको हो।

शुक्रबार बसेको जिल्ला सुरक्षा समिति काठमाण्डौको बैठकले महासचिव गुटेरेसको नेपाल भ्रमणका लागि प्रस्तुत सुरक्षा योजनामाथि छलफल गर्दै अहिलेदेखि नै उच्च सतर्कता अपनाउने निर्णय भएको हो।

बैठकमा नेपाली सेना, जिल्ला प्रहरी परिसर काठमाडौं, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी थिए।बैठकले केन्द्रीय सुरक्षा समितिलाई पनि काठमाडौंको सुरक्षा अवस्थाबारे जानकारी गराएको छ। महासचिव गुटेरेस नेपालको चारदिने भ्रमणका लागि कात्तिक १२ (अक्टोबर २९) मा नेपाल आउने तय भएको छ। 

यसअघि महासचिव गुटेरेसले अक्टुबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। तर अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उत्पन्न परिस्थितिले भ्रमण स्थगित गरिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन न्युयोर्क गएका बेला महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्ता दिएका थिए।महासचिव गुटेरेसले नेपाल बसाइका क्रममा कालापत्थर, अन्नपूर्ण सर्किट, जलवायु परिवर्तनले प्रभावित नेपालका केहि स्थान लगायत क्षेत्रको भ्रमण गर्ने कार्यतालिका तय भएको छ। 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले महासचिव गुटेरेसको भ्रमण कार्यक्रम स्वीकृत गरेको हो। बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महासचिव गुटेरेसको भ्रमण कार्यक्रम स्वीकृत भएको जानकारी दिएकी थिइन्।

१४ गते संसद्लाई सम्बोधन

महासचिव एन्टोनियो गुटेरेसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। सरकारले शुक्रबार संसद् सचिवालयलाई पत्र पठाएर गुटेरेसको सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन भनेको छ। त्यस दिन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बोलाइने छ।

संसद् सचिवालयले गुटेरेसको सम्बोधनमा उपस्थित हुन नेपालस्थित विभिन्न मुलुकका दूतावास र कूटनीतिक नियोगका अधिकारी, सरकारका सचिव, प्रतिष्ठित व्यक्तित्वलगायतलाई निमन्त्रणा पठाउने भएको छ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved