७० मेगावाटको मध्यमर्स्यांदी १० दिन बन्द हुने, कुलमान भन्छन-लोडसेडिङ हुँदैन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 18, 2018 | 09:42:55 AM मा प्रकाशित

laxmi  sunrise bank

७० मेगावाट जडित क्षमताको मध्यमर्स्यांदी जलविद्युत केन्द्र मर्मतका लागि सातदेखि दश दिन बन्द हुने भएको छ। केन्द्रको बाँधको बाँयातर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मतका लागि १० फागुन बाट बन्द गर्न लागिएको हो।   

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मध्यमर्स्यांदीको विद्युत उत्पादन बन्द भएपनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने बताए। 

यसका कारणले कथंकदाचित प्रणालीमा कुनै समस्या आएमा विद्युत आपूर्ति कहीकतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले प्रष्ट पारे। ‘यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेका छौं,’ घिसिङले भने।

घिसिङका अनुसार कुलेखानी जलाशयमा पानीको सतह १५२१.९८.मिटर छ, जुन गतवर्षको यही अवधिको तुलनामा करिव ३ं.८३ मिटर बढी हो। कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत उत्पादन हुन्छ।

मध्यमर्स्यांदीको बाँधको बाँयातिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ। थप क्षति हुन नदिन मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए।

‘गत वर्ष नै मर्मत गर्न लागेका थियौं तर भार प्रेषण केन्द्र (एलडिसी)बाट विद्युत व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो’,उनले भने,‘यस वर्ष पनि गरिएन भने थप क्षति पुग्ने देखिएपछि सात दिनभित्र मर्मत सक्ने गरी एलडिसीबाट सट डाउन पाएका छौं।’

गौतमकाअनुसार, मर्मतको काम २४ सै घण्टा तीन सिफ्टमा सञ्चालन हुने छ।केन्द्रबाट विद्युतको माग बढी हुने साँझ र विहान (पिकआवर)मा७० मेगावाट र अन्य समयमा करिव ३० मेगावाट विद्युत उत्पादन हुन्छ।मध्यमर्स्यांदी अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) आयोजना हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved