दिगो ग्रुपले ल्यायो ३ मोडलका बिजुली गाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 12:27:02 PM मा प्रकाशित

laxmi  sunrise bank

दिगो ग्रुप अफ कम्पनीजले विश्व विद्युतीय सवारी साधन दिवस (वल्र्ड इभी डे) को अवसरमा आफ्ना तीनवटा विद्युतीय गाडी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका सवारी साधनमा दिगो ई–बस, दिगो ई६–मिनीबस र दिगो डाँफे–माइक्रोबस छन् । यी गाडीहरुको मूल्य क्रमशः दिगो ई–बसको १ करोड २६ लाख ५० हजार, दिगो ई६–मिनीबसको ९० लाख र दिगो डाँफे–माइक्रोबसको ४४ लाख रुपैयाँ पर्नेछ । 

दिगो ई–बस

दिगो ई–बस प्रिमियम विद्युतीय बस हो । यसका विशेषतामा एबिएस, भेन्टिलेसन फ्यानसहितको रुफ ह्याच, स्टेर लाइट, प्रोटेक्सन बार, एलइडी रुट बोर्ड, रिमोट कन्ट्रोल डोर, डिजिटल घडी, एमपी३ प्लस रेडियो, चार्जिङ रिसेप्टेकल, एयर कन्डिसनर, हेड रेल लगायत समावेश छन् । यो बसलाई ७० जनासम्म बोक्न मिल्ने बनाउन सकिन्छ । सुरक्षाको दृष्टिले यो बस आगो निभाउने फायर एक्सटिङ्ग्विसर, सेफ्टी ह्याम्मर (चारवटा), पछिल्लो भागमा क्यामेरा, ढोकाको अनुगमन गर्ने प्रणाली जस्ता उपकरणले सुसज्जित छ । यसलाई सार्वजनिक यातायात, अर्बन फ्लिट, सहरभित्रको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल लगायतमा प्रयोग गर्न सकिन्छ । 

१२९ किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र १४० किलोवाटको मोटर रहेको यो बस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २०० किलोमिटरसम्म गुड्ने कम्पनीको दाबी छ । यसको प्रतिकिलोमिटर बिजुली खर्च ७ रुपैयाँ १ पैसा पर्छ, जुन करिब २२ रुपैयाँ प्रतिकिलोमिटर पर्ने डिजेल बसको सञ्चालन खर्चको तुलनामा ७० प्रतिशत कम हो ।  

दिगो ई६ मिनीबस

प्राविधिक रुपमा उन्नत डिजाइनको दिगो ई६ मिनीबसले २० जनासम्म यात्रुलाई प्रदूषण र आवाजरहित यात्राको अनुभव दिलाउँछ । दिगो ई६ सबै प्रकारका र दीर्घकालीन लचकता प्रदान गर्न  विकास गरिएको सवारी साधन हो । 

पर्याप्त फराकिलो भित्री भाग, ठूला सिट तथा पस्न र निस्कन सजिला स्लाइडिङ डोर भएको यो बस निश्चित संख्यामा यात्रु ओसार्नका लागि उत्कृष्ट सवारी साधन हो । यो बसमा आवश्यकता अनुसार १४, १६, १७ र २० जनासम्मको लागि व्यक्तिगत सिट भएको बनाउन मिल्छ । यसलाई सहरभित्रको वा एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेहिकलको रुपमा प्रयोग गर्न सकिने छ । 

८० किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ११० किलोवाटको मोटर रहेको यो मिनीबस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २१० किलोमिटरसम्म गुड्छ  । यो बसको प्रतिकिलोमिटर बिजुली खर्च ३ रुपैयाँ २ पैसा मात्र पर्न आउँछ, जुन डिजेलको करिब १३ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ७० प्रतिशत कम हो ।

दिगो डाँफे

११ सिटको दिगो डाँफे फ्लिट सर्भिस, सहरभित्रको र एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेहिकलको लागि उत्तम रहेको कम्पनीको विश्वास छ ।

४२ किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको यो सवारी साधन एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २५० किलोमिटरसम्म गुड्छ । यो माइक्रो बसको प्रतिकिलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ, जुन डिजेलको करिब ९ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved