नेपाल राष्ट्र बैंकले विभिन्न ११ बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्न गाभिन स्वीकृति दिएको छ। राष्ट्र बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले ९ संस्थालाई अन्तिम स्वीकृति तथा २ संस्थालाई सैद्वान्तिक स्वीकृति दिएको जनाइएको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार इन्भेष्टमेन्ट बैंकसहित ११ बैंक तथा बित्तिय संस्थाले गाभ्न गाभिन स्वीकृति दिएको हो। प्रवक्ता पौडेलका अनुसार इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति पाएको छ।
त्यस्तै सिभिल बैंकले युनिक फाइनान्स र हामा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई , महालक्ष्मी विकास बैंकले यति डेभलपमेन्ट बैंकलाई, भिवोर सोसाइटी डेभलपमेन्ट बैंकलाई लुम्बनी फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति पाएका छन्। अन्तिम स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाहरु असार मसान्त भित्र नै गाभिने योजनामा रहेका छन।
त्यस्तै देव विकास बैंकले साझा विकास बैंक प्राप्ति गर्ने सैद्वान्तिक स्वीकृति पाएको छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन बैंक तथा वित्तीय संस्थाहरुसंग अब मात्र १ महिना बाँकी रहेको छ।
राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्त भित्र बाणिज्य बैंकहरुले ८ अर्ब, राष्ट्रिय स्तरको बिकास बैंकहरुले २ अर्ब ५० करोड पुर्याउनु पर्ने छ।