सानिमा बैंकमाथि लाग्यो गम्भीर आरोप, भैरवकुण्ड हाइड्रोका संचालक भन्छन् 'बैंकको नियत नै ठिक छैन'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Feb 21, 2020 | 08:54:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले सिन्धुपाल्चोकमा रहेको भैरवकुण्ड हाइड्रोपावर लिमिटेड लिलामीको लागि सार्वजनिक सूचना निकालेको छ। आयोजनाका लागि लिइएको ऋणको किस्ता, साँवा र ब्याज तिर्न अटेर गरेको भन्दै लिलामीको सूचना निकालेको बैंकले जनाएको छ । 

आयोजनामा सानिमा बैंकको नेतृत्वमा बैंक अफ कमाठमाडौँ, एनएमबी बैंक, एनआइसी एशिया बैंक, मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमई बैंकले ऋण लगानी गरेका छन् ।  

बारम्बार लिखित तथा मौखिक ताकेता गर्दा २ पटकसम्म राष्ट्रिय दैनिकमा ३५ दिने सार्वजनिक सूचना निकाल्दा पनि कम्पनीले अटेर गरेको बैंकको दाबी छ । कम्पनीले ऋण तिर्नेतर्फ ध्यान नदिएको, कुनै पनि जमानतकर्ताले चासो नदिएको र ऋण तिर्ने विषयमा ठोस कार्ययोजना समेत पेश गर्न नसकेको बैंकले जनाएको छ ।  

बैंकले तेस्रो पटक सूचना निकाल्दै आगामी १५ दिनभित्र ऋण नतिरे १६ औ दिनमा आयोजना लिलामी गर्ने सूचना निकालेको छ। बैंकले लिलाम अवधिमा कसैले पनि आयोजना लिन नचाहेमा इच्छुक खरिदकर्तासंग आफैले छलफल र वार्ता गरी आयोजना बेच्ने समेत जनाएको छ। 

यसरी आयोजना लिलाम भईसकेपछि आयोजनाले त्यसमा कुनै पनि दाबि गर्न नपाउने र लिलाम प्रक्रियापछि पनि बैंकको पुरै ऋण नउठे जमानिकर्ताको चल अचल सम्पतीबाट असुल उपर गरिने बैंकले चेतावनी दिएको छ । यससंगै बैंकले २३ जना जमानतकर्ताको नाम समेत सार्वजनिक गरेको छ । 

बैंकले सिन्धुपाल्चोकको साविकको तातोपानी गाविस वडा नम्बर ४ स्थित कित्ता नम्बर १९२ र २०६ मा रहेको १४ रोपनी बढी जग्गा, त्यहाँ रहेको आयोजना र  सम्पूर्ण संरचना लिलाम गरिने जनाएको छ। आयोजनाले बैंकलाई कुल ४३ करोड तिर्न बाँकि छ । 

के भन्छ आयोजना ?

लिलामीको सूचना निकालेपछि जबर्जस्ती रुपमा पेल्न खोजेको आयोजनाले आरोप लगाएको छ । कम्पनीका एक संचालकले प्रबर्दकहरुबाट ५० लाख उठाएर बैंकलाई बुझाउने तयारी गर्दै गर्दा पनि बैंकले एकलौटी रुपमा लिलामीको सूचना निकालेको आरोप लगाएका छन् । 

३३ करोड ऋण लिएकोमा २०७६ असारसम्म तिर्नु पर्ने सम्पूर्ण रकम तिरीसकेको आयोजनाले जनाएको छ । असोजमसान्त र त्यसपछि तिर्नु पर्ने रकम बाँकि रहेको र आफुहरुले चैत्र मसान्तसम्म तिर्ने बताएको भए पनि बैंकले त्यो प्रस्तावलाई अटेर गरी लिलामीको सुचना निकालेको आयोजनाको आरोप छ । 

आयोजना ब्यबस्थापन तर्फका एक उच्च अधिकारीले एक दुई त्रैमासमा तिर्नु पर्ने रकम अरु आयोजनामा पनि तिर्न ढिलाई हुने गरेको भएपनि सानिमा बैंकले धेरै नै पेलेर अगाडी बढेको आरोप लगाउछन् । उनी भन्छन् ‘बैंकको नियत नै पेलेर अगाडी बढ्ने जस्तो देखियो, हामीले चैत्रसम्ममा तिर्ने बताउदा पनि बैंकले सुनेन’ । 

सानिमा ग्रुपको हाइड्रोमा पनि लगानी रहेको र यो आयोजनालाई लिलाम गरी त्यहि ग्रुप अन्तर्गत ल्याउने नियत देखिएको आयोजनाका एक उच्च ब्यबस्थापकले बताए । उनले भने  ‘यदि त्यो होइन भने हामीले चैत्र मसान्तसम्म सबै क्लियर गर्छौ भन्दा लिलामीको सूचना  निकाली हाल्नु पर्ने कुनै आवश्यकता थिएँन’ । 

मङ्सिर ११ गते आयोजनास्थलमा पहिरो आएको र त्यसपछि मर्मत कार्य सक्दा फेरी पुस २८ गते अर्को पहिरो आएको आयोजनाले जनाएको छ । पहिरोपछि आयोजना मर्मत गर्न थप पैसा लाग्ने भएकोले बैंकलाई नियमित रुपमा पैसा बुझाउन नसकिएको आयोजनाको भनाई छ । जुरेको पहिरो, भूकम्प, हेडवक्र्समा आएको पहिरो, भोटेकोशीको बाढी र त्यसपछि आएका पहिरोले आयोजनामा क्षति पुर्याउदै आएको छ। 

के भन्छ बैंक ?

बैंकले भने आयोजना लिलाम गरेर आफ्नो ग्रुप अन्तर्गत ल्याउने कुनै पनि चाहना नरहेको बताएको छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले आयोजनाले नियमित रुपमा तिर्नु पर्ने रकम नतिरेको, थप समय दिँदा पनि वास्ता नगरेको र ऋण तिर्ने विषयमा ठोस कार्ययोजना पनि पेश गर्न नसकेकोले लिलाम प्रकिया सुरु गरिएको बताए । उनले भने  ‘हामीले नेपाल राष्ट्र बैंकको नियम भित्र रहेर प्रचलित कानुन अनुसारनै लिलामीको सूचना निकालेका हौ, यस अघि पनि २ पटक ३५ दिनेसूचना निकालेका थियौ।ु

आयोजना सानिमा ग्रुप कै अर्को कम्पनीलाई दिनलाई लिलामीको सूचना आएको आरोपको विषयमा उनले भने  ‘हामीले अन्य हाइड्रोपावर आयोजनामा पनि लगानी गरेका छौ, अहिलेसम्म कसैलाई पनि दुख दिएका छैनौ, दुख दिने हाम्रो नियत होइन, नियम अनुसार सबै प्रक्रिया पुरा गरी लिलामीको सूचना आएको हो, जो सुकैले पनि लिलाममा भाग लिन सक्छ, सानिमा कै कम्पनीलाई दिनलाई आएको सूचना होइन’ ।

सदासयताको आवश्यकता

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ९इपान०ले साना र रुग्ण आयोजनालाई साँवा ब्याज तिर्न समस्या परेको स्वीकार गर्दै यसमा दुवै पक्ष छलफल गरेर परिस्थिति बुझेर काम गर्नु पर्ने बताउछ । संस्थाका उपाध्यक्ष कुमार पाण्डे  लिलामीको सूचनाले ऋण नउठ्ने भएकोले बैंकले पनि परिस्थिति बुझी सदासयताका साथ काम गर्नु पर्ने र आयोजनाले पनि सहयोग गर्नु पर्ने बताउछन् । 

दुवै पक्षले दुवैलाई सहज हुने गरी सहमतिमा काम गरेमा मात्र यस्ता समस्या समाधान हुने अन्यथा भविष्यमा यस्ता समस्या अरु पनि आउँन सक्ने तर्फ उपाध्यक्ष पाण्डेले सचेत गराएका छन् । 

प्राकृतिक विपदका कारण समस्यामा परेको सो आयोजनाबाट उत्पादित विद्युत् ३४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लामोसाँघु सबस्टेसनमा जोडिएको छ ।

कम्पनीले स्थानीय र सर्वसाधारणलाई साधारण शेयर निष्काशन गरेर पुंजी संकलनको तयारी समेत गरेको थियो । कम्पनीले  ३१ करोड ८३ लाख २८ हजार बराबरको ३१ लाख ८३ हजार २ सय ८० कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएको थियो  । आयोजनाले आयोजना प्रभावित स्थानीयको लागि ६ लाख ५० हजार कित्ता र बाँकि २५ लाख ३३ हजार २ सय ८० कित्ता सर्वसाधारणको लागि शेयर निष्काशनको प्रस्ताव गरेको थियो । 

तर कम्पनीले ग्रेड ५ को रेटिंग पाएको धितोपत्र बोर्डले हाइड्रो कम्पनीले ग्रेड ५ को रेटिंग  हुँदा शेयर निष्काशन गर्न नपाउने नियम बनाएपछि कम्पनीको आईपिओ टरेको हो ।

कम्पनीले सिन्धुपाल्चोकको लार्चामा तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालनमा गरिरहेको छ । सो हाइड्रो पावरबाट उत्पादित विद्युत् ३३ केभिए ट्रान्समिसन लाइन हुँदै लामोसाँघु सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  तर अहिले भने आयोजनाको उत्पादन नै ठप्प छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved