नेपालको दुष्प्रचार गर्ने 'भारतीय' लाई नेपालीबाटै वाहवाही ! कागको पछि लाग्ने कि कान समात्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2019 | 12:30:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीमा एउटा उखान नै छ, कागले कान लग्यो भन्दैमा कागको पछि दौडिनु हुन्न, पहिले कान समात्नु पर्छ। तर केहि सातादेखि यूट्यूबमा  ट्रेन्डिङ भएको भारतका एक प्रख्यात ‘मोटिभेसनल स्पिकर’ को भिडियोमाथि आएका प्रतिकृया हेर्दा लाग्छ नेपालीहरुबीच कान समात्न होइन कागको पछि दौडिने होडबाजी नै चलेको छ।   

मोटिभेसनल स्पिकर डा. विवेक बिन्द्राले ‘फुल केस स्टडी अफ नेपाल’ शिर्षकमा आफ्नो यूट्यूव च्यानलबाट १५ मिनेटको भिडियो पोष्ट गरेका छन।  नेपाल सरकार र नेताहरुलाई गाली गर्दै ति भारतीयको कुरामा हो मा हो मिलाएर उक्त भिडियो सेयर गर्न नेपालीहरुबीच एक प्रकारको प्रतिस्पर्धा नै देखिएको छ। उक्त भिडियो सेयर गर्ने अधिकांशले ती भारतीयलाई प्रशंसा गर्दै नेपाल सरकार र नेपालका नेताहरुलाई गालि गलौज समेत गरेका छन। 

कतिसम्म भने यी भारतीयले नेपालबारे गरेको दुस्प्रचारमा होस्टे मा हैसे मिलाउनेमा कथित बुद्दिजिबीदेखि बैंक वित्तीय संस्थाका उच्च अधिकारी समेत छन। धेरै थोरै नेपालीहरुले मात्र यी भारतीयले प्रस्तुत गरेको आंकडा झुटो र मिथ्या भएको भन्दै उनको आलोचना गरेका छन। 

यो लेख तयार पार्दासम्म १५ मिनेटको उक्त भिडियो हेर्नेको संख्या झन्डै ७ लाख ५३ हजार पुगेको छ भने हजार भन्दा प्रतिकृया आइसकेका छन।बिन्द्रा नाम गरेका यी भारतीयले पेश गरेको भिडियोमा नेपालको अवस्था भयावह देखाइएको छ। यिनले प्रस्तुत गरेको जस्तै नेपालको अवस्था दयनीय, लाचार छ त ? आउनुहोस, यी केहि तथ्य हेरौं। 

महंगीदर र आर्थिक वृद्धि 

भिडियोमा नेपालको खराब चित्र प्रस्तुत गर्ने क्रममा नेपालको मुद्रास्फिती (पैसाको क्रय शक्ति) १० प्रतिशत र आर्थिक वृद्धिदर डेढ प्रतिशत भनिएको छ। उनले कुन बर्षको तथ्यांक लिएका हुन त्यसबारे केहि बोलेका छैनन। तर पछिल्लो तीन आर्थिक बर्षको अवस्था हेर्ने हो भने नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हाराहारीमा छ त्यो पनि स्थिर अवस्थामा। 

स्थिर अवस्थामा आर्थिक वृद्धिदर उकालो लाग्नुलाई अर्थतन्त्रमा राम्रो मानिन्छ। नेपालको वास्तविक तथ्यांक केलाउने हो भने गत आर्थिक वर्ष २०७४/७५ मा नेपालको मुद्रास्फिति ४.५ प्रतिशत थियो भने आर्थिक वृद्धिदर ५.९ प्रतिशत । त्योभन्दा अगाडिको वर्ष अर्थतन्त्रको अवस्था झनै राम्रो थियो । आव २०७३/७४ मा मुद्रास्फिति ४.५ प्रतिशतमा खुम्चिएको थियो भने आर्थिक वृद्धिदर ७.४ प्रतिशत पुगेको थियो । यस आर्थिक बर्ष आर्थिक वृद्धिदर ८ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

लोडसेडिङ 

यी भारतीयले जबर्जस्ति नेपालमा लोडसेडिङ छ भन्ने तथ्यांक देखाउने प्रयास गरेका छन। बिश्वले मान्ने यिनी नेपालबारे अपडेट छैनन भन्ने कुरा मान्न सकिदैन। उनले जानाजान नेपालबारे भ्रम फैलाउने चेष्टा गरेका छन। भिडियोमा उनले नेपालमा १२ घण्टाभन्दा बढी लोडसेडिङ हुन्छ भनेका छन। जबकि नेपालमा बिजुली पुगेका ठाउँहरुमा लोडसेडिङ एकादेशको कथा भईसकेको छ। बिद्युत उत्पादन बढेकाले नेपाल बिद्युत प्राधिकरणले पछिल्लो समय बिद्युत प्रयोग बढाउनलाई जनचेतना फैलाउदैछ। 

गरिबीको तथ्यांक 

भिडियोमा नेपाल विश्वकै गरिब देशमा २५ औं स्थानमा पर्छ भनिएको छ। जबकी २०१९ को डाटा हेर्ने हो भने नेपाल गरिबीको देशमा ३३ औं स्थानमा पर्छ र नेपालले आफ्नो स्तर उकास्दै लगेको देखिन्छ। 

त्यस्तै भिडियोमा ८० प्रतिशतभन्दा बढि नेपाली जनता गाउँमा बस्ने र ७३ प्रतिशतभन्दा बढी मानिसहरुसंग पानीको सुविधा नभएको र १ करोड जनसंख्या गरिबीको रेखामुनी रहेको देखाइएको छ। जुन सरासर झूटा वा अतिरञ्जित तथ्यांक हुन। नेपालमा खानेपानी नपुगेको जनसंख्या १३ प्रतिशत मात्र हो । गरिबीको रेखामुनि रहेको जनसंख्या करिब ७० लाख हो ।

नेपालसित कुनै पनि प्राकृतिक सम्पदा एवम् खानिज नरहेको भनिएको छ। नेपाल प्राकृतिक सम्पदा एवं खनिज भएको देशको रुपमा चिनिन्छ, उत्खनन नहुनु अर्को बिषय हो।

बिन्द्राले भिडीयोमा नेपालको ५० प्रतिशत जनता दैनिक एक डलरभन्दा कममा जीवनयापन गरिरहेको देखाएका छन। नेपाल राष्ट्र बैंकका अनुसार २०७४÷७५ मा नेपालीको औसत आय प्रतिवर्ष एक हजार चार डलर रहेको थियो। यस हिसाबले नेपालीको औसत दैनिक आय २.७५ डलर हुन्छ। 

शिक्षामा न्यून लगानी 

भिडियोमा नेपालको सरकारले शिक्षालाई विश्वमै कम अनुपातमा बजेट छुट्याएको र नेपालको शिक्षाको स्तर अत्यन्त नाजुक भएकाले यहाँका युवाहरु बिदेशमा पढ्न गएको भन्ने देखाइएको छ। तर यथार्थ केहो भने नेपाल सरकारले बर्षेनी शिक्षामा लगानी बढाउदै लगेको छ। यस आर्थिक बर्षमा पनि सबैभन्दा बढी बजेट शिक्षामा छुट्याइएको छ।

जीडीपीको तुलनामा शिक्षालाई नेपालले छुट्याएको बजेट अनुपात बान्द्राको देश भारतको भन्दा उल्लेख्य बढि छ । भारतमा अघिल्लो वर्ष शिक्षालाई जीडीपीको ३.५ प्रतिशत बजेट छुट्याइएको थियो भने नेपालमा ४.४५ प्रतिशत छुट्याइएको छ । 

अर्कोतर्फ नेपालमा शिक्षाको स्तर अत्यन्त नाजुक भएकाले नेपालीहरु विदेश पढ्न जान्छन भनिएको छ। तर यथार्थ केहो भने नेपालका बिश्वबिद्यालय र कलेजहरु बिश्वका नाम कहलिएका भन्दा कुनै कम छैनन। यहाँ पढेका बिद्यार्थीहरु कति स्तरीय छन भन्ने बिषय आज बिश्वका ठुलो बिश्वबिद्यालय र कलेजहरुमा नेपालीहरुको उपस्तिथीले जनाउछ। जहाँसम्म रह्यो विदेश पढ्न जाने बिषय। आज बिश्व एउटा सानो घर भईसकेको छ, बिशेषगरि युवापुस्ता केहि नयाँ सिक्न र आफ्नै खुट्टामा उभिन चाहन्छन त्यसैले नेपालीयुवाहरुमा विदेश पढ्न जाने मोह बढेको हो तर बाध्यकारी अवस्था ले पक्कै होइन।  

बालबिबाह 

बिन्द्राले भिडियोमा नेपालमा ४० प्रतिशतभन्दा बढि केटीहरुको बालबिबाह हुने गरेको आँकडा देखाएका छन। कतिसम्म भने बालबिबाहकै कारणले  नेपाल पछि परेको बताएका छन। जबकि बालविवाहको समस्या नेपालमा भन्दा भारतमा ठूलो छ। यसको प्रमाण बिहार बिहारसंग जोडिएको नेपालको तराई भूभागमा अझैं पनि हुने गरेको बालबिबाहको तथ्यांक हो। 

स्मरणीय के छ भने भारत विश्वमै सबैभन्दा बढि केटीहरुको बालविवाह हुने देश हो । त्यहाँ ४७ प्रतिशतभन्दा बढि केटीहरु कानूनले तोकेको उमेर (१८ वर्ष) भन्दा अगाडि नै बिहे गर्छन् । सन् २०१७ मा प्रकाशित यूनिसेफको रिपोर्टले सर्वाधिक बालविवाह हुने देशहरुको सुचीमा भारतलाई संख्याका आधारमा पहिलो र अनुपातका आधारमा दशौं नम्बरमा राखेको थियो । जबकी नेपाल यसको टप १० को सुचीमा पनि पर्दैन। ह्यूमन राइट्स वाचले २०१६ मा गरेको सर्भेक्षण अनुसार नेपालमा ३८ प्रतिशत केटीहरुको १८ वर्ष नपुग्दै बिहे हुने गरेको छ ।

बिदेशीले कब्जामा लिन नसकेका होइन, नचाहेको जस्तो हास्यास्पद बिषय 

भिडियोमा बिन्द्राले अंग्रेज लगायतका बिदेशी शक्तिले नेपाललाई आफ्नो कब्जामा लिन नसकेको होइन, गरिबी र कम्जोर अर्थतन्त्रका कारण नचाहेको हो भन्ने जस्तो दुस्प्रचारको हद देखाएका छन।  

नेपालको अर्थतन्त्र पहिलेदेखि नै दयनीय थियो जस्ता बिषयहरु बिन्द्राले भिडियोमा देखाएका छन। जबकी नेपालको अवस्था अहिले भन्दा पहिले कयौं गुणा राम्रो थियो। कुनैबेला नेपाली रुपैयाँ डलर जस्तै बलियो थियो भने युरोप जान नेपाली नागरिकलाई भिषाको आवश्यकता पर्थेन। ती तथ्यलाई बिर्सिएर बिन्द्राले नेपाल पहिलेदेखि नै गरिब भएकाले यहाँ कसैको आँखा नलागेको बताएका छन। 

बिश्वका २५ भन्दा बढी मुलुकमा आफ्ना फ्यान भएको बताउने बिन्द्राले अंग्रेजले कसरि भारतलाई आफ्नो कब्जामा लियो र अंग्रेजले नेपाललाई लिन कतिसम्म लडाई लड्यो भन्ने इतिहास पढ्न नपाएको हो जस्तो उनको प्रस्तुति देखिन्छ। 

भारत को स्थिति के ?

बिन्द्राले नेपाललाई संसारकै गरिब मुलुकको रुपमा चित्रण गर्दै सहानुभूति व्यक्त गरे । तर, यो बिर्सिए कि उनको आफ्नै देश गरिबहरुले भरिएको छ।सर्वाधिक गरिब जनसंख्या रहेको देशको सुचीमा भारत अहिले विश्वमै दोस्रो नम्बरमा रहेको छ । यसअघि दशकौंसम्म पहिलो नम्बरमा रहेको भारतलाई २०१८ मा नाइजेरियाले जितेको हो ।

दैनिक १.९ डलरभन्दा कम आम्दानी गर्ने परिवारलाई गरिबीको रेखामुनि रहेको मानिन्छ । सन् २०१८ को मेसम्मको तथ्यांकअनुसार भारतमा ७ करोड ३० लाख मानिसहरु गरिबीको रेखामुनि छन् भने नाइजेरियामा ८ करोड ७० लाख । भारतले सन् २०३० सम्ममा गरिबी उन्मुलन गर्ने लक्ष्य लिएको छ ।

विश्व मानव विकास सुचकांकमा भारत अहिले पनि निकै पछाडि (एक सय ३० औं स्थानमा) छ । नेपाल भारतभन्दा १९ स्थान तल छ । आधा जनसंख्या कृषिमा आवद्ध भारतमा सरकारको ऋण तिर्न नसकेर वर्षेनी विपन्न किसानले आत्महत्या गर्छन् । प्रत्येक वर्ष औसत १२ हजार किसानले आत्महत्या गर्ने गरेको भारतको सरकारले सर्वोच्च अदालतलाई जानकारी गराएको थियो ।

भारत विश्वमै सर्वाधिक संख्यामा भिखारीहरु रहेको देशका रुपमा पनि चिनिन्छ । २०१५ को सर्भेक्षणअनुसार भारतमा चार लाख १३ हजार ६ सय ७० जना भिखारी थिए, जसमध्ये दूई लाख २१ हजार ६ सय ७३ पुरुष र बाँकी महिला छन् । नेपालमा पनि हजारौंको संख्यामा भारतीयहरु भिख मागेर हिँडिरहेका छन् । लाखौं भारतीयहरु नेपालमा मजदुरी गरेर आफ्नो परिवार पालिरहेको तथ्य पनि बिर्सन हुँदैन ।

यद्यपि, कतिपय क्षेत्रमा भारतले निकै प्रगति पनि गरिरहेको छ । पछिल्ला वर्षहरुमा भारतले आफ्नो सामरिक शक्ति विस्तार गरेको छ भने फिल्म, क्रिकेट र आइटीले भारतको अर्थतन्त्रलाई माथि उठाएका छन् । तर, त्यहाँ गरिब र धनीहरुबीचको खाडल झन् बढ्दो छ ।

सामाजिक चेतनाका दृष्टिकोणले भने भारतीय समाज निकै पिछडिएको छ । महिलामाथि बलात्कर र घरेलु हिंसाका लागि भारत विश्वमै ‘प्रख्यात’ छ । भारत सरकारको धार्मिक कट्टरताले त्यहाँ अल्पसंख्यक मुस्लिमहरु थिचोमिचोमा परिरहेका छन।

को हुन् विवेक ?

डा. बिन्द्रा अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त मोटिभेसनल स्पिकर र लिडरसिप ट्रेनर हुन् । उनका २५ वटा देशमा क्लाइन्ट छन् ।१९७८ मा भारताको दिल्लीमा जन्मेका बिन्द्रा अढाई वर्षको हुँदा उनका बाबुको मृत्यू भएको थियो भने आमाले अर्को बिहे गरेकी थिइन् । उनले संघर्ष गरेर पढेका थिए ।

बिन्द्राले आफ्नो नाम अगाडी लेख्ने गरेको डा. पद आफैमा विवादित छ । खासमा उनले कुनै न एमबीबीएस गरेका हुन् न कुनै विषयमा पीएचडी । कोलम्बोको ओईयूएम यूनिभर्सिटीले उनलाई मानार्थ पीएचडीको उपाधि दिएको थियो । त्यसैका आधारमा उनले आफ्नो नाम अगाडि डा. लेख्ने गर्छन् । 

बिन्द्राविरुद्ध गत वर्ष भारतमा डाक्टरहरुले एफआईआर दर्ता गरेका थिए । देशभरीका डाक्टरहरुको विषयमा दिएको ‘घृणा फैलाउने’ अभिव्यक्तिलाई लिएर उनी आलोचित बनेका थिए ।

जयपुर मेडिकल एसोसिएसनका उपाध्यक्ष डा. सञ्जिब गुप्ताले एफआईआर दर्ता गराएका थिए भने इन्डियन मेडिकल एसोसियसनले बिन्द्रालाई ‘मानहानीको सुचना’ पठाएको थियो । बिन्द्राले आफ्नो यूट्यूव भिडियोमा देशका डाक्टरहरुलाई ‘सेतो कोट लगाएका हत्याराहरु’ को संज्ञा दिएका थिए ।

उनी उद्योगीहरुलाई व्यवसायिक समस्या समस्याका समाधानका लागि परामर्श दिने गर्छन् । भारतमा उनलाई सन्दिप महेश्वरीसँग दाँजेर हेर्ने गरिन्छ । यद्यपि, दुवैको शैली र क्षेत्र फरक–फरक छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved