धितोपत्र बोर्डको 'कमजोरी' सँग जोडिएको त्यो हृदयविदारक सामूहिक आत्महत्या

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 20, 2020 | 12:50:14 PM मा प्रकाशित

laxmi  sunrise bank

ऋणको बोझ थेग्न नसकेपछि सामुहिक आत्महत्याको बिकल्प रोजेको घटना नेपाल धितोपत्र बोर्डसँग जोडिएको पाइएको छ। केहि संचारमाध्यमले अनलाइन बिजनेशमा घाटा खाएपछि आत्महत्याको बाटो रोजेको भनेपनि नेपालमा गैरकानुनी ठहरिएको 'कमोड़ीटि बजार' लाई पेशाको आधार बनाउँदा उनि ऋणमा डुबेको पाइएको हो। 

सुरुमा नाफामा रहेपनि पछिल्लो समय व्यवसाय राम्रो नभएपछि ऋणमा डुब्न पुगेकाले ३७ वर्षीय विनय लामिछानेले परिवार सहित त्रिशूली नदीमा हाम फाले। तर भाग्य भनौ वा दुर्भाग्य, उनी आफु बचे र एक श्रीमती, २ छोराहरु सहितको परिवार गुमाए । श्रीमतीको शव फेला परेको छ भने २ छोरा अझै बेपत्ता छन् । 

अनुसन्धानको क्रममा साहुको दबाब र 'मिटर ब्याज' तिर्न नसकेपछि उनी आत्महत्याको निर्णयमा पुगेको देखिन्छ । विनयले कमोडीटि बजारमा  लगानी गर्न विभिन्न व्यक्तिबाट मिटर ब्याजमा करीब एक करोड ५० लाख ऋण लिएको ‘सुसाइड नोट’बाट पत्ता लागेको छ। 

तर उनको यो प्रकरणमा धितोपत्र बोर्ड पनि जोडिन पुगेको छ । उनी कमोडिटी बजारका खेलाडी थिए। आफै ब्रोक्ररेज फर्म चलाएर बसेका उनको कमोडटी बजारमा ठुलो लगानी थियो। नेपाल डेरिभेटिभ एक्सचेन्ज प्रालि अन्तर्गत रहेर उनले १३ औं नम्बरको ब्रोकरको रुपमा  बेस्ट काठमाडौं बिजनेस इन्भेस्टमेन्ट प्रालि संचालन गरेका थिए  । सुरुमा फाइदा भएर हौसिएका उनले पछि लगानी बढाउदै गए र अन्त्यमा फसे । तर जुन समय उनले कारोबार गर्थे, त्यस समय  कमोडिटी बजार नै गैरकानुनी थियो। अर्थात् सरकारले राजपत्र नै प्रकाशित गरेर धितोपत्र बोर्डलाई कमोडिटी बजारको नियामकको जिम्मेवारी दियो र धितोपत्र बोर्डले २०७४ पुष २४ गते आफुले कमोडिटी बजारका कसैलाई पनि नचिन्ने भनेर एक नोटिस जारि गर्यो। त्यसदिन यता कमोडिटी बजारमा कारोबार गर्ने स्वत: गैरकानुनी साबित भए।

उक्त मिति पश्चात आजको दिनमा पनि कमोडिटी बजारमा कारोबारका लागि कसैले पनि लाइसेन्स पाएका छैनन। त्यसैले आत्महत्याको प्रयास गरेका लामिछानेले गरेका सबै कारोबार स्वत: गैरकानुनी हुन पुगेको थियो।     

कमोडिटी कारोबार गैरकानुनी घोषणा गरेको करिब ३ महिनाको अन्तरमा नै धितोपत्र बोर्डले पहिलो पटक २०७५ बैशाख ३ गते कारोबार अनुमतिका लागि आबेदन दिन सूचना जारि गर्यो। तर मापदण्ड पुरा नगरेको भन्दै आबेदन दिएका कसैले पनि अनुमति पाएनन्। बोर्डले पुन २०७६ बैशाख १२ गते दोश्रो पटक कारोबार अनुमतिका लागि आबेदन खुला गरेको छ।  आजको दिनमा पनि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन भई कमोडिटी कारोबारको लागि आबेदन दिएका ६ वटा कम्पनीबारे अध्ययन भईरहेको छ। 

यहाँ, अचम्म लाग्ने बिषय के हो भने कमोडिटी कारोबारका लागि आबेदन दिएका ६ वटा कम्पनी मध्ये सबै कम्पनी अस्तित्वमा नभएका कम्पनी हुन्। तर जुन कम्पनी हिजो संचालनमा थिए र धितोपत्र बोर्डले गैरकानुनी घोषणा गरेको थियो, ति कम्पनी आज पनि निर्वाध रुपमा संचालनमा छन। यसरि गैरकानुनी रुपमा संचालनमा रहेका कम्पनी मध्ये कुनै एक बाट कारोबार गर्दा लामिछानेले ऋणको भार बोक्नु पर्यो र अन्तत सामुहिक आत्महत्याको बाटो रोजे। 

नियमनको जिम्मेवारी पाईसकेको धितोपत्र बोर्डले गैरकानुनी घोषणा गरेपछि पनि गैरकानुनी रुपमा संचालनमा रहिरहेका कम्पनीलाई बन्द गर्न सक्थ्यो भने सम्भवत:लामिछानेले यो हबिगत भोग्नुपर्थेन।  तर बिडम्बना धितोपत्र बोर्डले हामि चिन्दैनौ भन्यो तर कुनै ठोस कारबाही गर्न सकेन। बरु गैरकानुनी रुपमा संचालनमा रहेका कम्पनीसँग मिलेर उनीहरुको 'पहिलो सम्झौता' नसकिदा सम्म उनीहरुले गरेको कारोबारलाई नेदेखेझैं गर्ने अनौपचारिक सहमति जनायो। 

आजका दिनमा पनि बाहिर एउटा संस्थाको होडिङ बोर्ड राखेर भित्र कमोडिटी कारोबार संचालन भईरहेका छन र यसको पूर्ण जानकारी धितोपत्र बोर्डलाई छ। गैरकानुनी घोषणा हुँदा कमोडिटी कारोबार गर्ने कम्पनी फाइदामा नै देखिएका छन। नत नियमनको दायरामा हुनुपर्ने न त कुनै नियम मान्नुपर्ने। जसरि ट्राफिकले चिन्दिन भनेर कुनै कारबाही नगर्दा ड्राइभरले मनपरी रुपमा सवारी चलाउदा दुर्घटनाको जोखिम हुन्छ त्यसैगरि कमोडिटी बजार संचालन गर्नेलाई पनि बोर्डले चिन्दिन कारबाही पनि गर्दिन भन्दा यो बजारमा झन ठुलो दुर्घटना हुने निश्चित जस्तै छ। 

लामोसमय कमोडिटी बजारलाई आफ्नो कर्मक्षेत्र बनाएका व्यक्तिहरुले समेत धितोपत्र बोर्डले समयमै कमोडिटी बजारलाई नियमनमा नल्याउदा धेरैले आत्महत्याको बाटो रोज्नुपर्ने बताउने गरेका छन। आजका दिनमा पनि जो गैरकानुनी रुपमा संचालनमा छन त्यहाँका संचालकहरुले आफ्नो ड्राइभर, सुरक्षा गार्डको नाममा कम्पनी दर्ता गरेर कमोडिटी बजार चलाईरहेका छन। भोलि कारबाहीमा पर्दा तिनै सोझा ड्राइभर र सुरक्षा गार्डले दुख पाउने निश्चित छ र व्यवस्थापनको भूमिकामा रहनेहरु फेरी पनि स्वतन्त्र भएर हिड्न पाउनेछन।    

त्यसो त आत्महत्याको बाटो रोजेका लामिछानेले पनि एक अन्तर्वार्तामा कमोडिटीमा जोखिम ठुलो हुने र प्रतिफल पनि धेरै हुने बताएका थिए।  उनले यदि कोहि नबुझी बजारमा आउछ भने त्यो व्यक्ति डुब्न सक्ने बताएका थिए। तर उनी आफै डुबे। व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले तनाव व्यवस्थापन गर्न सकेनन् र आत्महत्याको बाटो रोजे।

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्म ढुंगानाले बिजपाटीका पत्रकार सामेल भेटघाट कार्यक्रममा 'कमोडिटी बजारका कारोबारी र कम्पनीलाई चिन्दैनौ भनेर घोषणा गरिसकेका छौँ के आधारले कारबाही गर्ने'भन्दै प्रश्न गरेका थिए ।    यसरी जिम्मेवारीबाट पन्छिन खोज्ने हो भने भोलिका दिनमा अरु थुप्रै लामिछानेहरुले आत्महत्याको बाटो रोज्नुपर्ने हुन्छ। संचालनमा रहेका कम्पनीलाई जुन कानुनमा टेकेर गैरकानुनी घोषणा गरियो त्यहि कानुनमा टेकेर गैरकानुनी रुपमा संचालनमा रहेकालाई कारबाही गर्नलाई बोर्डले हिम्मत गर्नुपर्छ। होइन भने, गैरकानुनी घोषणा गर्ने अनि निर्वाध रुपमा संचालन हुन दिने हो भने कानुनी राज्य भन्ने शब्दमाथि नै आमजनताको प्रश्न उठ्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved