आगामी वर्ष भित्रै यी बस्तुहरुमा आत्मनिर्भर बन्दैछ नेपाल (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 03:43:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ मा २ दर्जन बस्तुहरुमा आत्मनिर्भर बन्ने घोषणा गरेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले गत वर्षको जेठ १५ गते गरेको बजेट भाषणमार्फत चालु आर्थिक वर्षमा २ दर्जन बस्तुहरुमा मुलुकलाई आत्मनिर्भर बनाउने भनेका थिए । बजेटमै उल्लेख कार्यक्रम भएपनि चालु आर्थिक वर्षमा न अध्ययन भयो, न नेपाल कुनै बस्तुमा आत्मनिर्भर रहेको औपचारिक घोषणा नै भयो । 

‘२ दर्जन जति बस्तुहरुमा आत्मनिर्भर बन्न सकिन्छ की भनेर अध्ययन गर्ने कुरा बजेटमा आएको थियो’ स्रोतले भन्यो, ‘तर उद्योग मन्त्रालयले अग्रसरता लिन नसक्दा अध्ययनको कुनै काम नै हुन पाएन ।’ 

स्रोतका अनुसार कोरोना भाइरसको संक्रमण फैलिनु केही समय अघिमात्रै मन्त्रालयले यसबारे अध्ययन गर्ने सुरसार भने कसेको थियो । सुरुमा कुनै तादरुकता नदेखाएको उद्योग मन्त्रालयले फाल्गुणमा आएर उद्योग विभागलाई अध्ययन गर्न सक्ने भए गर्नु भन्यो । उद्योग विभागले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत उद्योगीका संगठनसँग मिलेर अध्ययन गर्ने योजना बनाएपनि लकडाउनका कारण त्यो सफल भएन ।

आगामी वर्ष अध्ययन गर्छौ

आगामी आर्थिक वर्ष २०७७/०७८ मा भने अध्ययन गर्न उद्योग विभागले नै अग्रसरता देखाएको छ । चालु आर्थिक वर्षको लागि अध्ययन गर्न भनेर निर्देशन नपाएका कारण काम गर्न नसकिएको र आगामी वर्ष भने विभागकै अग्रसरतामा काम गर्ने योजना रहेको विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक बिनोद खड्का बताउँछन् । 

‘विभागले नै अग्रसरता लिएर आगामी आर्थिक वर्षमा आत्मनिर्भर भईसकेका र आत्मनिर्भरको नजिक रहेका बस्तुहरुबारे अध्ययन गर्दैछौँ’ निर्देशक खड्काले भने, ‘यसका लागि विभागले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयलाई भनेर १९ लाख रुपैयाँ बजेट नै छुट्याएको छ ।’ 

विभागले यसअघि भएका अध्ययनको सबै प्रतिवेदनको अध्ययन, आवश्यकता अनुसार ‘फिल्ड भिजिट’, बजारको माग लगायत अध्ययन गर्न एउटा अनुसन्धानकर्तालाई खटाउने योजना बनाएको छ । १९ लाखमध्ये अध्ययन गर्ने कम्पनीलाई निश्चित रकम दिईने र बाँकी बसेको रकमले विज्ञसहित २ देखि ३ दिनसम्म ब्यापक छलफलको योजना पनि विभागले बनाएको छ ।

आत्मनिर्भरको निकट रहेका उद्योगहरु

विभागले अध्ययन गर्ने भनेपनि के के बस्तुहरुमा आत्मनिर्भर बन्न सकिन्छ भनेर अहिले सूची भने तयार पारिसकेको छैन । तर विभागको अध्ययनले देखाएअनुसार निर्माण क्षेत्रमा प्रयोग हुने सामान उत्पादनमा भने नेपाल आत्मनिर्भर बनिसकेको छ । 

सिमेन्ट, फलाम (रड), जस्तापाता, इट्टा, गिट्टी, ढुंगा र बालुवामा भने नेपाल आत्मनिर्भर बनिसकेको छ । उद्यपी औपचारिक रुपमा तथ्यांक दस्ताबेजिकरण भने हुन सकेको छैन । आगामी वर्षमा औपचारिक रुपमा नै यी बस्तुहरुमा मूलुक आत्मनिर्भर भएको घोषणा गर्ने विभागको तयारी छ ।

यसका अलवा चिनीमा पनि नेपाल आत्मनिर्भर नजिक छ । बार्षिक २ लाख ५० हजार टन चिनीको माग रहेपनि नेपालको आन्तरिक उत्पादनले १ लाख ६० हजार टन माग मात्रै पूरा गर्दै आईरहेको छ । नेपालमा रहेका ३२ वटा चिनी मीलमध्ये ११ वटा मात्रै बर्षमा १ सय दिनसम्म चल्छन् । तर सबै मील पूर्ण क्षमतामा चलाउने वातावरण बनेको खण्डमा नेपाल चिनीमा आत्मनिर्भर बन्ने विभागको विश्वास छ । 

यस बाहेक कुखुराको मासु, अण्डा, दूध, चाउचाउ, जुत्ता चप्पल, चिया, कफी, अलैँची, पश्मिना, धागो, जुट, गलैँचा, ड्राइफरको आन्तरिक उत्पादन बढाएर बाहिरबाट ल्याउनुपर्ने बाध्यता हटाउने अभियानमा विभाग छ । तरकारी र फलफूलसँगै मदिराजन्य उद्योगमा नेपाल आत्मनिर्भरको चरणमा रहेको विभागले जनाएको छ । 

अन्तर निकाय समन्वय गर्दै योजनालाई पूर्णता दिन लागि पर्नुपर्ने आवश्यकता रहेको विभागका सूचना अधिकारी खड्का बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved