प्राइम कमर्शियल बैंक र ओम डेभलपमेन्ट बैंक बीच अघोषितरुपमा लिगलिगे दौड देखिएको छ| अलग-अलग अस्तित्वमा रहेर संचालन हुँदै आएकोमा ओम प्राइममा विलय हुनका लागि सहमति पश्चात अहिले ओमको कारोबार रोक्का छ| यी दुई बैंकबीच एकप्रकारको प्रतिष्पर्धा जस्तै देखिएको छ | अहिले विलय हुने क्रममा पनि प्रतिष्पर्धा नै देखिएको छ | यी दुइ बैंक बीच देखिएका केहि समानता र असमानताको संक्षिप्तमा चर्चा गरिन्छ |
प्राइम बैंक
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त प्राइम बैंकले चुक्ता पूँजी बढाउन केन्द्रीय बैंकले निर्देशन दिएपछि २५ प्रतिशत मात्र हकप्रद जारी गरेको थियो बाँकी अपुग पूँजीको लागि बनेपामा रहेको कन्ट्री डेभलपमेन्ट र विराटनगरमा रहेको विराटलक्ष्मी विकास बैंकलाई विलय गरेको थियो | विराटलक्ष्मीमा पहिले नै संखुवासभामा रहेको खाँदबारी विकास बैंक गाभिएको थियो | यस हिसाबले अहिलेको प्राइम बैंक ३ वटा स-साना बैंकको समिश्रणबाट बनेको हो | बैंकिंग क्षेत्रमा राम्रै छाप छोडेको प्राइम बैंकले अहिले ओम बैंकलाई विलय गराउने अर्को सहमति गरेर पश्चिम गण्डकी क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ मजवुत बनाउन खोजेको अनुमान गर्न सकिन्छ | पूर्वमा राम्रै स्थान लिएको विराटलक्ष्मीको विलयले प्राइमलाइ त्यसतर्फ आफनो उपस्थिति बढाउन मद्दत पुगेको विश्लेषण गरिन्छ | ओमलाई विलय गराउन खोज्नुको कारण पश्चिम क्षेत्रको बजारमा आफ्नी कमजोर उपस्थितिलाई मजबूत गराउनु अहिलेको विलय सहायक सिद्ध हुनसक्ने अनुमान गर्दा असंगत हुन्न |
ओम बैंक
पश्चिमाञ्चलको उर्वरा भुमि पोखराबाट उदाएको यो बैंक अहिले राष्ट्रियस्तरको विकास बैंकको रुपमा स्थापित भएको छ | यसमा पनि प्राइममा झैँ ३ वटा संस्थाको समिश्रण पाइन्छ | राष्ट्रियस्तरको साविकका ओम फाइनान्स र सिटी डेभलपमेन्ट बैंकको समिश्रण पश्चात राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंक बनेको थियो | नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई २ अर्व ५० करोड चुक्ता पूँजीको सिमा तोकेपछि यसले गोरखामा रहेको ३ जिल्ले मनासलु विकास बैंकलाई गाभेको थियो | यसरी ओममा पनि ३ वटा संस्थाको समिश्रण हुन पुगेको थियो | ओमले नपुग चुक्ता पूँजीको लागि प्राइम भन्दा अलिकति बढी ३० प्रतिशत हकप्रद माग गरेको थियो |
संयोग वा योजनावद्ध ?
प्राइम र ओमका प्राय सबै गतिविधि (गाभ्ने/विलय, हकप्रद लाभांश) उस्तै उस्तै हुनुलाई अनौठो संयोग नै मान्नुपर्ने हुन्छ | पछिल्लोपटक ओम विलय हुने तयारीमा लाग्दा पनि यो दुइ बैंकबीच अनौठो अर्को संयोग वा प्रतिष्पर्धा देखिएको छ | धेरैले सोचेका थिए यसपटक प्राइम र ओम दुबैले नगद लाभांश घोषणा गर्नेछन तर सोचेको विपरित यी दुवै बैंकले बोनस लाभांश घोषणा गरेका छन् | प्राइमले १६ प्रतिशत बोनस लाभांश घोषणा गरेको केहि समय पश्चात ओमले पनि १२.७० प्रतिशत बोनस लाभांश घोषणा गरेको छ |
ओभर क्यापिटलाइजको मार
सार्वजनिक नगरिए पनि बाहिर आएको समाचार अनुसार ओम बैंक प्रतिकित्ता ८० रुपैयाँमा प्राइममा विलय हुन लागेको छ | यसको मतलव ओम बैंकको १०० कित्ता शेयर हुनेले प्राइम बैंकको ८० कित्ता शेयर प्राप्त गर्नेछन् | ओमका शेयरधनीले प्राप्त गर्ने ८० कित्ताको पाटो एउटा होला तर केन्द्रीय बैंकले तोकेको पूँजी पुगेर एउटा स्वरूप ग्रहण गरेर अगाडी बढिरहेको बैंकले शेयरधनीको कित्ता बढाईदिने मोहमा लागि पर्नु घातक हुनसक्छ भन्ने कुरालाई हृदंगम गर्नुपर्ने थियो कि थिएन प्रश्न टड्कारो बनेको छ | प्राइम बैंकको हालको चुक्ता पूँजी ८ अर्व ३ करोड रहेको छ | १६ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पूँजी ९ अर्व ३१ करोड पुग्नेछ भने ओमको चुक्ता पूँजी २ अर्व ८२ करोड पुग्नेछ | एकीकृत प्राइम बैंकमा ओमको २ अर्व २५ करोड पूँजी थप हुनेछ र यसरी प्राइमको चुक्ता पूँजी ११ अर्व ५६ करोड नाघ्नेछ| सम्भवत नेपाल इन्भेष्टमेन्ट बैंकपछिको सबैभन्दा धेरै पूँजी भएको दोस्रो बैंक बन्नेछ |
ओमको २३ अर्व र प्राइमको ७६ अर्व समेत जोड्दा एकीकृत बैंकको झन्डै १ खर्व निक्षेप हुनेछ | त्यस्तै कर्जा परिचान तर्फ ९३ अर्व हुनेछ | जगेडा तथा कोषको आकार बढेर ५ अर्व पुग्नेछ | तर यो तथ्यांकमा प्राइम बैंकको आश्विन मसान्तपौष मसान्तमा प्राइम बैंकले प्रकाशन गर्ने दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन पश्चात केहि फरक पर्ने सक्नेछ |
यी दुबै बैंकले अहिलेसम्म आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा सम्पन्न गरेका छैनन् | यिनको साधारणसभा कहिले हुन्छ भन्ने पनि अहिलेसम्म कुनै जानकारी समेत गराएका छैनन् |