Announcement IPO Result Cricket Worldcup



निरोज कुमार थापा     Mar 28, 2019 | 02:33:46 PM



shivam cement

पशुपतिनाथ मन्दिरको आम्दानी १८ करोड नाघेको छ । मन्दिर दर्शनमा आउने भक्तजनले चढाएको भेटीबाट मात्रै मन्दिरको आम्दानी झण्डै २० करोडको हाराहारीमा पुगेको हो । 

हाल मन्दिरमा दैनिक एक सय पचास देखी दुई सय वटासम्म विशेष पूजा हुने गर्दछन । श्रावण महिना र शिवरात्रीमा यो संख्या अत्याधिक बढ्छ । यसरी मन्दिर परिसरमा विशेष पूजा गरेवापत मन्दिरलाई पैसा तिर्नुपर्छ । पूजाको प्रकृति अनुसार फरक फरक शुल्क लाग्ने गर्दछ । 

कसरी भयो आम्दानी ? 

पशुपतिनाथ मन्दिरमा वर्षभरीमा २६ हजारवटासम्म विशेष पूजा हुने गर्दछन् । विशेष पूजाको लागी बैंकमा पहिले नै पैसा तिनुपर्छ । एउटा पूजाको एक हजार एक सयदेखी २५ लाखसम्म शुल्क छ । एघार हजारसम्मका पूजाका लागी भने जुन दिन रसिद काट्यो त्यही दिन पूजा गर्न पाईन्छ । तर एघार हजारभन्दा माथिका शुल्क लाग्ने, जस्तै लाख वत्ति बाल्ने लगायतका पूजाका लागी भने विशेष तयारी गर्नुपर्ने भएकाले दुई दिन अगावै रसिद काट्नुपर्ने हुन्छ ।

२०६८ सालमा पशुपति मन्दिरको व्यवस्थापन र भेटीघाटीका सम्बन्धनमा नियमावली बन्यो । यो नियमावली नबन्दासम्म भने मन्दिरमा भेटी, विशेष पूजा लगायतबाट संकलन भएको रकम पूजारी, भण्डारी र भट्टहरुले नै लिँदै आएका थिए । तर नियमावली बनेपछि भने उनीहरुलाई तलबमा राखियो र मन्दिर नाफामा गयो । नियमावली बनेपछि मन्दिरको भेटी दैनिक संकलन गर्ने काम सुरु भयो । 

भेटीघाटीबाट उठेको पैसा दैनिक रुपमा मुचुल्का उठाएर नेपाल एसबिआई बैंकमा जम्मा गर्न थालियो । यो बैंकको शाखा मन्दिर परिसरमै राखिएको छ । हाल मन्दिरको भेटीबाट मात्रै संकलन भएको १८ करोडभन्दा बढी रकम बचत छ । यसवर्षको भने भर्खरै अडिड सकिएको छ । सबै हिसाब गर्दा बचत रकम झण्डै २० करोड पुग्ने पशुपति क्षेत्र विकास कोषको अनुमान छ ।

हाल मन्दिरबाट वार्षीक कुल १२ करोड आम्दानी भईरहेको छ । विशेष पूजाबाट सात करोड र भेटीबाट पाँच करोड आम्दानी हुन्छ । यो पैसाबाट सबै खर्च कटाउँदा वार्षीक करिब तीन करोड बचत हुन्छ ।

मन्दिरको भेटीबाट संकलन भएको रकम मन्दिरका पूजारी, भण्डारी, भट्टको तलबभत्ता बाहेकमा खर्च गर्न नपाईने कानुनी प्रावधान छ । बचत भएको रकम के मा खर्च गर्ने भनेर परिषद्ले नीति बनाउनेछ । नीति बनाउँदा मन्दिरलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ ।

पूजारी कति ?

पशुपतिनाथ मन्दिरको पूजामा दक्षिण भारतीय भट्टहरु रहने परम्परा छ । त्यसमा मूल भट्ट एक जना र तीन जना सहायक भट्टहरु पशुपतिको मूल मन्दिरमा र बासुकीमा एक जना भट्ट रहन्छन् । भट्टहरु फरक फरक गोत्रका हुन्छन् । उनीहरुलाई एक अर्काको जुठो (मृत्यु हुँदा १३ दिनसम्म नुन खान नहुने चलन) लाग्दैन । 

पशुपतिनाथ मन्दिरमा चलनचल्तीमा रहेका सुन चाँदीका गरगहनाको रेखदेख गर्न भण्डारीहरु रहने परम्परा छ । उनीहरुले मन्दिरको सम्पत्तिका रुपमा गहना बाहेक कसैले चढाएका गरगहनाको उचित्त व्यवस्थापन गर्नुपर्नेछ । हाल मन्दिरमा सय जना भण्डारीहरु छन् । भण्डारी पनि फरक फरक वर्गका हुन्छन् । भण्डारीहरुलाई चार भागमा वर्गीकरण गरिएको छ । यसलाई कवल भनिन्छ । सामान्यतय एउटा कवलको पालो चार महिनामा एक पटक आउँछ । 

भण्डारी हुनका लागी धेरै प्रावधान छन् । चार किल्ला भित्र जन्मेको हुनुपर्ने, पहिला भण्डारी भएको परिवारको जेठो सन्तान (छोरो) हुनुपर्ने लगायतका प्रावधान छन् । यसरी भण्डारीको लाइनमा रहेकाको संख्या अहिले १०८ छ । उनीहरु आ–आफ्नो पालोमा मन्दिर आउँछन् र काम गर्छन् । काम गरेको समयको मन्दिरले केही पैसा दिन्छ, अघिपछिको भने दिँदैन ।

चढाएका गरहगना के गरिन्छ ?

पशुपति मन्दिरमा भक्तजनले चढाएका सुनचाँदी लगायतका गहनाको पनि दैनिक मुचुल्का हुन्छ । पशुपति क्षेत्र विकास कोषको एउटा संयन्त्र छ । कोषका विभिन्न शाखाका प्रमुखहरु, प्रहरी लगायतले मुचुल्का बनाएर यति गहना संकलन भयो भनेपछि विषकनाइकेलाई बुझाइन्छ । विषकनाइके भनेको परम्परागत रुपमा सम्पत्ति संरक्षण गर्ने अधिकृत हो । 

कोषले सधैभरी एउटा व्यक्तिको जिम्मामा यसरी सम्पत्तिको जिम्मा दिनु उपयुक्र्त नभएको मनशाय पनि व्यक्त गरेको छ । कोषका सुचना अधिकारी प्रेमहरि ढुंगानाका अनुसार अब भक्तजनले चढाएका हाल संरक्षण गरेर राखिएको गहना जाँच गर्ने र जाँच्दा जति कायम हुन्छ त्यतिमै अन्तिम टुङ्गो लगाएर सुन भए सुनको सिक्का र चाँदी भए चाँदीको इट्टा बनाएर राख्ने गरि छलफल भईरहेको छ । 

तत्काललाई यसरी चढाईएका गहनालाई पैसासँग सट्टापट्टा गरेर अन्यत्र खर्च गर्ने कोषको योजना छैन । मन्दिरको छानामा लगाइएको सुन घटेपछि यसरी पूजा गर्न आएकाले चढाएको सुन संकलन गरेर छानामा थप्ने लगायतका प्रयोजनमा खर्च गर्ने कोषको तयारी छ । नागरिकले चढाएका जिन्सी सामान जिन्सीकै रुपमा मन्दिरमै बसोस् भन्ने कोषको दृष्टिकोण छ ।

Share your thoughts!

निरोज कुमार थापा

Reporter









Close in 7