मध्यराती ठमेल पुग्दा !

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 07, 2019 | 11:17:33 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानी काठमाडौँमा २४ घण्टा नै खुल्ला हुने बजार हो ‘ठमेल’ । व्यापारिक प्रयोजनका लागि यो क्षेत्र सधैँ खुल्ला रहन्छ । विशेषगरी पर्यटकलाई मनोरञ्जनका लागि खुल्ला गरिएको बजार क्षेत्र रात परेपछि निकै ब्यस्त हुन्छ । दिनको तुलनामा रातमा दोगुणा अझ बढी ब्यस्त हुने यो क्षेत्र मनोरञ्जन पारखीको गन्तव्य हो ।

कथा सुरुः

असार २० गते शुक्रबार बेलुका गुरुङ दाई (इन्यिन आर्मीका रिटाएर) को घरमा सामान्य जमघट थियो । जमघटमा गुरुङ दाई आफू घरको विभिन्न कोठा घुमाउँदै थिए आगन्तुक साथीहरुलाई । उनको जीम गर्ने कोठा, पाहुना कोठा र बैठक कोठा निकै लोभलाग्दा थिए ।
राम्रै पेन्सन थाप्ने गुरुङ दाई प्रत्येक शुक्रबार आफ्ना साथीलाई बोलाउँछन् र ४/५ हजार खर्च गर्छन् । सो दिन पनि गुरुङ दाईले यस्तै रमाईलोका लागि साथीलाई बोलाएका थिए । निकै पुरानो ब्ल्याक लेवल, ८८४८, टुवोर्ग वियर लगायतका नशालु पेय पदार्थमा रमाउनमा माहिर दाजुले सबै पिउने कुरा जम्मा पारेका रहेछन् । सामाखुशी चोकबाट २ किलोमिटर भित्र बस्ने दाजु आफू थोरै पिउने र साथीलाई चाहेसम्म पिलाउने गर्छन् ।

ठमेल तिरः

गुरुङ दाईको कोठमा बसेर मस्त पिएपछि एक हुल साथीहरु ठमेलमा दोहोरी गीत गाउन जाने भनेर तम्सिए । मस्त पानी परेको रात ट्याक्सी चढेर हामी ठमेल आइपुग्यौँ ।

सञ्चय कोषको कार्यालय अगाडी दुई वटा दोहोरी साँझ/रोधी घर छन्, गामवेशी र पोखरा । यी दुई दोहोरीबीचको दुरी १०० मिटर मात्रै हो । पोखरा दोहोरीबाट अलिकति अगाडी बढेपछि इभिजा डान्स बार पुगिन्छ । शुक्रबार टिकटको मूल्य अलि महङ्गो हुन्छ । सामान्यतयाः २७ सय प्रति टिकटको मूल्य भएपनि शुक्रबार ४४ सय थियो ।

एकछिन वरीपरिको पर्यावरण नियाल्यौँ । युवा र युवतीहरु मस्त गफमा थिए । वारपार ट्याक्सीले भरिएको थियो । प्रहरीका गाडी पनि थिए । व्यवसायी र प्रहरीहरु पनि आ–आफ्नै गफमा थिए ।

पुरुषहरु स्त्री र स्त्रीहरु पुरुषको खोजिमा थिए । जवानीको मोलमोलाई चलिरहेको थियो । विदेशी पनि नेपालीसँगै मस्किदै थिए । सबै जसो व्यक्तिको हात धुँवाले पुतपुताई रहेको थियो ।

नाङ्ले व्यापारी

इभिजाबाट हामी दोहोरी छिर्ने मनशायले फर्कियौँ । फर्किदा सञ्चय कोषको गेटैमा नाङ्लोमा व्यापार गरिरहेका व्यापारीहरु लहरै उभिएका थिए । उनीहरुलाई वरिपरीको माहोलको कुनै प्रवाह थिएन । मैले एकिछन कुरा गर्ने प्रस्ताव गरे ।

धादिङका महेश्वर तामाङ ३ वर्षदेखि यसरी नाङ्लोमा व्यापार गर्दै आएका छन् । २७ वर्षका उनी सोह्रखुट्टे बस्छन रे । परिवारमा ६ जना रहेछन् । बा, आमा, श्रीमति, दुई छोरा एक छोरी । छोरीलाई पढाउन सकिन भन्छन् । तर दुवै छोरा ९/९ कक्षामा पढ्दा रहेछन् ।

५ महिना अघिदेखि महेश्वरले श्रीमति दुर्गालाई पनि आफूसँगै ल्याउन थालेका छन् । अहिले दुवै जना रातभरी व्यापार गर्छन् । दिउँसो ठमेलमा फुटपाथ व्यापार गर्न पाईदैन । रातमा कसैको डर हुँदैन रे । ‘सबै सभ्य मान्छे नै आउने हुन्, अहिले पहिले जस्तो छैन ठमेल’ महेश्वरले भने, ‘सम्पत्ति भएका नै आउने ठाम हो, हाम्रो त के व्यापार हुनु ? चुरोट र गुट्खा यसो बेच्ने हो ।’

उनका अनुसार ३ वर्ष पहिला ठमेलमा दिनहु झगडा हुन्थ्यो रे । अहिले झगडा हुँदैन । मानिसहरुले हाम्रै रमाइलोका लागि यो ठाउँ खुल्ला गरिएको हो भन्ने बुझेका कारण झगडा हुन कम भएको उनको अनुभव छ ।

एक पटकमा ३५ सयको सामान किन्छन रे उनी होलसेलबाट । त्यो सामान सकिन ४/५ दिन लाग्ने उनी सुनाउँछन् । ‘ठूला व्यापारी भए पो होलसेलले पनि उधारोमा दिन्छ, कमाउँदै तिर्नु । अब हामी त जाबो नाङ्ले न परियो, नगद नै टक्र्याउनु पर्छ’ उनले भने ।

दिनमा श्रीमति र आफ्नो गरेर ५ सय जति नाफा त हुन्छ रे । यसैको भरमा परिवार पालेका छन् । श्रीमति दिउँसो घरमै बस्छिन्, उनी भने ठमेलमै भारी बोक्न पनि हिड्छन् । भारी बोकेर १/२ सय कमाउँछन् पनि । यसरी उनको दिनचर्या चलिरहेको छ ।

ठमेलका विषयमा नराम्रो कुरा भन्दा महेश्वर रिसाउँछन् । पेशेवर यौनकर्मीको अखडा भनेर ठमेललाई चिनिन्छ । तर उनले ठमेलमा नाङ्ले दोकान थापेर परिवार पालेका छन् । ‘म सुन्छु कहिले ठमेललाई अब राती बन्द गर्ने रे भन्छन्, कहिले बार चल्न नदिने भनेको पनि सुन्छु’ उनले भने, ‘म जस्ता नाङलो बोकेर रातभरी रुगेँर बिहान सय रुपैयाँ बोकेर फर्किने धेरै छन्, यसैले हाम्रो गुजारा चलेको छ ।’

जोसुकै जस्तासुकै मान्छे आएपनि उनलाई मतलब छैन । आएर एउटा खिली चुरोट खाईदिए हुन्थ्यो भन्ने मात्रै चाहा हो उनमा । निकै धनी मानिस आए भने रेडबुलसम्म किनिदिन्छन् । रातको सिरेटोमा र झमझम दर्कने पानी दर्किएको बेला चुरोट खोज्दै आउनेलाई उनले एउटा खिलिको २० रुपैयाँ लिँदा रहेछन् । जति धेरै बजार ब्यस्त हुन्छ, त्यति नै २/४ पैसा बढीको सामान विक्रि हुन्छ कि भन्ने आश लाग्छ ।

यसरी आशै आशमा ठमेलको गल्ली कुरेर बस्ने कयौँ छन् । जसलाई रातमा हुने ठमेलका धन्दाले कुनै प्रवाह गर्दैन । केवल प्रत्येक दिन एक रुपैयाँ बढीको व्यापार भईदिए हुन्थ्यो भन्ने मात्रै ध्याउन्न छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved