पछिल्लो समय अवार्डको नाममा ठगि धन्दा बढिरहेको छ। यहि क्रममा एउटा कम्पनीले कोरियामा अवार्ड गर्ने भन्दै दर्जनौं व्यक्तिबाट लाखौँ रुपैयाँ असुल गरेको पाइएको छ।
हिमालयन नेपाली इभेन्ट्स नामक कम्पनीले दक्षिण कोरियामा नेपाली लोक संगित अवार्ड २०१९ आयोजना गर्ने भन्दै कलाकार र गैर कलाकारसमेत गरि साढे दुई दर्जन भन्दा बढी ब्यक्तिबाट लाखौं रकम असुलेको प्रमाण बिजपाटीलाई प्राप्त भएको छ।
कम्पनीले २०१९ सेप्टेम्बर १४ तारिखमा कोरियाको सीयोलमा अवार्ड वितरण कार्यक्रम गर्ने भन्दै प्रतिव्यक्ति साढे दुई लाख सम्म उठाएको देखिएको छ। तर तोकिएको समय सकिएको दुई दिन वितिसक्दा समेत कार्यक्रमको अत्तोपत्तो नहुँदा पैसा बुझाएकाहरु ठगिएको भन्दै बिभिन्न सरकारी निकाय धाउन थालेका छन।
कार्यक्रम हुने नहुने भन्नेबारे केहि पनि जानकारी समेत नभएकाले न्याय खोज्दै बिभिन्न निकाय धाएको पैसा बुझाउने मध्येका एकजनाले बिजपाटीलाई बताएका छन।
यस्तै आयोजक 'हिमालयन नेपाली इभेन्ट्स' ले दुई समुह बनाएर कोरिया लैजाने र केहि कलाकारको नाममा गैर कलाकारलाई उतै लुकाउने योजनामा कार्यक्रम आयोजना गर्न खोजिएको अध्ययनले देखाएको छ।
कलाकारको नाममा भिसा सहजै आउने र कलाकारको नाममा गैरकलाकारलाई कोरीया लैजानको लागि चलखेल गर्दा आयोजक टिमले कार्यक्रम गर्न असफल भएको स्रोतको दाबि छ।
सरकारी लोगो र पदको दुरुपयोग
आयोजकले केही समय अगाडी नेकपाका सांसद तथा युवा नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरेर सेप्टेम्बर १४ तारिखमा अवार्ड वितरण गर्ने बताएको थियो। आयोजकले पुर्व उद्योगमन्त्री समेत भएका नेकपाका शक्तिमा रहेका नेता बस्नेतलाई देखाएर कार्यक्रममा आकर्षण बढाउँन खोजेको देखिन्छ। आयोजक संस्थाका प्रमुख सविन घिसिङले पनि फेसबुक स्टाटस मार्फत सेप्टेम्बर १४ तारिखमा अवार्ड वितरण हुन लागेको बताएको थिए।
कार्यक्रम आयोजनाको लागि भन्दै आयोजकले संकृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालय र नेपाल पर्यटन बोर्डबाट शुभकामना सन्देश लिएर मन्त्रालयले पनि शुभकामना दिएको भन्दै सहभागिहरुबाट बढी भन्दा बढी रकम असुल गरेको छ। आयोजकले नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्ने भन्दै नेपाल भ्रमण बर्ष २०२० को लोगो प्रयोग गरेको छ। यद्दपी लोगो प्रयोग गर्न कुनै अनुमति नदिएको टुरिजम बोर्डले जनाएको छ।
कार्यक्रममा सहभागि हुन भन्दै पैसा तिरको एक कलाकारले भने कम्पनीले भिसाको लागि अप्लाई गरेको लिस्टमा आफ्नो नाम नै नरहेको भन्दै आयोजकलाई किन नाम नहालेको भन्दै प्रश्न गरेका छन। १३ गते कोरिया उड्ने भनेपनि अहीले समय लाग्छ भनेको उनले बताएका छन। आयोजकबाट दुबई थाइल्याण्ड गएजस्तो होइन, कोरियाको भिसा आउन समय लाग्छ भन्ने जवाफ दिएको उनीहरुको भनाई छ। बताउने गरेको उनको भनाई छ ।
कम्पनीले १४ र १५ सेप्टेम्बरमा अवार्ड आयोजना गर्ने भनेर प्रचार गरेको थियो। तर त्यहाँको यस कार्यक्रममा सहभागी हुनेहरु सेप्टेम्बर १७ देखि १९ मा कोरिया भ्रमण गर्ने भन्ने कुरा त्यहाँको एक ट्राभल कम्पनीले पठाएको चिठीमा देखिएको छ। यसले आयोजकले अवार्डको नाममा गैरकलाकारलाई समेत कोरिया लगेर उतै राख्ने मनसाय देखिएको खुल्न आएको छ।
के भन्छ आयोजक
आयोजक संस्थाका प्रमुख सविन घिसिङसँग कुरा गर्दा आफुले जति सक्दो चाँडो कार्यक्रमको मिति तय गर्ने बताएका छन। कार्यक्रमको मनोनयनमा ३० जना परेको र जति जनाको भिसा लाग्छ त्यतिलाई लगेर कार्यक्रम सम्पन्न गर्ने उनको भनाई छ।
यस्तै अवार्डको लागि भनेर आफुले कोही पनि कलाकारसँग पैसा नलिएको घिसिङको दाबि छ। तर पैसा लिएको प्रमाणबारे कुरा गर्दा उनले यस बिषयमा कुरा गर्न चाहेनन।