ब्ल्याक इकोनोमीलाई छायाँ अर्थतन्त्र, कालो अर्थतन्त्र, अनौपचारिक अर्थतन्त्र आदि नामले चिनिन्छ । संसारभर यसको चर्चा कुनै न कुनै रुपमा हुने गरेको छ । कालो अर्थतन्त्र र त्यसको परिभाषा भित्र पर्ने गतिविधिमा संलग्न भएकै कारण कतिपय व्यक्ति अन्जानमै कानुनी कारबाहीको भागीदार हुनुपरेका उदाहरण समेत पाइन्छन् ।
बेलाबखतमा अर्थविद्हरुले समकालीन नेपाली अर्थतन्त्र उपभोगमुखी भएको र छायाँ अर्थतन्त्रको दबदबा बढ्दै गएको चिन्ता प्रकट गर्ने गर्दछन् । नेपालको अर्थतन्त्रमा अनौपचारिक अर्थतन्त्रको हिस्सा कति छ ? भन्ने प्राविधिक प्रश्नको उत्तर खोज्नु भन्दापनि ब्ल्याक इकोनोमी केहो भन्ने बुझ्नु आवश्यक छ ।
कुनैपनि देशको कर र नियमन प्रणालीभन्दा बाहिरबाट सञ्चालन हुने आर्थिक क्रियाकलापको समष्टिगत रुप नै कालो अर्थतन्त्र हो । यस्तो गतिविधि गैरकानुनी रुपमा वा कानुनको दायराभित्रबाटै पनि सञ्चालन भएको हुनसक्छ । कालो अर्थतन्त्रसँग व्यक्ति जोडिनुको मूल उदेश्य गैरकानुनी कारोबार सञ्चालन गर्नु वा करप्रणालीलाई बाईपास गर्नु हो ।
उदाहरणको लागि कुनै खर्च वा आम्दानी अनौपचारिक रुपमा व्यवस्थापन गर्ने, त्यसको अभिलेख नराख्ने, कर नतिर्ने, अनौपचारिक माध्यमको प्रयोग गरी रकम भुक्तानी, स्थानान्तरण गर्ने लगायतका क्रियाकलाप कालो अर्थतन्त्रमा पर्दछन् ।
कालो अर्थतन्त्रलाई ४ भागमा विभागजन गरेको पाइन्छ । गैरकानुनी, प्रतिवेदन प्रणालीबाहिरको, अभिलेख नराखिने र अनौपचारिक अर्थतन्त्र । उल्लेखित ४ वर्गमा पर्ने कुनैपनि आर्थिक क्रियाकलाप कालो अर्थतन्त्रको हिस्सा हो ।