घरको बीमा गर्न कति शुल्क लाग्छ, के के चाहिन्छ कागजात ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 11:28:55 AM मा प्रकाशित

भविष्यमा हुनसक्ने कुनैपनि क्षति तथा नोक्सानीको असर कम गर्नको लागि बीमा गरिन्छ। विभिन्न खालको बीमा मध्ये सम्पति बीमा अन्तर्गत घर बीमा गर्न सकिने व्यवस्था छ । 

 नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त कुनै पनि निजिर्वन बीमा कम्पनी मार्फत आफ्नो घरको बीमा गर्न सकिन्छ ।  हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनीहरु छन् । 

कसरी गर्ने घरको बीमा ?

 घर बीमा गर्नु पूर्व निर्जीवन बीमा कम्पनी छनौट गर्नु पर्ने हुन्छ । सो कम्पनीको नजिकैको शाखामा गएर वा घरैमा कम्पनीका प्रतिनिधी(कर्मचारी)लाई बोलाएर आफ्नो घरको बीमा गर्न सकिन्छ । घरको बीमा गर्दा सो घरको लालपुर्जा, घरधनीको नागरिकता, प्यान कार्ड सक्कल देखाउनु पर्नेहुन्छ । र सो कागजातको एक÷एक सेट नक्कल(फोटोकपपि) कम्पनीलाई बुझाउनु पर्ने हुन्छ ।  

त्यसपछि, कम्पनीले बीमा गर्नुपर्ने घरको मुल्यांकन गर्दछ । यदि सो घरको मुल्यांकन कुनै पनि बैंकले पहिला नै गरिसकेको भए सो मुल्यांकनलाई नै बीमा कम्पनीले आधार मान्दछ । सो मुल्यांकन रकमसम्मको बीमा गर्न सकिन्छ । यदि कुनैपनि बैंक तथा बीमा कम्पनीले घरको मुल्यांकन एक करोड रुपैयाँ तोक्यो भने सो रकम भन्दा बढी रकम हुने गरि उक्त घरको बीमा गर्न मिल्दैन । 

घर बीमा गर्दा कति लाग्छ खर्च ?

घरको बीमा एजेन्सी मार्फत र ब्यक्तिगतरुपमा गर्न सकिन्छ । एजेन्सी मार्फत गर्दा तिर्ने प्रिमियम ५ प्रतिशत महंगो पर्दछ । सिधै बीमा कम्पनीबाट गर्दा ५ प्रतिशत छुट पाईन्छ । बीमा प्राधिकरणका अनुसार कुनैपनि आवसीय घरको बीमा गर्दा सो घरको मुल्यांकन रकमको अनुसार प्रिमियम तिर्नु पर्दछ । एक करोड रुपैयाँसम्मको आवसीय घरको प्रिमियम रेसियो एक हजारको ५० पैसा रहेको छ । यस्तै एक करोड रुपैयाँसम्म मुल्यांकन भएको व्यवसायिक घरको प्रिमियम रेसियो प्रतिहजार रुपैयाँमा ३ रुपैयाँ पर्ने गर्दछ । सो घरमा भएको व्यवसायको जोखिम्का आधारमा रेसियो थपघट हुने गर्दछ । 

उदाहारणका लागि यदि कुनै एउटा एक करोड रुपैयाँको आवासीय घरको एजेन्सी मार्फत बीमा गर्दा नर्मल प्रिमियम ५ हजार रुपैयाँ पर्न जान्छ ।  आफैले सिधै बीमा कम्पनीमार्फत गर्दा त्यस रकममा ५ प्रतिशत छुट हुन्छ । त्यो छुट घटाउँदा जम्मा प्रिमियम ४ हजार ७५० रुपैयाँ हुन जान्छ । जसमा २० रुपैयाँको स्टिकर र १३ प्रतिशत भ्याट जोडदा ५ हजार ३९० रुपैयाँ १० पैसा प्रिमियम तिर्नु पर्ने हुन्छ । 

यसर्थ एक करोड रुपैयाँको आवासीय घरको एक वर्ष अवधिको लागि बीमा गर्दा ५ हजार ३९० रुपैयाँ १० पैसा प्रिमियम पर्दछ । यसरी वार्षिक ५ हजार ३९० रुपैयाँ १० पैसामा एक करोड रुपैयाँको घरको बीमा गर्न सकिन्छ। अर्को वर्षको लागि भने फेरी नविकरण गर्नु पर्छ। 

दावी भुक्तानी 

बीमा गराएको घरमा यदि क्षति भइहाल्यो भने तुरुन्त बीमा कम्पनीलाई लिखित जानकारी गराउनुपर्ने हुन्छ । तत्काल लिखित जानकारी गराउन सम्भव नभएमा टेलिफोन, ईमेल तथा मौखिक र अन्य कुनै माध्यमबाट जानकारी गराउनु पर्ने हुन्छ । यसरी जानकारी गराएपनि सम्झव भएसम्म जति सक्दो छिटो लिखित जानकारी गराउनु पर्ने हुन्छ । 

यसरी जानकारी गराएपछि कम्पनीले सर्भेयर लाई सो क्षति भएको घरमा अध्ययनका लागि पठाउने गर्दछ । र सर्भेयरले कम्पनीलाई रिपोर्ट बुझाउँछ । सो रिपोर्टको आधारमा कम्पनीले बीमितलाई क्षतिपुर्ति वापतको दावी रकम भुक्तान गर्ने गर्दछ । उसो त बीमितले पनि पोलिसी खरिदगर्दा कम्पनीको तर्फबाट प्राप्त सबै कागजात कम्पनीमा पेश गर्नुपर्ने हुन्छ । कम्पनीले ३५ दिन भित्र दावी रकम भुक्तानी गर्नुपर्ने प्रावधान रहेको छ । 

 (शिखर ईन्स्योरेन्सको सहयोगमा)

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved