'पोखरामा भेन्टिलेटर बैंक'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 02:40:32 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ ।  हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको सो संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए । पालिखेले गम्भीर प्रकृतिका कुनै पनि बिरामी मर्न नपरोस् भनेर आफुहरुले भेन्टिलेटर जुटाउने अभियानमा लागेको बताए । “हामीले अहिले १० वटा भेन्टिलेटर तथा क्यानुला उपलब्ध गराउने लक्ष्य छ, हामीले २० वटा भेन्टिलेटर तथा क्यानुला उपलब्ध गराउन सक्ने छौ”, पालिखेले भने । 

उनका अनुसार पोखरामा ती साधन ‘स्टक’ राख्ने र जुन अस्पतालका बिरामीलाई आवश्यक पर्छ न्यूनतम शुल्कमा उपलब्ध गराइनेछ । सोको लागि सरकारीमा दैनिक भेन्टिलेटर प्रयोग गरेवापत एक हजार, सामुदायिकमा दुई हजार र निजी अस्पतालमा प्रयोग गरेवापत तीन हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसैगरी सरकारी अस्पातालमा दैनिक क्यानुला प्रयोग गरेवापत तीन सय, सामुदायिकमा पाँच सय र निजीमा सात सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसका लागि तालीम प्राप्त स्वास्थ्यकर्मी आवश्यक हुनेभएकाले आगामी शनिबार पोखरामा तालीम गर्न लागिएको सर्भिसका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिए। 

संस्थाको उक्त अभियानको लागि पोखराका विभिन्न सङ्घ संस्था तथा व्यक्तिले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उक्त अभियानमा पोखराका युवा व्यवसायी सुिनल गोशलीले एक लाख, नेपाल युवा उद्यमी मञ्चले दुई लाख, संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले एक लाख, होटल बाराहीका सञ्चालक विप्लव पौडेलले एक लाख र रोटरी इन्टरनेशनल क्लब ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले क्लबबाट एक लाख दिने घोषणा गरेका छन्। 

डा सरोज पोख्रेलले हाईफ्लो नोजल क्यानुलाको प्रयोगले भेन्टिलेटरमा लैजान नपर्ने अवस्थामा यसको प्रयोग निकै प्रभावकारी हुने भएकोले भेन्टिलेटर भन्दा पहिला यसको प्रयोग गर्दा कोरोनाका गम्भीर प्रकारका बिरामीलाई लाभ हुने बताए । रोटरीका गभर्नर किरणलाल श्रेष्ठले क्लबको पहलमा भेन्टिलेटरसहितको अन्य सामान खरिदमा ५० प्रतिशत छुट गराउने प्रतिबद्धता व्यक्त गरे । ‘प्रोटेवल भेन्टिलेटर’ ६ लाखमा भित्र्याउन सकिने  र मा गरेको दुई महिनासम्ममा भेन्टिलेटर पोखरामा ल्याउन सकिने उनको भनाइ थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved