इन्डोनेशिया निर्वाचनको मतगणनामा खटिएका २७० भन्दा बढी कर्मचारीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 06:18:29 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डोनेशियामा निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको छ । तीमध्ये अधिकांश थकाइसम्बन्धी समस्याबाट पीडित थिए । 

निर्वाचन आयोगका प्रवक्ता अरीफ प्रियो सुसान्तोका अनुसार अरू १८ सय ७८ कर्मचारी बिरामी परेका थिए । एप्रिल १७ मा भएको निर्वाचनको पर्यवेक्षण र मतगणना गर्न झन्डै ७० लाख व्यक्ति खटिएका थिए । 

उखरमाउलो गर्मी भएका बेला कर्मचारीहरूले राति पनि काम गर्नु परेको थियो । त्यसले धेरैलाई अस्वस्थ बनाएको अधिकारीहरुले बताएका छन् । झन्डै २६ करोड जनसङ्ख्या भएको इन्डोनेशियामा खर्च जोगाउन केन्द्रीय तथा क्षेत्रीय संसद् र राष्ट्रपतिको चुनावमा एकैदिन मतदान भएको थियो । 

त्यहाँ १९ करोड ३० लाख मतदाता थिए । आठ लाख मतदान केन्द्र रहेको इन्डोनेशियामा योग्य मतदातामध्ये ८० प्रतिशतले मतदान गरेका थिए ।

अधिकांश पीडितहरू अस्थायी कर्मचारी भएको बताइएको छ । काममा खटिनुअघि स्थायी कर्मचारीको जस्तो उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थिएन । 

निर्वाचन आयोगका प्रवक्ताका अनुसार २७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण समस्या उत्पन्न भएर मृत्यु भएको हो । आयोगले प्रत्येक मृतकको परिवारलाई तीन करोड ६० लाख रुपियाँ अर्थात् २५ सय अमेरिकी डलर क्षतिपूर्ति दिने भएको निक्केई एशियन रिभ्यूले जनाएको छ । त्यो रकम एक कर्मचारीको एक वर्ष बराबरको न्यूनतम तलब हुन्छ । 

राष्ट्रपति जोजो विदोदो र विपक्षी नेता प्रबोवो सुबियान्तो दुवैले निर्वाचन आफूले जितेको दाबी गरेका छन् । तर प्रारम्भिक गणनामा विदोदो अगाडी छन् । निर्वाचन आयोगले मतगणना सकिएपछि परिणाम मे २२ मा घोषणा गर्नेछ ।

(बिबिसीको सहयोगमा) 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved