स्पर्स लघुवित्तको आईपिओ: यस्तो छ कम्पनीको दाबी र वास्तविकता (विश्लेषण)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2019 | 12:31:58 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्श लघुवित्तले आज (फागुन २६ गते) देखि सर्वसाधारणलाई साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ।  कम्पनीले २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो।

लघुवित्तले निष्काशन गर्न लागेको सेयरमध्ये ४ हजार १ सय ४८ कित्ता कर्मचारीलाई , १३ हजार ४ सय ८२ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ। कम्पनीले बाँकि रहेको २ लाख ५२ हजार कित्ता सर्वसाधारणलाई बिक्रि गर्न लागेको हो। 

कम्पनीको शेयर बिक्रिको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १३ सय ४० कित्ताको लागि आवेदन दिन सकिनेछ। यस आईपिओमा छिटोमा फागुन २९ र सो समयसम्म सबै शेयर बिक्रि नभएमा ढिलोमा चैत्र २५ गतेसम्म आवेदन दिन सक्ने सकिनेछ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ३ गते शेयर निष्काशन गर्न अनुमति दिएको हो । 

कम्पनीले सुरुमा २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशनको माग गरेको थियो । तर पछि कम्पनीले त्यसमा २९ हजार ६ सय ३० कित्ता थप गरी कुल २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशनको अनुमति मागेको थियो ।   

हाल स्पर्शको चुक्ता पूँजी ५ करोड ६० लाख रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात ८ करोड २९ लाख पुग्नेछ। पोखरा महानगरपालिकामा मुख्य कार्यालय रहेको यस लघुवित्तले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ। स्पर्सको संस्थापकहरुमा  जनता बैंक , टुरिजम डेभलपमेन्ट बैंक तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन।

कम्पनीबारे 

नेपाल राष्ट्र बैंकबाट २०७४ साल आषाढ २३ गते ‘घ’ वर्गको वित्तीय कारोवार गर्न स्वीकृति पाएर सोहि महिनाको २९ गतेबाट औपचारिक कारोबार शुरु गरेको हो | कास्की, बाग्लुङ्ग, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखा गरि १० जिल्ला कार्यक्षेत्र जिल्ला रहेको छ | कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय कास्की जिल्ला, पोखरा महानगरपालिका, विजयपुरमा रहेको छ । 

कम्पनीले आव २०७४/०७५ मा ८ हजार ६ सय ६५ जना सदस्यहरुलाई वित्तीय सेवा दिएको उल्लेख गरेको छ | कम्पनीको जारी पूँजी, आवेदन मागिएको शेयर कित्ता सम्बन्धि विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ |

विषय  

विवरण

अधिकृत पूँजी

१० करोड

जारी पूँजी

८ करोड २९ लाख ६३ हजार

जारी हुने कित्ता

२ लाख ६९ हजार ६ सय ३० 

कर्मचारी आरक्षित

४ हजार १ सय ४८ कित्ता

सामुहिक लगानी कोष

१३ हजार ४ सय ८२ कित्ता

सर्वसाधारणमा आउने वास्तविक संख्या

२ लाख २५ हजार कित्ता

प्रतिशेयर नेटवर्थ (आव २०७४/७५)

रु. १००.३९ (व्यवस्थापनले प्रमाणित गरेको आव २०७५/७६ पौष मसान्त अनुसार रु. १०१.४९)

आवेदन खुल्ने मिति

२०७५ फाल्गुन २६ गते

आवेदन दिने अन्तिम मिति

छिटोमा फागुन २९

अधिकतम आवेदन गर्न सकिने कित्ता

१ हजार ३ सय ४० कित्ता

न्यूनतम आवेदन गर्न सकिने कित्ता

१० कित्ता

रेटिंग

क्रेडिट रेटिंग नियमावली अनुसार आवश्यक नपर्ने


पूँजीको उपयोग

कम्पनीले जारी गरेको प्राथमिक निष्कासनबाट प्राप्त हुने रकमलाई निम्न शीर्षकमा उपयोग गर्ने भएको छ |

पशुपालन तथा कृषि कर्जा

२ करोड

खुद्रा व्यापार र सेवा कर्जा

४० लाख

साना तथा घरेलु उद्योग कर्जा

२९ लाख ६३ हजार


नाफा-नोक्सान

कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ को परिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा २ करोड ९६ लाख व्याज आम्दानी र १ करोड ६८ लाख व्याज खर्च गरि १ करोड २८ लाख खुद व्याज आम्दानी गरेको छ | कर्मचारी र संचालनमा २ करोड १० लाख खर्च भएको छ | नोक्सानी व्यवस्था, कर्मचारी बोनस, आयकर कर लगायत पश्चात १ लाख १ हजार ८ सय २९ हजार खुद नाफा गरेको छ | परिष्कृत विवरण अनुसार कुल संचालन आम्दानीको ५० प्रतिशत भन्दा बढी रकम कर्मचारी खर्च गरेको छ | कुल संचालन आम्दानीको ८० प्रतिशत भन्दा बढी रकम कर्मचारी र संचालन खर्च गरेको छ | नोक्सानी व्यवस्था अघिको संचालन आम्दानी ४१ लाख ४८ हजार रहेको छ | नोक्सानी व्यवस्थातर्फ ३९ लाख ८८ हजार छुट्टयाएको छ | कम्पनीले संचालनको प्रथम वर्षदेखि नै खुद मुनाफामा गरेको विवरण देखाएको छ |

प्रक्षेपित नाफा-नोक्सान

संचालनको प्रथम वर्षदेखि नै खुद मुनाफामा रहेको कम्पनीको आगामी नाफा-नोक्सान सम्बन्धि विवरण अनुसार चालु आर्थिक वर्ष २०७५/७६ को अन्तसम्म १ करोड ४२ लाख खुद मुनाफा गर्ने अनुमान प्रक्षेपण गरेको छ | त्यस्तै आर्थिक वर्ष ७६/७७ मा २ करोड ७५ लाख र ७७/७८ मा ३ करोड ९० लाख खुद नाफा गर्ने प्रक्षेपण गरेको छ |

त्यस्तै प्रक्षेपित विवरण अनुसार चालु आर्थिक वर्ष २०७५/७६ मा ८.४८ प्रतिशतले पूँजी वृद्धि हुने उल्लेख छ | त्यस्तै आर्थिक वर्ष ७६/७७ मा २० प्रतिशत र आर्थिक वर्ष ७७/७८ मा २५ प्रतिशतले पूँजी वृद्धि हुने अनुमान पेश गरेको छ | यी सबै पूँजी वृद्धि बोनस शेयर मार्फत गर्ने प्रक्षेपण गरेको छ |

प्रक्षेपण र वास्तविकता

कम्पनीले प्रक्षेपण गरेका वित्तीय आधारहरुमा केहि असंगत कथन देखिन्छ | चालु आर्थिक वर्ष २०७५/७६ मा दिने भनिएको ८ प्रतिशतको बोनस शेयरको लक्ष्य पुरा हुने सम्भावना देखिन्न | पौष मसान्तसम्मको व्यवस्थापनद्वारा प्रमाणित वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रु. १.११ र प्रतिशेयर नेटवर्थ १०१.४९ रहेको छ | चालु आवको अन्तमा प्रतिशेयर आम्दानी रु. १५.८५ हुने प्रक्षेपण गरे पनि त्यो लक्ष्य पुरा हुन सक्नेमा संशय देखिन्छ |

पौष मसान्तसम्म ४ करोड व्याज आम्दानी गरि झन्डै ३ करोड व्याज खर्च गरेर १ करोड २२ लाख खुद व्याज आम्दानी गरेको देखिन्छ | कुल संचालन आम्दानी २ करोड १८ लाख देखिन्छ | पौष महिनामा कर्मचारी र संचालन खर्चमा ९० प्रतिशत भन्दा बढी खर्च भएको देखिन्छ | पौष मसान्तसम्म ६ लाख २१ हजार मात्र खुद मुनाफा देखिन्छ |

आषाढ मसान्तसम्म १० करोड ४८ लाख व्याज आम्दानी र ४ करोड ५५ लाख व्याज खर्च गरि ५ करोड ९३ लाख खुद व्याज आम्दानी हुने प्रक्षेपण गरिएको छ | व्याज आम्दानीको प्रक्षेपण हेर्दा स्वाभाविक जस्तो देखिए पनि व्याज खर्चको प्रक्षेपण भने त्यति स्वाभाविक देखिन्न | ४० प्रतिशत मात्र व्याज खर्च हुने भन्ने तथ्यलाई अगिल्लो ६ महिना (पौष मसान्तसम्म) को आधारमा हेर्दा अलि पत्यार गर्न सकिन्न | पौष मसान्तसम्म व्याज खर्च ७० प्रतिशत भन्दा बढी देखिएको अवस्थामा त्यसपछि ४० प्रतिशत मात्र व्याज खर्च हुन्छ भन्ने अनुमान अलि अपत्यारिलो हुन आउँछ | पौष मसान्तसम्म करिब ३ करोड व्याज खर्च गरिसकेको कम्पनीले बाँकी ६ महिनामा १ करोड ७० लाख मात्र व्याज खर्च हुने भनेर गरेको अनुमान त्यति सान्दर्भिक देखिन्न | संचालन र कर्मचारी खर्चमा पनि कमि आउने अनुमान पनि त्यति भरलाग्दो देखिएको छैन | यी केहि आधारमा कम्पनीले प्रक्षेपण गरेको लाभांशको लक्ष्य भने सहज पुरा हुनसक्ने अवस्था देखिन्न |

लगानी निर्णय

यो विश्लेषण कम्पनीले प्रकाशन गरेको विवरणपत्र, कम्पनीको वेवसाइट, अनौपचारिक जानकारी र अन्य प्रकाशित समाचारलाइ आधार मानेर पारिएको हो | यो विश्लेषणले लगानी गर्न वा नगर्न केहि भन्दैन | यो विशुद्ध अवधारणा मात्र हो | लगानी गर्नु अघि आफैले थप अध्ययन गर्न आवश्यक हुन्छ |


  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved