लोकतान्त्रिक गठबन्धनकाे नेतृत्वमा नयाँ सरकार !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 08, 2018 | 06:26:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ सरकार वाम गठबन्धनको नेतृत्वमा कि लोकतान्त्रिक गठबन्धनमा बन्ने बहस चलिरहेको बेला मधेसवादी दलको झुकाव लोकतान्त्रिक गठबन्धनतिर देखिएको छ । काँग्रेसका तर्फबाट लोकतान्त्रिक गठबन्धन नेतृत्वको सरकार बनाउने पहल भइरहेको बेला मधेसवादी दलका नेताहरूको अभिव्यक्ति पनि त्यस्तै आउन थालेको छ । काँग्रेस वाम गठबन्धन फुटाएर भए पनि सरकार बनाउने गृहकार्यमा लागेको देखिन्छ । त्यसका लागि सो दलका नेताले विभिन्न दलका नेतासँग आन्तरिक छलफल गरिरहनुभएको छ ।

मधेसवादी दल र काँग्रेस नजिक हुनुका कारण चुनावको समयमा भएको सहकार्य नै हो । यी दलहरूका बीचमा चुनावी तालमेल नभए पनि ठाउँठाउँमा घोषित रूपमा एकअर्कालाई सहयोग गरेको थियो तर वाम गठबन्धनसँग कुनै ठाउँमा त्यसरी तालमेल नभएका कारण मधेसवादी दल लोकतान्त्रिक गठबन्धनको नजिक रहेको विश्लेषण भइरहेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुपर्ने कुरामा जोड दिनुभयो । रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको कार्यक्रममा नेता झाले एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा प्रचण्ड मधेसप्रति उदार देखिनुभएकाले उहाँ नै प्रधानमन्त्री बन्दा राम्रो हुने धारणा राख्नुभएको थियो ।

उहाँ मात्र होइन, राजपा नेपालका अन्य नेताहरूले पनि काँग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष नै प्रधानमन्त्री बन्नुपर्ने धारणा राख्दै आउनुभएको छ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पुस १७ गते उहाँकै निवासमा गएर छलफल गर्नुभएको थियो तर महतो भन्नुहुन्छ, “त्यो सरकार गठनको विषयमा छलफल गर्न भेट भएको होइन । ” सरकार जसको नेतृत्वमा जुन गठबन्धनले बनाए पनि मधेसको समस्या समाधान हुनुपर्ने कुरा भन्न आफूले प्रचण्डलाई भेटेको अध्यक्ष महतोले दाबी गर्नुभयो । अध्यक्ष महतोले सरकार गठन होस् नहोस् आफूहरूको सरोकारको विषय नभएको बताउनुभयो ।

सरकार निर्माण गर्न जसले जनाधार पाएको छ, उसले हतार गरेको छैन भने आफूहरूले हतार किन गर्ने बताउँदै उहाँले सरकार वाम गठबन्धनको नेतृत्वमा बन्छ कि लोकतान्त्रिक गठबन्धनमा बन्छ, त्यसको कुनै टुङ्गो नलागेको अवस्थामा आफूहरूलाई हतार नभएको बताउनुभयो ।

राजपा नेपालका लागि संविधान संशोधन प्राथमिकताको विषय भएकाले सरकारका लागि चासो नलिएको बताउनुभयो । बबरमहलस्थित पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष मण्डलका सदस्य महतोले जसले सरकार बनाए पनि आफूहरूको पहिलो माग सविधान संशोधन नै हुने बताउनुभयो ।

अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवले चुनाव जितेर आएपछि आफूहरू प्राविधिक विषयमा व्यस्त भएको हुनाले सरकार निर्माणतिर कुनै ध्यान नगएको बताउनुभयो । उहाँले भन्नुभयो, “समानुपातिकलगायतका विषय टुङ्गो लागिसक्यो, अब कुनै दलसँग त्यस विषयमा कुरा हुनसक्छ । ” सरकार निर्माणको प्रक्रिया अहिले सुरु भए पनि फागुन मसान्तमा गएर मात्र हुने बताउँदै उहाँले सत्ता गठबन्धनका लागि दलका बीचमा कुनै गृहकार्य नभएको दाबी गर्नुभयो ।

सरकार निर्माणका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवैले गृहकार्य गरिरहेको उल्लेख गर्दै उहाँले हालसम्म आफ्नो दलको कुनै गठबन्धनसँग कुराकानी नभएको दाबी गर्नुभयो । सरकार प्रदेश प्रमुख तोक्ने र राष्ट्रियसभा चुनाव गराउने विषयमा अल्झेको उल्लेख गर्दै उहाँले यी दुई विषय जति चाँडो टुङ्गो लाग्छ, त्यति चाँडो नयाँ सरकार गठन हुने बताउनुभयो । माघ २४ गते राष्ट्रियसभाका लागि निर्वाचन हुने भनिएको छ, त्यसको आधारमा फागुनयता सरकार गठन हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।

उहाँले प्रदेश २ मा फोरम नेपालसँग गठबन्धन बनाएर सरकार बनाउने आफ्नो दलले निर्णय गरिसकेकाले अब त्यसका बारेमा पनि छलफल चलाउने बताउनुभयो । प्रदेश २ मा यी दुई दलले सरकार बनाउन बहुमत प्राप्त गरेको छ । मधेसमा सरकार बनाउने घोषणा पनि गरिसकेको छ तर सरकार कसरी कसको नेतृत्वमा गठन गर्ने विषयमा यी दुई दलको विषयमा अझै छलफल सुरु भएको छैन । गाेरखापत्रमा खबर छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved