कांग्रेस संसदीय दलको निर्वाचन : आज उम्मेदवारी, भोलि मतदान, को संग कति मत ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2018 | 06:54:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेता रामचन्द्र पौडेलले सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्न नदिने भएपछि कांग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई दुईतिहाइ मतले जिताउने प्रयास थालेको छ । संस्थापन पक्षका नेताहरू शनिबार दिनभर पौडेल पक्षका सांसद्हरूसँग भेटघाट तथा छलफलमा व्यस्त रहे ।

आफैँ प्रधानमन्त्री भएका वेला गरेका तीनवटै निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेकाले नैतिकताका आधारमा दलको नेतामा देउवा उम्मेदवार बन्न नहुने तर्क पौडेल पक्षको छ । तर, संस्थापन पक्ष भने कांग्रेसले आफ्नो नेतृत्वमा संविधान कार्यान्वयनका लागि चुनाव गराएर ऐतिहासिक काम गरेको बताउँछ ।

संस्थापन पक्षका नेता सांसद बालकृष्ण खाणले दलको नेतामा देउवा सभापतिको उम्मेदवार बन्ने र उनले दुईतिहाइले जित्ने बताए । ‘सभापतिले नेता बन्ने चाहना राखेपछि अन्य नेता सर्वसम्मत बनाउन राजी हुनुपर्ने हो । कसैले प्रतिष्ठाको विषय बनाएर सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने पक्का भएको छ,’ खाणले नयाँ पत्रिकासँग भने, ‘सभापतिजी उम्मेदवार बन्नुहुन्छ । दुईतिहाइ मतले नेतामा जित्ने निश्चित छ, त्यसभन्दा बढी मत ल्याउने कोसिस हामीले गरिरहेका छौँ ।’

पौडेल पक्षको शुक्रबार बसेको बैठकले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दलको नेतामा उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेता सिंहले निर्वाचनमा पार्टीको खस्केको साखलाई पूर्ववत् अवस्थामा पुर्‍याउन र शुद्धीकरण गर्न आफू उम्मेदवार बन्ने बताए । ‘अवसर पाएर पनि सफल नेतृत्व दिन नसक्ने नेतालाई, पुनः संसदीय दलको नेता बनाउनु भनेको पार्टीलाई झन् कमजोर बनाउनु हो,’ सिंहले नयाँ पत्रिकासँग भने, ‘पार्टीमा संस्थागत सुधार गर्न र वर्तमान चुनौतीबाट पार लगाई ५ वर्षपछि हुने निर्वाचनमा पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउन मेरो उम्मेदवारी हो । साथीहरूले मेरो योजनामा साथ दिनुहुनेछ भन्ने आशा छ ।’

यस्तो छ अंकगणित
प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सदस्य छन् । तीमध्ये संस्थापन पक्षमा प्रत्यक्षमा ११ र समानुपातिकमा २८ गरी ३९ सदस्य छन् । पौडेल पक्षसँग प्रत्यक्षमा ९ र समानुपातिकमा ११ गरी २० जना छन् । त्यस्तै, नेता कृष्णप्रसाद सिटौलातर्फ प्रत्यक्षमा ३ जना सांसद छन् । उद्योगी विनोद चौधरी कतैतर्फ पनि खुलेका छैनन् । दलको नेता जित्न बहुमतका लागि ३२ मत आवश्यक पर्छ भने दुईतिहाइका लागि ४२ मत चाहिन्छ । संस्थापनले आफूसँग रहेका ३९ मतमा तीन मत थपेमा दुईतिहाइ पुग्छ ।

तीमध्ये नेता सिटौलाको पक्षमा रहेका काठमाडौं–६ बाट जितेका भीमसेनदास प्रधानले बिहीबार नै सभापति देउवालाई भेटेर दलको नेतामा मत दिन आश्वासन दिएका छन् । सिटौला पक्षकै बारा–१ बाट जितेका उमाकान्त चौधरी र उद्योपति विनोद चौधरीले पनि देउवालाई नै मत दिने संस्थापन पक्षको आँकलन छ । संस्थापन पक्षका नेता खाणले आफूहरूले दुईतिहाइ मत पुर्‍याइसकेको र, त्यसभन्दा बढी पुर्‍याउन आफूहरूले अर्को पक्षका सांसदहरूसँग ‘वान टु वान’ कुराकानी गरिरहेको बताए । ‘दुईतिहाइ त पुगिहाल्यो, त्यसभन्दा बढी ल्याउन हाम्रो प्रयास जारी छ,’ खाणले भने ।

सोमबार निर्वाचन
सोमबार हुने दलको नेता निर्वाचनका लागि आइतबार(आज)उम्मेदवारी दर्ता गर्ने समय निर्वाचन समितिले तोकेको छ । निर्वाचन समितिका अनुसार अपराह्न ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मतदान सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि तोकिएको छ ।

सांसदको शपथपछि संसदीय दलको निर्वाचन
कांग्रेसले पार्टीका तर्फबाट सांसद निर्वाचित भएकाहरूले संघीय सांसदको शपथ लिएपछि दलको नेता चयन गर्ने बताउँदै आएको छ । कांग्रेसले बहुदलीय संसदीय शासन प्रणालीमा सांसदको शपथग्रहण नगरी कुनै पनि सदस्य संसदीय दलको नेता वा कार्यसमिति सदस्य हुन नसक्ने भन्दै सांसदको शपथपछि मात्र दलको नेताको निर्वाचन गर्न लागेको जनाएको छ ।

संघीय संसदका सदस्यहरूलाई शपथ ग्रहणको कार्यक्रम आइतबार दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा राखिएको छ । त्यसपछि मात्र दलको नेता चयनका लागि निर्वाचनको कार्यक्रम सुरु गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिए । नयाँ पत्रिका 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved