पुनर्निर्माणका प्राधिकरण गठन भएको ३ वर्ष नबित्दै पाँचौंपटक सिइओ फेरिदै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 06, 2018 | 09:01:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारबाट गरिएका राजनीतिक नियुक्ति खारेज गरेसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पाँचौंपटक नेतृत्व फेरिने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले गत भदौ १४ देखि फागुन ३ गतेसम्म गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले पुनर्निर्माण प्राधिकरणका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाल पदमुक्त भएका छन् । यससँगै भूकम्पपछिको पुनर्निर्माणका लागि प्राधिकरण गठन भएको तीन वर्ष नबित्दै पाँचौंपटक सिइओ फेरिन लागेको हो ।

प्राधिकरणका तत्कालीन सिइओ गोविन्दराज पोखरेल पुनर्निर्माणको जिम्मेवारी छाडेर प्रतिनिधिसभाको चुनाव लड्न हिँडेपछि गत कात्तिक ६ गते देउवा सरकारले पूर्वसचिव भुसाललाई सिइओमा नियुक्त गरेको थियो ।

प्राधिकरण गठन भएको दुई वर्षमा तेस्रो सिइओ बनेका भुसालले करिब नौ महिना सिइओको जिम्मेवारी सम्हाल्न पाए । पूर्वसिइओ पोखरेलले पनि नौ महिना प्राधिकरणको नेतृत्व गरेका थिए । पोखरेलअघिका सिइओ सुशील ज्ञवालीले एक वर्ष सिइओको जिम्मेवारी सम्हालेका थिए ।

बर्तमान सिइओ भुसाल पदमुक्त भएसँगै नयाँ सिइओको चर्चा सुरु भएको छ । त्यसो त केपी ओली नेतृत्वको सरकार गठन भएसँगै सिइओ परिवर्तन हुने चर्चा चलेको थियो । हाल प्राधिकरणभित्रैबाट तीनजना सिइओ बन्ने दौडमा देखिएका छन् ।

यो दौडमा प्राधिकरणका कार्यकारी सदस्यहरू चन्द्रबहादुर श्रेष्ठ, हरिराम पराजुली र ध्रुबप्रसाद शर्माको नाम चर्चामा छ । प्राधिकरण गठन हुँदा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको कोटाबाट कार्यकारी सदस्य नियुक्त भएका तीनैजना हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकटका हुन् । श्रेष्ठ र शर्मा तत्कालीन नेकपा एमालेको तर्फबाट कार्यकारी सदस्य बनेका हुन् । पराजुली तत्कालीन माओवादी केन्द्रको कोटाबाट सदस्य बनेका थिए ।

उच्च स्रोतका अनुसार श्रेष्ठ, पराजुली र शर्माले केही महिनायता सिइओ बन्न राजनीतिक लबिङ गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री ओलीलाई समेत भेटेर सिइओ बन्ने ‘इच्छा’ प्रकट गरिसकेको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार तत्कालीन एमाले निकट भएकाले प्रधानमन्त्री ओलीले श्रेष्ठलाई सिइओमा नियुक्त गर्ने सम्भावना बढी रहेको छ । नेकपाका नेता नारायणकाजी श्रेष्ठ निकट पराजुलीलाई पनि अर्का प्रमुख दाबेदारको रूपमा हेरिएको छ । उनले नेता श्रेष्ठमार्फत सिइओ नियुक्तिका लागि दबाब दिइरहेको स्रोतले जनाएको छ ।

हाल चर्चामा रहेका श्रेष्ठ, पराजुली र शर्माले पनि सिइओमा आफ्नो दाबेदारी रहेको स्वीकार गरेका छन् । नागरिकसँग टेलिफोनमा कुरा गर्दै उनीहरूले प्राधिकरणमा साढे दुई वर्षदेखि काम गर्दै आएको अनुभवका कारण नेतृत्व पाउनुपर्ने आ–आफ्नो दाबेदारी प्रस्तुत गरे । तर, चर्चामा रहेका तीन जनाबाहेक बाहिरका व्यक्तिसमेत सिइओमा नियुक्त हुने सम्भावना रहेको उच्च स्रोतले बताएको छ । ‘अहिलेसम्म तीन जना कार्यकारी सदस्यबाट सिइओ बनाउनका लागि प्रधानमन्त्रीसमक्ष लबिङ गरिरहेका छन्,’ स्रोतले भन्यो, ‘प्राधिकरण बुझेका र पुनर्निर्माणको बारेमा अनुभव भइसकेका यी तीन मध्येबाटै सिइओ नियुक्त हुने सम्भावना भएपनि निश्चित छैन । प्राधिकरण बाहिरबाटै कसैलाई जिम्मेवारी दिन पनि सक्छ ।’ नागरिक दैनिकमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved