‘विदेशीसँग नेपाली मुद्रामा कारोबार गैरकानुनी’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 08:34:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विदेशी नागरिकसँग नेपाली मुद्रामा भुक्तानी नलिन होटल व्यवसायीहरूलाई आग्रह गरेको छ । विदेशी नागरिकसँग नेपाली मुद्रामा सेवाको भुक्तानी लिनु गैरकानुनी भएको उल्लेख गर्दै राष्ट्र बैंकले विदेशीले नेपाली मुद्रा नेपालमै सटही गरेको निस्साका आधारमा मात्र मुद्रा सटही गर्न पाउने कानुनी व्यवस्थाको होटल व्यवसायीहरूलाई स्मरण गराएको छ । 

होटल संघ नेपालले मंगलबार राजधानीमा गरेको कार्यक्रममा राष्ट्र बैंकका विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाले व्यवसायीसँग भने, “विदेशीसँग नेपाली मुद्रा लिँदै नलिनुस्, लिनै परेमा उनीहरूले नेपालमै सटही गरेको पर्याप्त प्रमाण खोज्नुस् ।”

पछिल्लो समय पर्यटन व्यवसायीबाट ठूलो परिमाणमा विदेशी मुद्रा अपचलन भएको चर्चा चलिरहेका बेला राष्ट्र बैंकको यस्तो भनाइ सार्वजनिक भएको हो । होटल व्यवसायी पनि यसमा संलग्न भएको घुमाउरो भाषामा आरोप लगाउँदै ढुंगानाले नेपालमा विदेशी मुद्रा सञ्चितिको अवस्था सन्तुलनमा राख्ने दायित्व निजी क्षेत्रको पनि भएको बताए ।  

विदेशीहरूले खर्च गर्ने मुद्राबाटै नेपालको वैदेशिक व्यापार चल्ने भन्दै यसमा संवेदनशील हुन उनले व्यवसायीहरूलाई आग्रह गरे । नेपाली मुद्रा स्वीकार्नु गैरकानुनी र दण्डनीय अपराध भएको स्मरण उनले गराए ।

“यो गैरकानुनी काम हो, नेपालमा विदेशी मुद्रा खर्च गर्ने पर्यटक चाहिएको छ,” ढुंगानाले भने । विदेशी मुद्रा खर्च नगर्ने पर्यटक नेपाललाई नचाहिएको समेत उनले बताए । 

कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकले ब्याजदर छिटोछिटो बढाउन थालेको भन्दै त्यसलाई नियन्त्रण गर्न वर्षको दुई पटकमात्र पुनरावलोकन गर्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए । व्यवसायीको मागमा राष्ट्र बैंक लचिलो रहेको भन्दै लिखित माग लिएर आउन उनले सुझाव दिए ।

होटल व्यवसायीहरूले भने बैंकले आफूखुशी ब्याज बढाएर व्यवसाय सञ्चालनमा अप्ठेरो पारिदिएको बताएका छन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै हानका कोषाध्यक्ष सुनिल शाक्यले बैंकले पटकपटक व्याज बढाएर लगानीकर्तालाई हतोत्साहित गर्ने काम गरेको गुनासो गरे ।

“भूकम्प र नाकाबन्दीले बल्ल उठ्न लागेको पर्यटन क्षेत्रमा बैंकको व्याजदरले लगानीकर्तालाई समस्या भएको छ,” शाक्यले भने । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटीले व्याजदर नियन्त्रणका लागि ठोस कदम चाल्न लागिएको बताए ।

शिवाकोटीले ठूला र साना व्यवसायीबीच बैंकले फरक व्याजदर लिइरहेको बताउँदै त्यसलाई समेत नियन्त्रण गरिने बताए । उनले त्यसका लागि एक प्रतिशत बिन्दुभन्दा बढीको अन्तर गर्न नपाइने व्यवस्था मिलाउन लागिएको समेत बताए । कारोबार दैनिकमा खबर छ।   

राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख नारायण पौडेलले भने बैंकहरूले व्याजदरका बारेमा बजारलाई खुला छाडिदिनु पर्ने भए पनि नीतिगत व्यवस्था कसिलो बनाउँदै लगिएको जानकारी दिए ।

व्यवसायीले माग राखेमा अझै पनि प्रस्तावित नीति परिमार्जनसहित आउन सक्ने उनले बताए । “वर्षमा दुई पटकभन्दा अब व्याज बढाउन पाउने छैनन्,” शिवाकोटीले भने ।  

५ सय र २ हजार भारु गैरकानुनी 

पछिल्लो समय होटल तथा नेपाली बजार भारतीय पाँच सय र दुई हजारका नोट चलाइरहेको पाइएकोले त्यसो गरे गैरकानुनी हुने समेत उनले बताए । भारत सरकारले पुरानो पाँच सय र एक हजार दरको नोट खारेज गरेर पाँच सय र दुई हजार दरको नोट चलनमा ल्याएपछि नेपालमा भने ती नोटमाथि प्रतिबन्ध लाग्दै आएको छ । नेपालमा १ सयका भारतीय नो मात्र चलाउन व्यवसायीलाई ढुंगानाले आग्रह गरे ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved