नेपाल फाइनान्सले आज वैशाख २० गतेदेखि हकप्रदमा अवितरित संस्थापक शेयर लिलाममा ल्याएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको १० लाख ९४ हजार ४ सय ७१ दशमलव १८७ कित्ता शेयर लिलाममा ल्याएको हो ।
यस लिलामीको शेयरमा जेठ ३ गतेसम्म आवेदन दिन सकिने छ। शेयर लिलाम प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ। त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।
तर संस्थापक समूहको हकमा समान मूल्य बोलकबोल भएमा पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई दिइने छ र सोही अनुसार बाँडफाँड गरिनेछ । साथै आवेदन दिँदा नेपाल राष्ट्र बैंकले संस्थापक हुन तोकेको सम्पूर्ण प्रकृया पुरा भएको अनुसूचि ३, (Fit and Proper Test), कर चुक्ताको प्रमाणपत्र, कर्जा सूचना केन्द्रबाट कालोसूचिमा नरहेको विवरण, नागरिकताको प्रमाणपत्र, आम्दानीको स्रोत तथा अन्य आवश्यक कागजातहरु पेश गर्नुपर्नेछ । फाईनान्स कम्पनीको संस्थापक बाहेकका व्यक्तिले संस्थापक समूहको शेयर खरिद गर्न आवेदन दिई बाँडफाँड भई यदि नियमनकारी निकायको स्वीकृति लिनुपर्ने भएमा स्वीकृति लिए पश्चात मात्र बाँडफाँड शेयरलाई सदर गरिने क्यापिटलले जनाएको छ ।
यस लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००० कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। तर शेयर खरिद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सिमा भन्दा बढी नहने गरी आवेदन पेश गर्नपर्नेछ ।