मनोनयन दर्ताको पुर्वसन्ध्यामा निर्वाचन आयोगको बिशेष पत्रकार सम्मेलन, दियो यस्तो जानकारी

प्रतिनिधिसभाको लागि हरियो रङमा र प्रदेशसभाका लागि कालो मसीमा निर्वाचन चिन्ह रहने
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 03:15:37 PM मा प्रकाशित

laxmi  sunrise bank

  २०७४ मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतफ भोलि २०७४ कात्तिक १६ गते बिहीबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको  मनोनयन दर्ता हुन लागेको हो  ।  

  बिहान १० देखि अपरान्ह ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि उपस्थित हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन आयोगले आह्वान गरेको छ । 

मनोनयन दर्ताको पुर्वसन्ध्यामा आयोगले बिशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ  । 

यस्तो छ प्रमुख आयुक्र डा अयोधि यादवले दिएको जानकारी  । 

आदरणीय मतदाता आमा–बुबा, दिदी–बिहिनी तथा दाजु–भाइहरू 

१. नेपाली जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र ऐतिहासिक संविधानसभाबाट बनेको ‘नेपालको संविधान’ को सफल कार्यान्वयन गर्ने क्रममा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक २०७४ मंसिर १० र २१ गते गर्न निर्वाचन आयोग अहोरात्र खटिरहेको छ । २०७४ मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतफ भोलि २०७४ कात्तिक १६ गते बिहीबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम भएको व्यहोरा विदितै छ । ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्दै हुनुहुन्छ र त्यसका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भइसकेको जानकारी गराउन चाहन्छु  । तसर्थ भोलि  कात्तिक १६ गते बिहान १० देखि अपरान्ह ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि उपस्थित हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन आयोग हार्दिक आह्वान गर्दछ । पहिलो चरणको जस्तै दोस्रो चरणको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण तरिकाबाट सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको छ । 

निर्वाचनका सम्पूर्ण गतिविधिलाई सुरक्षा प्रदान गर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध नेपाल सरकारले मिलाएको छ । यस पटकको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा राजनीतिक दलका पार्टी प्रमुख तथा उच्च पदाधिकारीहरुले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारी मनोनयन गर्नु हुने भएकाले त्यसै अनुसारको उच्च सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोग सुरक्षा निकायलाई निर्देशन दिन चाहन्छ । साथै सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीहरुले मनोनयन दर्ता कार्यक्रमलाई व्यवस्थित, मर्यादित र भयरहित ढङ्गले अघि बढाउन समयमै आवश्यक पहल गर्नु नै हुने छ भन्ने विश्वास आयोगले लिएको छ । 

३. प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरुको बन्दसूची आयोगमा पेश भई यही कातिक १७ गते सार्वजनिक गर्ने कार्यक्रम रहेको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु । 

४. निर्वाचनका लागि आवश्यक पर्ने सामग्री आयोगमा प्राप्त हुने क्रम शुरु भइसकेको छ । मतदाता नामावली छपाई कार्य सम्पन्न भइसकेको छ । त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ७४ लाख मतपत्र छपाई गर्ने काम सम्पन्न भइसकेको छ । सम्मानित सर्वाेच्च अदालतको आदेशअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै पानामा मतपत्र छपाइ गर्ने कार्य जारी छ । आयोगले प्रतिनिधिसभा सदस्यका लागि हरियो रङमा  निर्वाचन चिह्न भएको मतपत्र र प्रदेशसभाका लागि कालो मसीमा निर्वाचन चिन्हहरु रहने गरी मतपत्रको ढाँचा स्वीकृत गरी २१ जिल्लाको मतपत्र छाप्न पठाइसकेको छ र कात्तिक २० गतेसम्म पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सम्पूर्ण मतपत्र छपाई गरी सम्बिन्धित जिल्लामा पठाउने कार्य योजना अनुसार तीव्र गतिमा काम भइरहेको छ । 

५. सम्मानित सर्वाेच्च अदालतको आदेश अनुसार, परिमार्जन तथा सशोधन गर्नुपर्ने नियमावली, निर्देशिका तथा कार्यविधिहरु द्रूूत गतिमा संशोधन तथा परिमार्जनको काम भइरहेको छ । पहिलो हुने निर्वाचित हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि छुट्टाछुट्टै पानामा मतपत्रको व्यवस्था गर्दा आवश्यक पर्ने मतपेटिका, स्वस्तिक छापलगायतका सामग्रीको छोटो समयमै व्यवस्थापन गर्ने प्रक्रिया शुरु भइसकेको छ । नियमावली र निर्देशिका परिमार्जन गरी सोही आधारमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने हुँदा मतदाता शिक्षासम्वन्धी तालिम, प्रशिक्षण कार्यक्रम छिट्टै सञ्चालन गर्न आयोगले गृहकार्य गरिरहेको छ । यसबाट आयोगले स्वीकृत गरेको मतदाता शिक्षासम्बन्धी कार्यतालिकामा परिमार्जन गरी मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइने छ ।

६. २०७४ भदौ १४ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिताको सबैबाट पूर्ण पालना हुने विश्वास आयोगले लिएको छ । कहीँ कतैबाट आचार संहिता उल्लंघन भएमा आवश्यक कारबाही गर्न ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतलाई आवश्यक निर्देशन दिइसकेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निवर्तमान सांसदको सिफारिशमा सञ्चालन गर्न आचार संहिता प्रतिकूल भएकाले त्यस्ता कार्यक्रम रोक्न आयोगले निर्देशन दिएको र ७७ वटै जिल्लाबाट त्यस्ता कार्यक्रम रद्द गरी १० अर्ब रुपियाँ निकासा रोक्का भइसकेको जानकारी आयोगलाई प्राप्त भएको छ । 

७. आयोगबाट स्वीकृत फोटासहितको मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचनमा खटिने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीलगायतको मताधिकारलाई सुरक्षित गर्न अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति बनाई कार्य अगाडि बढाइएको छ ।

८. निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आयोगले निर्वाचन पर्यवेक्षण गर्नका लागि अनुरोध गरेको छ । यस निर्वाचनलाई सफल बनाउन अन्तर्राष्ट्रिय समुदाय,  मित्रराष्ट्रहरु र विकासका साझेदार संघ संस्थाहरु सबैको सद्भाव एवं सहयोगको आयोग हार्दिक अपेक्षा गर्दछ । संविधान कार्यान्वयन गर्ने क्रममा हुन लागेको ऐतिहासिक निर्वाचनलाई सफल बनाउने अभियानमा जुट्न आयोग सम्बद्ध सरकोकारवालासँग हार्दिक अपील गर्दछ । 

आदरणीय मतदाता आमा–बुबा, दिदी–बिहिनी तथा दाजु–भाइहरू

९. नेपालको संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग दृढताका साथ अगाडि बढिरहेको र त्यसै अनुरूप आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन गर्न सम्पूर्ण तयारी पूरा गर्ने गरी आयोगमा कामहरु भइरहेका छन् ।  दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरुमा कात्तिक १६ गते भोलि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ताको कार्यक्रम रहेको व्यहोरा पुनः स्मरण गराउँदै सो कार्यमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा सहभागी हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन आयोग आह्वान गर्दछ ।         

आदरणीय पत्रकारज्यूहरू,

आयोगको निमन्त्रणालाई स्वीकार गरी आउनुभएकोमा सम्पूर्ण मिडियाकर्मी मित्रहरूलाई आयोगको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । लोकतान्त्रिक संघीय गणतन्त्रलाई संस्थागत गर्ने अभियानमा यहाँहरुले पु¥याउँदै आउनुभएको योगदानको उच्च कदर गर्र्दै २०७४ मंसिर १० र २१ गते हुने निर्वाचनलाई महान् उत्सवको रुपमा सफल बनाउन आगामी दिनमा पनि यहाँहरुबाट पूर्ण सहयोग हुने कुरामा आयोग विश्वस्त रहेको छ । धन्यवाद 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved