'मोदी नेपाल आउँदा पशुपति धर्मशालाको उद्धघाट्न'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 08:18:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधिन रहेको पशुपति धर्मशालाको उद्धघाट्न गर्ने बताएका छन् । भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोहित एक कार्यक्रममा बोल्दै राजदुत पुरीले यही अगष्ट ३० र ३१ तारिख काठमाडौंमा हुने विमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्धघाट्न गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

उनले भने,‘हाम्रो प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशाला उद्धघाट्न गर्ने कार्यक्रम छ । यो खुशीको कुरा हो । तीर्थयात्रीहरुलाई बस्नको लागि अत्यन्तै सहज हुन्छ ।’

कार्यक्रममा बोल्दै राजदुत पुरीले पर्यटनको विकास गर्न सकिए यसले आर्थिक समृद्धि हाँसिल गर्न सहयोग पुग्ने विश्वास दिलाए । उनले भने,‘नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक सबैखाले सम्बन्ध सदियौंदेखि रही आएको छ । अहिले पनि नेपाल भएर हजारौंको संख्यामा भारतीय पर्यटकहरुले मानसरोवरको तिर्थाटन गरिरहेका छन् । यसले आर्थिक विकासमा ठूलो टेवा पुर्याएको छ ।’

भारतीय प्रधानमन्त्री चौथो पटक नेपाल आउन लागेको सुनाउँदै उनले भने,‘यसले पनि देखाउँछ कि हाम्रो प्रधानमन्त्री मोदीको छिमेकी पहिले नीतिमा उहाँ प्रतिबद्ध हुनुहुन्छ । नेपालको जस्तोसुकै समस्यामा पनि भारतको हमेशा साथ र सहयोग रहन्छ । नेपाल भारतको सदैव उच्च प्राथमिकतामा छ।’

मोदीले आफ्नो कार्यकालमा चार पटक नेपाल भ्रमण गर्नु आँफैमा महत्वपूर्ण रहेको उनको भनाई छ । उनले भने,‘नेपाल र भारतबीचको नाता विशेष छ । मोदी चौथो पटक नेपाल भ्रमणमा आउनुले नै हाम्रो सम्बन्ध बलियो र मजबुद छ भन्ने कुराको पुष्टि गर्छ । नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध अब उच्च राजनीतिक तहमा पनि केन्द्रित छ भन्ने कुरा प्रष्ट देखिन्छ ।’ नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अब आर्थिक रुपमा अझै मजबुद भएर अघि बढाउनुपर्ने उनको सुझाव छ । सुदृढ नेपाल र सुखी नेपाली बनाउने अभियानमा आफ्नो देशको सधैं साथ र सहयोग रहने उनको प्रतिबद्धता छ ।

नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा विभिन्न आयामहरु रहेको उल्लेख गर्दै उनले भने,‘अब त क्रिकेटले पनि हाम्रो सम्बन्ध मजबुद बनाएको छ । नेपालले ओडिआई खेल्यो । क्रिकेटमा नेपालले धेरै ठूलो प्रगति हाँसिल गरिरहेको छ । नेपालीहरुको क्रिकेटप्रति क्रेज ह्वात्तै बढेको छ । नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेले आईपिएल खेल्दा नेपालीहरुमात्रै होईन, भारतीय जनतापनि खुशी भएका थिए । लामिछानेको शानदार प्रर्दशनले हामी भारतीय जनतापनि खुशी छौं । नेपाल–भारत सम्बन्धमा अब क्रिकेटपनि नयाँ शक्तिको रुपमा उदय भएको छ।’

हुलाकी राजमार्गलगायत नेपालमा ठूलो परियोजनाहरु भारतीय सहायतामा निर्माणाधिन रहेको सुनाउँदै राजदुत पुरीले भने,‘हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्नको लागि आजै ४० करोडको चेक दिने कार्यक्रम छ । त्यस्तै भुकम्पपछिको पूर्ननिर्माणको लागि २ सय १० करोड रुपैयाँ दिईसकेका छौं । अब यसैगरि अरु किस्तापनि हामी छिट्टै प्रदान गर्छौं ।’

यसअघि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा अरुण तेस्रो जलविद्युत आयोजनाको शिल्यान्यास भएको सुनाउँदै राजदुत पुरीले अब नेपाल–भारत आदान–प्रदानको लागि रेलमार्ग अघि बढ्ने पनि विश्वास दिलाए । उनले भने,‘आर्थिक वृद्धि हाँसिल गर्नको लागि पनि रेलवेले महत्वपूर्ण योगदान पुर्याउँछ । जनकपुरसम्म त रेलवे लाईन विछ्याउने काम भैसकेको छ । आगामी केही महिनामै नेपालमा रेल सञ्चालनमा आउँछ । जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालन गर्नुपर्छ ।’ आगामी १० देखि १२ वर्षभित्र भारत र नेपाल रेलमार्गबाट पनि पूर्ण रुपमा जोडिने उनको दाबी थियो ।

त्यस्तै पुरीले विराटनगरमा छिट्टै रेलवे सञ्चालन हुने बताए । उनले भने,‘यो रेलवे सञ्चालनमा आयो भने सामानहरु ओसारपोसार गर्न सहज हुन्छ । यसले भारतीय रेल सञ्जालसँग जोड्नपनि महत्वपूर्ण भूमिका खेल्छ । निर्यात तथा आयात बढ्छ भन्ने हाम्रो विश्वास छ । हामी खुशी छौं ।’ नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा प्राचिन सभ्यता रहेको बताउँदै अब यो सम्बन्धलाई आधुनिक युगमा अघि बढाउनुपर्ने उनको भनाई छ ।

भारतीय लगानी, सहायता र सहयोगमा निर्माण हुने परियोजनाहरु सम्पन्न हुन ढिलाई भैरहेको छ नि भनेर एक पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘हाम्रो आफ्नो नीति छ । नेपालमा कस्तो पोलिसी छ भन्ने कुराले निर्भरता गर्छ । आज भारत यो अवस्थामा आईपुग्नको लागि हाम्रा नेताहरुले धेरै प्रयत्न र संघर्ष गर्नुभएको छ । हाम्रा नेताहरुको निरन्तर प्रयत्नकै कारण आज भारत विश्वकै द्रुत गतिमा आर्थिक वृद्धि हाँसिल गर्ने राष्ट्र भएको छ । यो खुशीको कुरा हो । अहिले हाम्रो प्रधानमन्त्री मोदीजीले पनि जनतालाई समृद्धिको खुशीयाली दिलाउन ठूलो भूमिका निर्वाह गर्नुपर्छ ।’

केही समय पहिलेसम्म भारतमा सडक तथा विद्युतको समस्या भएपनि अहिले आफूहरु विद्युतमा आत्मनिर्भर भैसकेको र नेपालको पनि आवश्कत्ता पूर्ति गरिरहेको राजदुत पुरीले सुनाए । उनले भने,‘अहिले भारतले नेशन वाटरलिंक प्रोजेक्टलाई अघि बढाएको छ । वाटर वेजमा अब नेपालसँगपनि जोडिन्छौं । गंगा, गण्डक र कोशी लगायतमा वाटर लिंकेज हुन्छ । यो परियोजना बन्ने बित्तिकै सामानहरु ओसारपोसार गर्न सजिलो हुन्छ ।’

मोदीको अब हुने भ्रमणमा नेपालका प्रधानमन्त्री ओलीसँग द्धिपक्षीय सम्वादमा के र कस्तो कुरा हुन्छ भन्ने कुरा अहिले नै एकिन नभएपनि यसअघि भएका सहमति तथा सम्झौताहरु कार्यान्वयनबारे विशेष कुराकानी हुने उनको भनाई छ । जे कुरा भएपनि उद्देश्यमूलक र उपलब्धिमूलक कुरा हुन्छ । उहाँहरुबीचको सम्वादमा आर्थिक सहयोगका बारेमा कुराकानी हुनसक्छ । कसरी द्धिपक्षीय सम्बन्ध सुदृढ र मजबुद बनाउने भन्नेबारे छलफल हुन्छ ।’

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved