छोरा बचाएर हिटरमा जले इन्जिनियर दम्पत्ति, गुहार माग्दा ढोका थुनेर बसे छिमेकी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2018 | 09:17:37 PM मा प्रकाशित

laxmi  sunrise bank

हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लिएको छ। जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले हिटरले पोलिएको पाँचौ दिनमा ज्यान गुमाएका हुन। 

उनीहरु गत ५ गते हिटरबाट सल्केको आगोको लप्कामा परी गम्भीर घाइते थिए। उनीहरुका डेढ वर्षको छोरा अस्पतालमा अवस्थामा उपचाररत छन् ।दुवैलाई बेहोशी अवस्थामा उद्दार गरिएकाले कसरी आगो सल्कियो भन्ने यथार्थ विवरण आउन सकेको छैन ।

प्रारम्भिक अनुमान अनुसार हिटरको ग्यास लिक भएर आगलागी भएको देखिएको छ। ग्यास र विजुली दुवैबाट चल्ने उक्त हिटर उनीहरुले सोही दिन बनाएर ल्याएको पनि बुझिएको छ।

‘कोठाको ढोकामा चुकुल लगाएर, ढोकानेर हिटर बालेर उनीहरु ममः खान थालेको बेला हिटरबाट ग्यास लिक भएको हुन सक्छ,’ जोशी दम्पत्ति परिवार निकट सडक बिभागमा कार्यरत एक कर्मचारीले भनिन। आगो कोठा बाहिर भने फैलिन पाएन । कोठाभित्र पनि ओछ्यान सद्दे देखिएको छ । हिटर ढोकैमा भएकाले उनीहरु चुकुल खोलेर बाहिर निस्कन सकेनन। झ्यालको शिशा पनि फुटाइएको छ । तर, झ्यालमा ग्रिल भएकाले त्यहाँबाट निस्किन सम्भव नभएको देखिएको छ। 

उनीहरुले चिच्याएर गुहार माग्दा छरछिमेकीले सुनेर पनि नसुनेझैँ गरेको ति परिवार निकट सदस्यले बताए। ‘उनीहरुले गुहार गुहार भनेर कराउँदा छिमेकका मान्छेहरु ढोका थुनेर बसेछन्’ उनले भनिन। निकै बेरपछि सो घरका घरपट्टलिे प्रहरीलाई फोन गरेर बोलाएका थिए। प्रहरी आएर ढोका खोल्दा तीनै जना बेहोस अवस्थामा थिए । अप्सराले बच्चालाई कभर गरेकी थिइन् भने पुष्करले अप्सरालाई कभर गरेका थिए । त्यसैले सबैभन्दा बढी पुष्कर जलेका थिए । उनको हात सबैभन्दा बेसी जलेको थियो। पुष्करले दुवै हातले आगोको लप्का छेकेर श्रीमती र छोरालाई बचाउन खोजेको देखिन्छ’ उनले भनिन।

प्रहरी आएर तीनै जनालाई नजिकै रहेको सहिद मेमोरियल अस्पताल पुर्‍याईएको थियो तर, त्यहाँ उनीहरुको सही ढंगले उपचार हुन सकेन। चिकित्सकहरुका अनुसार आगोमा जलेका बिरामीलाई तत्काल स्लाइन दिनुपर्ने हुन्छ किनकी आगोले शरीरको सबै पानी सोसेको हुन्छ। तर, अस्पतालले दुई घन्टासम्म राख्दा स्लाइन दिएन र दुवै बिरामीको अवस्था जटिल भएपछि किर्तिपुर अस्पताल रिफर गरिदियो । जलेका बिरामीका लागि किर्तिपुर अस्पताल सबैभन्दा राम्रो मानिन्छ ।

किर्तिपुरमा पुर्‍याउनासाथ पुष्कर र अप्सराको भेन्टिलेटरमा राखेर उपचार सुरु भयो । तर, उनीहरु होसमा आउन सकेनन् । पुष्करको दुवै हात काम नलाग्ने भएकाले काट्नुपर्ने चिकित्सकहरुले बताए । र, काटियो पनि । तर, पनि उनको ज्यान जोगिन सकेन। उनीहरुलाई एयर एम्बुलेन्समा राखेर भारत लैजाने समेत तयारी भएको थियो । दुवैलाई एउटै एयर एम्बुलेन्समा लैजान नमिल्ने भएकाले केही इन्जिनियरहरु मिलेर २०-२० लाखमा दुई खेपगरी लैजाने भनेर कुरा गरिसकेका थिए । तर, डाक्टरहरुले अनुमति दिएनन्। एयर एम्बुलेन्समा चढाउनका लागि एयरपोर्टसम्म लैजान पनि सुरक्षित नदेखेर डाक्टरहरुले अनुमति नदिएको उनले बताइन। अन्ततः ११ गते राति बिहिबार पुष्करको उपचारकै क्रममा निधन भयो। 

१२ गते उनको पोष्टमार्टम गरी अन्त्यष्टी भयो । पशुपति आर्यघाटमा उनका बाबुले छोराको शवमा दागवत्ती दिएको नमिठो दृष्य देखियो । पशुपतिमा अहिले पुष्करको किरिया भइरहेको छ। 

यता अप्सराको अवस्थामा पनि सुधार आएन। उनी होशमा आउन नसकेपछि किड्नीमा असर पुगेको आशंकाले डाइलासिस गर्नुपर्ने डाक्टरहरुले बताए। तर किर्तिपुरमा डाइलासीस सुविधा नभएपछि भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा लगियो। त्यहाँ पनि भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा आज बिहान उनको मृत्यु भएको छ । अहिले उनको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ।

उनीहरुको डेढ वर्षको छोरा यतिबेला भक्तपुर अस्पतालमा छन् । उनी खतरामुक्त रहेको चिकित्सकहरुले बताए। घटनापछि अप्सरा र पुष्कर दुवैको परिवार काठमाडौं आएका छन। अप्सरा तनहुँकी हुन् भने पुष्कर बैतडीका हुन् । उनीहरु ककंकीमा फ्लयाट भाडामा लिएर बस्थे । दुवै कार्यालय जानुपर्ने हुँदा बच्चाको रेखदेख गर्न अप्सराकी आमा पनि सँगै बस्थिन् । तर, घटना भएको दिन उनी अन्यत्रै भएको बुझिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved