एसेम्बलमा कर छुट हटाउने चर्चाः औद्योगिकरणको प्रस्थानविन्दुमै ‘बार’ लगाउन किन हौसिँदैछन् अर्थमन्त्री ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 25, 2023 | 09:11:59 AM मा प्रकाशित

laxmi  sunrise bank


बजेटमार्फत सवारी एसेम्बल गर्ने उद्योगका लागि दिइएको कर छुट कटौती गर्ने तयारी गरिएको सूचना चुहिएपछि नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपाल झस्किएको छ । यसरी कर छुट हटाउँदा औद्योगिकरणमा प्रभाव पर्ने भएकाले नीतिलाई निरन्तरता दिन जरुरी रहेको नाडा अटोमोवाइल्स एसोसियसनको दावी छ । त्यसैले कर छुट कटौती गर्न लागिएमा एसोसिएसनले विज्ञप्ति नै निकालेर सरकारलाई सचेत गराइएको छ । 

अहिले राजस्व परिचालनमा चाप परेपछि अर्थमन्त्री डा. प्रकाशशरण महत राजस्व बढाउने उपायको खोजीमा छन् । सोही अनुसार बजेटमा पनि उनले ठाउँ खोजिरहेका छन् । यसै क्रममा सवारी एसेम्बल प्लान्टले पाउँदै आएको कर छुट घटाएर राजस्व बढाउन सकिने सुझाव उनलाई प्राप्त भएको स्रोतले बताएको छ । 

‘अब इभी (इलेक्ट्रिक भेहिकल)मा जाने हो, इन्धनबाट चल्ने सवारीलाई एसेम्बल गर्दैमा छुट दिएर प्रोमोट गरिराख्नु पर्ने देखिँदैन भनेर कतैबाट कुरा आएको हो’ अर्थ स्रोतले भनेको छ । बाइकको एसेम्बल प्लान्ट राख्दा खासै ‘भ्यालु एड’ नभएको र नेपालमै एसेम्बल हुँदा पनि उपभोक्ताले सस्तोमा नपाएको भन्दै एसेम्बल प्लान्टमा दिइएको कर छुट सकेसम्म हटाउन र हटाउन सम्भव नहुने भए घटाउन अर्थमन्त्री तयार देखिएका छन् ।

स्वदेशमै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी एसेम्बल कम्पनीलाई सरकारले ५० प्रतिशत अन्तःशुल्क छुट दिएको छ । एसेम्बल गर्न चाहिने पार्टस् ल्याउँदा पनि ५० प्रतिशत र पार्टस् ल्याएर तयारी गरेर बिक्री गर्दा पनि ५० प्रतिशत नै अन्तःशुल्क छुट दिइएको थियो । यसपछि नेपालमा अहिले दुई पाङ्ग्रे सवारीको एसेम्बलिङ हुन थालेको छ । 

‘राजस्व मात्रै हेरेर औद्योगिकरणको प्रस्थान विन्दु नै रोक्नु हुँदैन’

अपेक्षा अनुसार भ्यालु एड नभएको र उपभोक्ताले सस्तो पनि नपाएको वरु, राजस्व नै कम उठ्न थालेको भन्दै सवारी एसेम्बलिङ उद्योगलाई दिँदै आएको छुट कटौतीको तयारी भएपछि नेपालमै सवारी एसेम्बल सुरु गरेका उद्योगहरु पनि आत्तिएका छन् । अहिले बाइकको एसेम्बल सुरु गरिसकेका ४ वटा प्लान्टमा १५ अर्ब बढी लगानी भइसकेको बताइन्छ ।

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले पनि तत्कालको राजस्वलाई मात्रै हेरेर देशको औद्योगिकरणको प्रस्थान विन्दुमा नै बार लगाउने काम नगर्न अर्थमन्त्रीलाई सुझाएका छन् ।

‘औद्योगिकरण भनेको एसेम्बलबाटै सुरु हुने हो, दुई पाङ्ग्रेको एसेम्बल सुरु भएपछि टायर उद्योगहरु आउन थालेका छन्, लुकिङ ग्लास यहीँ बनाउने उद्योगहरु आउने क्रममा छन्’ उनले भने, ‘तयारी वस्तु मात्रै ल्याएर यहाँ खपत गर्ने नीति हो भने त्यो भनिदिनुपर्यो, होइन भने लगानीकर्ताले अर्बौ रुपैयाँ लगानी गरिसकेपछि एक वर्षमै नीति उल्ट्याउनु भएन, कम्तीमा ५/६ वर्ष हेर्नुपर्यो नि ।’

अध्यक्ष थापाले एसेम्बल प्लान्ट सुरु भएपछि एउटा प्लान्टले ४ सयको हाराहारीमा दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोकेको तथ्य हेर्न पनि अनुरोध गरेका छन् ।

‘राजस्व मात्रै हेर्ने हो त ?’ उनले प्रश्न गर्दै थपे, ‘एसेम्बल प्लान्ट आएपछि सिर्जना भएको रोजगारी, त्यहाँ भएको लगानी पनि हेरिनुपर्छ । एसेम्बल प्लान्टमै खपत हुन्छ भनेर टायर उद्योग आएका छन्, ग्लास र ब्याट्री उद्योगहरु आउँदैछन्, एसेम्बल उद्योग भनेको औद्योगिकरणको सुरुवात हो ।’

अध्यक्ष थापाले आर्थिक वर्ष २०७८/०७९ मा अन्तःशुल्कमा ५० प्रतिशत मात्रै छुट हुँदा उपभोक्ताले आयात गरिएको तयारी बाइक र यही एसेम्बल भएको बाइकको मूल्यमा अन्तर महशुस गर्न नपाएको सत्य भए पनि अहिले एसेम्बल पार्टसको आयातमा पनि अन्तःशुल्क छुट दिएपछि १० हजारभन्दा बढी नै सस्तोमा बाइकहरु पाइरहेको दावी गरे ।

यी हुन् सञ्चालनमा आएका एसेम्बल प्लान्ट

अन्तःशुल्कमा छुट पाएपछि गत वर्षबाट एसेम्बल प्लान्ट बढिरहेका छन् । सुरुमा गोल्छा अर्गनाइजेशनको हुलास अटोक्राफ्टले बजाज मोटरसाइकलको एसेम्बलिङ सुरु गरेको हो ।

हाल ४ वटा ब्राण्डका बाइक नेपालमै एसेम्बल हुन्छन् । बजाज, टीभीएस, हिरो र यामाहाले नेपालमै एसेम्बल प्लान्ट राखेर बाइक उत्पादन गर्दै आएका छन् । यीमध्ये यामाहाले केही समय अघिबाट मात्रै उत्पादन सुरु गरेको हो ।

एसेम्बल सुरु गरेका यी ४ उद्योगमा २२ सय श्रमिकले रोजगारी पाएका छन् । यी मध्ये १४ सयको हाराहारीमा दक्ष इन्जिनियर छन् । अझ त्रिवेणी ग्रुपले बुलेट मोटरसाइकलको एसेम्बल गर्ने तयारी अघि बढाएको छ । 

चार पाङ्ग्रे पनि एसेम्बलको तयारीमा 

दुइ पाङ्ग्रे सवारीको नेपालमै एसेम्बल हुन थालेसँगै चार पाङ्ग्रे सवारीका आयातकर्ता कम्पनी पनि स्वदेशमै एसेम्बल प्लान्ट राख्न हौसिएका छन् । हुण्डाई र मारुती गाडी नेपालमै बनाउने गरी एसेम्बल प्लान्ट लगाउने तयारीमा यी दुई गाडीका आधिकारिक बिक्रेताहरु छन् ।

मारुती सुजुकीको आधिकारिक बिक्रेता सिजी होल्डिङले नेपालमा गाडी एसेम्बल गर्न सिजी अटोमोटिभ्स इन्डस्ट्रिज प्रा.लि. दर्ता गरिसकेको छ । १ अर्ब ३१ करोड ६९ लाख पूँजी भएको यो वार्षिक १० हजार थान २ पाङ्ग्रे, ३ हजार थान तीन पाङ्ग्रे सवारी र १० हजार थान चार पाङग्रे सवारी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै, हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले त हुण्डाई गाडीको नेपालमै एसेम्बल गर्न कम्पनी दर्तासहित नवलपरासीमा जग्गा पनि लिइसकेको छ । लक्ष्मी ग्रुपले ५ अर्ब १० करोड रुपैयाँ लगानी रहने गरी लक्ष्मी मोटर कर्पोरेशन नामक कम्पनी दर्ता गरेको छ । लक्ष्मी ग्रुपले वार्षिक ८ हजार वटा चार पाङ्ग्रे सवारी उत्पादनको लक्ष्य राखेको छ ।

यी दुइ ग्रुपले अबको डेढ वर्षभित्र गाडी एसेम्बल सुरु गर्ने लक्ष्य राखेका थिए । तर, एसेम्बल उद्योगलाई दिइँदै आएको करको छुटको नीति फेरबदल हुने आशङ्का सुरु भएपछि उनीहरु अलमलमा परेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved