
 2mb (1).gif)
सामान्यतया सम्बन्धित क्षेत्रमा लामो समय काम गरेपछि प्राप्त विज्ञता पश्चात सम्बन्धित कम्पनीको नेतृत्त्वको जिम्मेवारी लिने विश्वब्यापी अभ्यास रहँदै आएको छ। तर नेपालको जीवन बीमा कम्पनीहरुको हकमा भने विश्वब्यापी अभ्यास विपरित अनुभवी नेतृत्त्वको अभाव खड्किएको पाइएको छ।
अधिकांश जीवन बीमा कम्पनीहरुमा अनुभवी नेतृत्त्वको अभाव हुँदा नियामक बीमा समितिले बेला बेला ल्याउने नीति नियम र निर्देशनको प्रभाव र असरबारे गहिराईमा विश्लेषण समेत हुन छाडेको बीमा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकाहरुको भनाई छ।
आफ्नो नाम नलेख्ने सर्तमा बीमा क्षेत्रमा लामो समयदेखि काम गरिरहेका एक जना प्रतिनिधि भन्छन्, 'बीमा समितिमा नयाँ नेतृत्त्व आएपछि ल्याइएका निर्देशनहरु र त्यसले बीमा क्षेत्रमा पारेको असरबारे कोहि व्यक्ति खुलेर नबोल्दा र बोल्न नसक्दा अहिले आएर जीवन बीमा कम्पनीहरुमा अनुभवी नेतृत्त्वको अभाव खड्किएको छ।'
कुन कम्पनीमा कसको नेतृत्त्व ?
हाल नेपालमा कुल १९ वटा जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन्। जसमध्ये १० वटा नयाँ जीवन बीमा कम्पनी रहेका छन् भने ९ वटा पुराना कम्पनीहरु छन्। नयाँ १० मध्ये झन्डै ८ वटा जीवन बीमा कम्पनीहरु यस अगाडी जीवन बीमा कम्पनीको नेतृत्त्व नसम्हालेका व्यक्तिहरु रहेको पाइएको छ।
प्रभु लाइफ
प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा नारायण पौडेल रहेका छन्। उनी यस अगाडी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए। कार्यकारी निर्देशकबाट बिदा भएको महिना दिन नबित्दै पौडेल प्रभु लाइफको नेतृत्त्व सम्हाल्न आइपुगेका हुन्।
रिलायन्स लाइफ
रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रविन रमण पराजुली रहेका छन्। उनी पनि रिलायन्स आउनु अगाडी जीवन बीमा बाहेकको क्षेत्र अर्थात बैंक, मर्चेन्ट बैंकमा थिए। एनएमबि बैंकबाट करियर सुरु गरेका पराजुली रिलायन्स आउनु अगाडी नबिल इन्भेष्टमेन्ट बैंकिङमा सीईओको भूमिकामा थिए।
रिलायबल लाइफ
रिलायबल लाइफका सीईओमा नारायण बाबु लोहनी छन्। उनी पनि रिलायबल लाइफ आउनु अगाडी बैंकिंङ क्षेत्रमा थिए । अर्थात उनी रिलायबल डेभलपमेन्ट बैंकको सीईओको रुपमा थिए। लोहनी पनि एक दशक भन्दा लामो समय बिशुद्द बैंकिंङ तथा वित्तीय क्षेत्रमा नेतृत्त्व तथा सल्लाहकारको भूमिका निर्वाह गरेका व्यक्ति हुन्। उनको लागि पनि रिलायबल लाइफ पहिलो अनुभव हो।
ज्योति लाइफ
ज्योति लाइफको सीईओमा प्रकाश बिक्रम क्षेत्री छन्। उनी पनि ज्योति लाइफ आउनु अगाडी नेपाल लाइफ इन्स्योरेन्सका डाइरेक्टर थिए भने उनीसँग एनआईसी एसिया बैंकमा समेत डाइरेक्टर बनेको अनुभव छ। युकेको बार्क्लेस बैंकबाट करियर सुरु गरेका क्षत्रीले लक्ष्मी बैंकमा समेत झन्डै एक दशक काम गरे। तर उनीसँग पनि जीवन बीमाको क्षेत्रमा प्रत्यक्ष रुपमा नेतृत्त्व सम्हालेर काम गरेको अनुभव ज्योति लाइफ आउनु अगाडी थिएन।
सन लाइफ
सन लाइफको सीईओमा राज कुमार अर्याल रहेका छन्। अर्याल पनि सन लाइफमा सीईओको रुपमा आउनु अगाडी बीमा समितिमा कानुन विभागमा कार्यरत थिए। बीमा समितिमा झन्डै एक दशक बढी लामो समय काम गर्दा बीमा क्षेत्रमा प्रत्यक्ष अप्र्यक्ष जोडीएपनि सन लाइफ आउनु अगाडी नेतृत्त्वको हिसाबले उनले अरु कुनै जीवन बीमा कम्पनीमा काम भने गरेका थिएनन्।
आइएमई लाइफ
आइएमई लाइफको सीईओमा कवी फुयाल रहेका छन्। फुयाँलसँग पनि आईएमई लाइफ आउनु अगाडी अर्को कुनै पनि जीवन बीमा कम्पनीमा नेतृत्त्व सम्हालेर काम गरेको अनुभव छैन। केहि बर्ष अगाडीसम्म अधिकृत तहमा काम गर्दै गरेका फुयाँल छोटो समयमा आईएमई लाइफमा एजीएम हुँदै डिसीओ हुँदै सीईओ बनेका हुन्।
सिटिजन लाइफ
सिटिजन लाइफको सीईओमा पोशक राज पौडेल रहेका छन्। पौडेलसँग अरु कम्पनीका सीईओ भन्दा जीवन बीमा क्षेत्रमा नै काम गरेको अनुभव बढी रहेको छ तर उनी पनि सिटिजन लाइफको सीइओ हुनु अगाडी कुनै पनि अर्को जीवन बीमा कम्पनीमा सीईओ भएका व्यक्ति भने होइनन्। सिटिजन लाइफ आउनु अगाडी उनि मेट लाइफमा चिफ फाइनान्स अफिसरको रुपमा थिए, त्यहाँ उनले झन्डै १५ बर्ष जति काम गरेका थिए ।
सानीमा लाइफ
सानिमा लाइफको सीईओमा अगम मुखिया रहेका छन्। मुखिया तुलनात्मक रुपमा जीवन बीमा क्षेत्रमा काम गरिरहेका र नेतृत्त्वमा नै रहेर काम गरेका व्यक्ति हुन्। सानिमा लाइफ आउनु अगाडी उनी रिलायबल नेपाल लाइफमा डेपुटी सीईओको रुपमा थिए भने त्यस अगाडी नेपाल लाइफमा एसिस्टेन्ट जेनेरल म्यानेजर थिए। यति मात्र नभई उनीसँग डाटा इन्जिनियरको रुपमा काम गएको अनुभव समेत रहेको छ।
युनियन लाइफ
नयाँ जीवन बीमा कम्पनी मध्ये बीमा समितिबाट सबै भन्दा पहिले लाइसेन्स पाउने कम्पनीको रुपमा रहेको युनियन लाइफमा अनुभवी र खारिएको नेतृत्त्व रहेको छ। युनियन लाइफमा झन्डै २० बर्षदेखि जीवन तथा निर्जीवन बीमा कम्पनीमा काम गरिसकेका मनोज लाल कर्णको नेतृत्त्व रहेको छ।
महालक्ष्मी लाइफ
महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई रहेका छन्। सम्भवत: नयाँ तथा पुराना जीवन बीमा कम्पनीहरुमा भट्टराई सबै भन्दा लामो समयदेखि नेतृत्त्व तहमा काम गरिरहेका अनुभवी र खारिएका व्यक्ति हुन्।
महालक्ष्मी लाइफ आउनु अगाडी भट्टराई महालक्ष्मी बिकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। महालक्ष्मी विकास बैंक भन्दा अगाडी भट्टराई नेपाल लाइफ र एसियन लाइफमा पनि सीईओको भूमिकामा थिए। बीमा समितिका नीति निर्देशन र नियमबारे विश्लेषण गरि त्यसको सकारात्मक तथा नकारात्मक असरबारे बोल्न सक्ने व्यक्तिका रुपमा समेत भट्टराईलाई लिईन्छ।
....................................................................................................................................................................
पुराना जीवन बीमा कम्पनी
नेपाल लाइफ
नेपालकै ठुलो जीवन बीमा कम्पनी मध्ये एक नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाई रहेका छन्। प्रसाई नेपाल लाइफ आउनु अगाडी नियामकको रुपमा बीमा समितिमा काम गरिरहेका थिए। चार्टड एकाउन्टेन्ट समेत रहेका प्रसाई नेपाल लाइफ जानु अगाडी उनीसंग पनि कुनै पनि जीवन बीमा कम्पनीमा नेतृत्त्व सम्हालेर जिम्मेवारी निभाएको अनुभव छैन।
एसियन लाइफ
एसियन लाइफ को सीईओको रुपमा दिनेश लाल श्रेष्ठ रहेका छन्। श्रेष्ठ एसियन लाइफ आउनु अगाडी गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओ थिए। श्रेष्ठसँग एसियन लाइफ र गणपति लघुवित्त वित्तीय सँस्थामा डाइरेक्टरको अनुभव रहेको छ तर उनीसंग पनि एसियन लाइफ आउनु अगाडी कुनै अर्को जीवन बीमा कम्पनीमा काम नेतृत्त्व सम्हालेर काम गरेको अनुभव छैन।
गुराँस लाइफ
गुराँस लाइफको सीईओमा नारायण कुमार भट्टराई रहेका छन्। उनीसंग पनि गुराँस लाइफ आउनु अगाडी कुनै अर्को जीवन बीमा कम्पनीमा सीईओको रुपमा काम गरेको अनुभव छैन। लाइफ इन्स्योरेन्स कर्पोरेशनमा क्षेत्रीय प्रमुख 'रिजनल प्रमुख'को रुपमा काम गरेका भट्टराईको पनि गुराँस लाइफमा सीईओको जिम्मेवारी पहिलो अनुभव हो।
सुर्य लाइफ
सुर्य लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का हुन्। खड्का सुर्य लाइफ आउनु अगाडी नेपाल लाइफमा एसिस्टेन्ट म्यानेजर हुँदै डेपुटी म्यानेजर भएका व्यक्ति हुन्। आन्तरिक विवादका कारण नेपाल लाइफ छाडेका खड्का त्यस पश्चात सिधै सुर्य लाइफमा छोटो अवधिमा नै डिजीएम हुँदै सीईओ बनेका व्यक्ति हुन्।
प्राइम लाइफ
प्राइम लाइफको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार भट्टराई रहेका छन्। भट्टराई पुराना जीवन बीमा कम्पनीहरु मध्ये कै एक अनुभवी तथा खारिएका व्यक्ति हुन्। उनीसंग जीवन बीमासंगै बैंकिङ, फाइनान्सको क्षेत्रमा समेत लामो अनुभव रहेको छ। प्राइम लाइफमा सीईओ को रुपमा आउनु भन्दा पहिला भट्टराई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सीईओको जिम्मेवारीमा थिए।
नेशनल लाइफ
नेशनल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सुरेश कुमार खत्री रहेका छन्। खत्री अरु अनुभव व्यक्तिहरु झैँ जीवन बीमा कम्पनीमा मात्र करिब २६ बर्षे अनुभव भएका व्यक्ति हुन्। एक्जुएटिभ एसिस्टेन्ट पदबाट नेशनल लाइफमा करियर सुरु गरेका खत्रीले २६ बर्षको अवधिमा सीईओको जिम्मेवारी पाएका हुन्।
उनले एक्जुएटिभ एसिस्टेन्ट बाट म्यानेजर, त्यसपछि एसिस्टेन्ट जेनेरल म्यानेजरमा पदोन्नति पश्चात डिजिएम , डिसीईओ हुँदै अहिले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन्।
मेट लाइफ, एलआईसी नेपाल
यी दुवै जीवन बीमा कम्पनी बिदेशी कम्पनी हुन् भने यी दुवै कम्पनीमा सीईओ नियुक्ति बिदेशी कम्पनीबाटै हुन्छ।
राष्ट्रिय बीमा संस्थान
राष्ट्रिय बीमा संस्थान सरकारी लगानीको जीवन बीमा कम्पनी हो। यसको सीईओ नियुक्ति राजनीतिक नियुक्ति हुन्छ। हाल यस कम्पनीका सीईओ कवि प्रसाद पाठक हुन्।