कर्मचारी समायोजनको खाका पेश गरेपछि मात्र बीमा कम्पनीलाई मर्जरको स्वीकृति दिन फियुनको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2022 | 02:54:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुन)ले बीमा कम्पनीहरु मर्जमा जाँदा कम्पनीमा कार्यरत कर्मचारीहरुको सेवासुविधा लगायतका विषयहरुमा अझै पनि पूर्ण रुपमा सम्बोधन नभएको प्रति आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । संघले संस्थामा कार्यरत कर्मचारीहरुको पद, तह र सेवासुविधाको समायोजन लगायत जनशक्ति ब्यवस्थापनका सम्पुर्ण खाका पेश गरे पश्चात मात्र सैद्धान्तिक स्वीकृति दिई मर्जर तथा प्राप्ति प्रकृयालाई अगाडि बढाउन आग्रह गर्दै आज बीमा समितिका अध्यक्षलाई पत्राचार गरेको छ ।

हाल बीमा समितिले सैद्धान्तिक सहमति दिएको पत्रमा एक लाइनमा मात्र “कर्मचारीहरुको खाइपाई आएको तलब सुबिधा नघट्ने गरि ब्यवस्थापन गरिने छ” भन्ने शब्दले बर्षौँदेखि कार्यरत संस्थाका कर्मचारीहरुको उचित ब्यवस्थापन होला भन्ने कुरामा बिश्वस्त हुन नसकिने संघले जनाएको छ । नियामक निकायद्वारा नै यस बिषयमा ठोस कदम चालिनु पर्ने माग संघले अगाडी राखेको छ ।

बीमा क्षेत्रलाई सवल, सक्षम, पारदर्शी, विश्वसनीय, व्यवसायिक र पूर्ण प्रतिस्पर्धी बनाई यस क्षेत्रमा कार्यरत कर्मचारीहरुको सर्वोपरी हित चिताई उनीहरुको सेवाको सुरक्षा र सेवाशर्तको रक्षाको लागि स्पष्ट निर्देशन जारी गर्नको लागि समितिका अध्यक्षलाई संघले आग्रह गरेको छ  ।

संघले यस बारे विभिन्न ४ बुंदे माग आगाडी सारेको छ  । संस्थाको कर्मचारी विनियम अनुसार नियमित रुपमा हुनुपर्ने कामकारवाहीहरुलाई मर्जरको बाहनामा अवरुद्ध गर्ने कार्य बन्द गर्नी पर्ने, संस्थामा रहेका रिक्त दरबन्दीका पदपूर्तिका कामहरुलाई नियमितता दिनु पर्ने, श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेको कर्मचारीहरुको नियमित रुपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका नाममा अवरुद्ध गर्ने काम बन्द गरिनु पर्ने र बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिको कार्यको समयावधिलाई निश्चित गर्नु पर्ने माग संघले अगाडी सारेको छ। 

 नेपालमा बित्तिय क्षेत्र (बैंक, फाइनान्स, लघु वित्त) का लागि मर्जर अब नौलो बिषय नरहे पनि बीमा क्षेत्रका लागि यो विलकुलै नयाँ प्रकृया भएकोले बैंकिङ क्षेत्रको मर्जर तथा प्राप्तिमा भए गरेका तिता–मिठा अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरुलाई आत्मसात गरी बीमा समितिले समग्र बीमा क्षेत्र र सोमा कार्यरत कर्मचारीहरुको उचित ब्यवस्थापन एवं लगानीकर्ताको लगानी सुरक्षा र सेवाग्राहीहरुको हितरक्षाको लागि स्पष्ट नीतिगत र प्रकृयागत कानूनी व्यवस्था गरी पूर्ण व्यवसायिक एवं परिणाममुखी कार्य गर्न संघले अपिल गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved