
स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा साढे ४ अर्ब भुक्तानी गरेको छ। बोर्डले चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा ४ अर्ब ४० करोड ९९ लाख ५१ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
बोर्डको कात्तिक २९ गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की फर्छ्यौट गर्ने निर्णय गरेको थियो । जस अनुसार तेस्रो पटक ३४८ सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई १ अर्ब ७ करोड ३० हजार रुपैयाँ भुक्तानी गरेसँगै यो आर्थिक वर्षमा कुल साढे ४ अर्ब निकासा गरिएको बोर्डले जनाएको छ।
बोर्डमा आवद्ध भएका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई पहिलो पटक भदौँ २० गते बसेको बोर्डको बैठकको निर्णय अनुसार २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ भुक्तानी गरेको थियो। दोस्रो पटक ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ भुक्तानी थियो। बोर्डको असोज १४ गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेस्की र्छ्यौट गर्ने निणर्य गरेको थियो ।
बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्य अनुरुप २०७२ सालमा सामाजिक सुरक्षाका रुपमा शुरु भएको यस कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ। बोर्डसँग सम्झौता भएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा पुर्याएका सेवाग्राहीको उपचार प्याकेजसहित एक हप्ताभित्र निर्दिष्ट गरिएको ढाँचामा दाबी प्रविष्ट हुने गरेको र त्यसको समीक्षा तथा मूल्याङ्कन पश्चात् बोर्डबाट दाबीको भुक्तानी गर्ने प्रक्रिया अवलम्वन गरिन्छ।
बोर्डसँग सम्झौता भएका सूचीकृत स्वास्थ्य संस्थाहरुले कार्यक्रममा बीमित सदस्यहरुलाई सेवा प्रदान गरे बापतको लागत रकम माग दाबी गर्न बोर्डको बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत पठाउने व्यवस्था छ। भुक्तानीको लागि प्राप्त दाबीहरु मूल्यांकन र सूचना प्रविधि शाखाबाट थप मूल्यांकनसहितको प्रतिवेदनका साथ भुक्तानीका लागि बोर्डका कार्यकारी निर्देशकसमक्ष पेश हुने र आवश्यक प्रक्रिया पुर्याई बैंकिङ प्रणालीमार्फत सम्बन्धीत सेवा प्रदायक संस्थालाई भुक्तानी हुन्छ।
स्वास्थ्य बीमा कार्यक्रममा परिवारलाई इकाईको रूपमा मानिन्छ। परिवारको योगदानको आधारमा स्वास्थ्य सेवा प्रवाह र उपभोग हुने गर्छ। प्रतिपरिवार (५ जनासम्म) ३५ सय रुपैयाँ योगदानको आधारमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा र थप परिवार सदस्य ७ सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाख रुपैयाँ (१० जनाको परिवार सदस्य) सम्म रहेको छ ।
हाल बोर्डसँग ४४९ वटा सेवा प्रदायक संस्थाहरू सूचीकृत छन्। स्वास्थ्य बीमा बोर्डमा सूचीकृत भएका यी सेवा प्रदायक संस्थाहरुले बीमा कार्यक्रममा आवद्ध भएका बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँछन् ।