बीमा संस्थानका कर्मचारीले बोर्ड बैठक मै पुगेर संचालक घेरे, अनि बोलाईयो प्रहरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 09:38:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार राष्ट्रिय बीमा संस्थानको संचालक समितिको बैठक चलिरहेको थियो । बोर्ड बैठक चलिरहेको बेलामा संस्थानका कर्मचारीहरु बैठक कक्षको ढोका मै पुगेर संचालकहरुलाई घेरे। 

कारण थियो उनीहरुको आन्दोलन ।  प्रशासनले आफुले गर्नु पर्ने काम नगर्दा त्यसको अपजस र असुविधा आफुले भोग्नुपरेको भन्दै  कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । बोर्ड बैठकमा आफ्ना मागहरु बारे छलफल नहुने सुईको पाएपछि कर्मचारीहरुले बैठक कक्ष मै पुगेर संचालक घेरेका हुन् । 

उनीहरुले आफ्नो मागमाथि छलफल भई पास नगरेसम्म बोर्ड बैठक समाप्त हुन नदिने अडान लिएर हलको ढोका घेरामा हालेका थिए। कर्मचारीको घेराबन्दीमा परेपछि संस्थानका प्रशासक कवि प्रसाद पाठकले प्रहरी बोलाए। प्रहरीले कर्मचारीलाई कार्यकक्षामा जान आग्रह गरे। तर, कर्मचारीहरु भने माग पुरा नभएसम्म नहट्ने अडान लिए । अन्तिममा प्रशासक पाठकले अर्काे बैंकठमा मागहरु सम्बोधन गर्ने आश्वासन दिएपछि उनीहरु कार्यकक्षमा गएको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठले बताए।

‘प्रहरी आईसकेपछि अर्काे बोर्ड बैठकमा माग सम्बोधन गर्ने बताए। त्यसपछि हामी कार्यकक्षामा आयौँ’ उनले भने, ‘सोही दिन गरेको माग हैन। त्यहि दिन हाम्रा मागमाथि छलफल हुनुपर्ने थियो, तर भएन। अर्काे बैठकमा गर्छाै भनेर हामीलाई विधिवत र अवस्थागत रुपमा जानकारी गराएको भए हामी आफै छोडीदिन्थ्यौँ।’ उनले प्रहरी देखाएर धम्काउने काम भएको बताए। 

प्रहरी र अन्य जे सुकै पावरहरु लगाएर धम्काएपनि आफुहरुले राखेका मागहरु सम्बोधन नभएसम्म पछि नहट्ने कर्मचारीहरु बताउँछन्। विं.सं. २०७० साल देखि कै मागहरुमा सम्झौता भएको तर कार्यान्वयन नभएकोले यो पटक माग पुरा नभएसम्म पछि नहट्ने राष्ट्रिय बीमा संस्थान कर्मचारी संघका अध्यक्ष मनोज गौतमले बताए। ‘२०७० सालमा भएका सम्झौताहरु कार्यान्वयनमा आएका छैनन्।’ उनले भने, ‘एक्चुअरी भ्यालुएसन र लेखापरीक्षण नभएको भन्दै वर्षाै वर्ष झुलाएर राखिएको छ।’ 

कर्मचारीहरुले एक्चुअरी भ्यालएसन तथा लेखापरीक्षण गर्न पनि दबाब दिईरहेका छन्। तर, लेखापरीक्षण नहुनुमा पनि कर्मचारीलाई दोष थुपारेर आफु पन्सिन खोजेको उनीहरुको भनाई छ। ‘लेखापरीक्षण भएकै छैन भनेर विभिन्न सेवा सुविधाबाट हामीलाई वञ्चित बनाईएको छ। लेखा परीक्षण नहुनुमा कर्मचारीले काम नगरेको भन्ने कुराहरु पनि हाम्रो नेतृत्वबाट भएको छ।’ दुवै अध्यक्षले भने, ‘कर्मचारी तहबाट हुनुपर्ने काम सबै भएका छन्। नभएपनि संस्थामा संञ्चालक समिति, व्यवस्थापन समिति के को लागि? काम गराउन पर्दैन? जिम्मेवारी पुरा गर्न नसक्ने कर्मचारीलाई कानूनी दायरामा ल्याए भयो नि त। आफुले काम नगर्ने अनि कर्मचारीले नगरेनन् भन्न पाईन्छ?’

व्यवस्थापन तथा सञ्चालक समिति गैरजिम्मेवार बन्दा संस्थान कमजोर परेको उनीहरुको भनाई छ। यो पटक कर्मचारीका सेवा सुविधाको साथसाथै संस्थानको निरन्तरता, सुशासन र पारदर्शिताको लागि कर्मचारी बुलन्द आवाज उठाएको बताए। ‘हामीले कर्मचारीले पाउने सेवा सुविधा माग गर्छाै यो हाम्रो अधिकारको कुरा हो। हामीले कर्तव्य बिर्सियौँ भने उहाँहरुले भन्न पर्यो।’ उनीहरुले भने, ‘यो पटकको हाम्रो माग नितान्त कर्मचारीको सेवा सुविधाको लागि मात्रै नभई संस्थान सुढृणीकरणको लागि पनि हो।’

संस्थान रहेमात्रै कमचारीको अस्तित्व रहने बताउँदै उनीहरुले संस्थानमा धेरै लापरबाहि भएको बताए। जसलाई रोक्नको लागि कर्मचारी नै उठ्नु पर्ने अवस्था दुखद रहेको उनीहरु बताउछन्। उनीहरुले लिखित राखेका मागहरुमा पनि पचास प्रतिशत माग नितान्त संस्थागत सुशासन र सुदृढीकरणका लागि छन्। 

उनीहरुले लेखापरीक्षण एवं वार्षिक साधारण सभा, एक्चुअरी भ्यालुएसन, संस्थाको जग्गा र मोडालिटि, संस्थाले गर्ने लगानीको अवस्था र व्यवस्था, कर्मचारी नियामावलि आदिमा आधारित रहेर मागहरु राखेका छन्। माग पुरा नभए आन्दोलनमा उत्रिने दुवै संघले जनाए। 

संस्थानका प्रशासक  कवि पाठकले भने कर्मचारीले देखावटी रुपमा एउटा माग राखेको र वास्तविक माग अर्कै भएको बताए। घर कर्जाको सिमा बढाउने विषयमा निर्णय नहुँदा कर्मचारी आक्रमक भई बैठक हल घेराउ गरेको उनले बताए। ‘घर कर्जाको सिमा बढाउने कुरा थियो। त्यो दिन निर्णय हुन सकेन।’ पाठकले भने, ‘सोही विषयलाई लिएर उहाँहरुले घेराउ गर्नुभएको हो।’

उनले अन्य मागहरुलाई भने सामान्य रुपमा लिएको देखिन्छ। उनले कर्मचारीको कार्यव्यवस्थामाथि उल्टै प्रश्न उठाएका छन्। ‘बीमा संस्थानका कर्मचारी त्यस्तो संवेदनशिल भएको भए अहिलेसम्म यस्तो काम हुन्थ्यो?’ उनले भने, ‘लाजले बाहिर देखाउन विज्ञप्तिमा लेखेका मात्रै हुन्।’

उनका अनुसार कर्जा सिमा बढाउने माग व्यावस्थापनले गरेको थियो। जसलाई बोर्डले पास गर्नुपर्ने थियो। अर्थमन्त्रालयबाट  प्रतिनिधित्व गरिरहेका अरुण पोखरेल अहिले बाहिर भएको कारण बैठकमा उपस्थित थिएनन्। त्यसैले त्यो निर्णय पछिको लागि सारीएको थियो। तर कर्मचारीले सोही दिन पास हुनुपर्ने दबाब दिएको उनले बताए। 

त्यसो त संस्थाका कर्मचारीलाई उत्तरदायी तथा संवेदशिल बनाउने जिम्मेवारी तपाईहरुको हैन भन्ने प्रश्नमा उनले भने, ‘हुन त हो, हामीले व्यवस्थापन गर्नुपर्ने। युनियन भन्ने त्यस्तै छाडा त हुन्छन्।’

उनले युनियनले माग राख्दैगर्दा लिखित माग राख्नुपर्नेमा नराखेको र एकैदिनमा देखाउनका लागि विज्ञप्तिसहितको माग राखेको बताए। ‘युनियनले माग गर्दा लिखित गर्नुपर्छ, अल्टिमेटम दिनुपर्छ, समय दिनुपर्छ।’ उनले भने, ‘एक दिन उफ्रेर हुन्छ?’

संस्थानका कर्मचारी र व्यवस्थापक तथा सञ्चालकबीच यो पटकको आन्दोलन चर्काचर्कि हुने देखिएको छ। उक्त मागहरुप्रति सञ्चालक केही ठोस निर्णय गर्ने वा सम्झौता गर्न तयार देखिदैन। यता कर्मचारीहरु अब सस्थान कम्पनीमा जानुपर्ने समय भैसक्दा पनि केही तयार नभएको र यहि प्रवृतिमा संस्थानको कार्य अगाडी बढे भविष्यमा पनि धेरै सेवासुविधाबाट सञ्चित हुनुका साथै संस्थान बन्द हुनसक्ने आंकलन गरि आन्दोलनको तयारी गरेका छन्। विगतमा पनि अग्रज(सिनियर) कर्मचारीले गरेका मागहरु त्यसै हेलचेक्राई गरेको भन्दै अब भने कुनै पनि हालतमा पछि नहट्ने कर्मचारी संघहरुको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved