बीमा संस्थानको विशेष साधारणसभा फेरि स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2023 | 11:36:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको आज भदौ २९ गते बोलाइएको विशेष साधारणसभा फेरि स्थगित भएको छ । संस्थानले यसअघि भदौ १५ मा विशेष साधारणसभा बोलाएको थियो ।  सो दिन विविध कारणवश बस्न नसकेका भनिएको साधारणसभा सम्बन्धी प्रस्तावका सन्दर्भमा मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने भएकोले स्थगित गर्नु परेको हो ।

बीमा ऐन २०७९ मा भएको प्रावधान बमोजिम संस्थान आगामी कात्तिक २३ गतेभित्र पब्लिक कम्पनीमा रुपान्तरण हुनुपर्ने बाध्यात्मक अवस्था छ । ऐनको व्यवस्था बमोजिम कम्पनीमा रुपान्तरणका प्रक्रियामा रहेको यस संस्थानले सोहि प्रस्ताव पारित गर्न पटक पटक साधारणसभाको मिति तय गरेको छ । संस्थानका व्यवस्थापक भोलानाथ घिमिरेका अनुसार संस्थानले आगामी साधारणसभाका लागि पेश गरेको प्रस्तावका सन्दर्भमा मन्त्रिरिषद बैठकले निर्णय गर्नुपर्ने भएकोले शुक्रबारको सभा रोकिएको जानकारी दिए । 

गत असोज २३ गते जारी भएको बीमा ऐन, २०७९ को दफा १७२ को उपदफा ३ क बमोजिम संस्थान कात्तिकको २३ गतेसम्म कम्पनीमा रुपान्तरण हुनुपर्ने छ । साथै हाल २० करोड मात्रै चुक्ता पूँजी रहेको यस संस्थानले नियामक निकाय बीमा प्राधीकरणले तोके बमोजिम चुक्तापूँजी पनि ५ अर्ब पुर्याउनु पर्नेछ । 

हाल संस्थापकतर्फको मात्र स्वामित्व रहेको यस संस्थाले सर्वसाधारणलाई समेत समेट्दै पूँजी र्पुयाउने योजना अघि सारेको छ । संस्थानले संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय बमोजिम कार्य योजना तयार गरी नेपाल सरकार अर्थ मन्त्रालयमा पेश गरेको छ । यससम्बन्धमा संस्थानले नेपाल राष्ट्र बैंक र नेपाल बैंकको भने स्वीकृति लिइसकेको जानकारी दिएको छ ।

'संस्थानले पठाएको विशेष साधारणसभाको प्रस्तावका विषयमा मन्त्रिपरिषदको बैठकले निर्णय गर्नुपर्ने जवाफ अर्थमन्त्रालयबाट आएको छ ।' संस्थानका व्यवस्थापक घिमिरेले बिजपाटीसँग कुराकानी गर्दै भने, 'अब मन्त्रिपरिषदको निर्णय आएपछि संस्थानको सभा बस्नेछ ।' संस्थानले छिट्टै सभाको अर्को मिति तय गर्ने उनले बताए ।

संस्थान कम्पनीमा रुपान्तरण गर्ने सम्बन्धी प्रस्ताव आगामी साधारणसभाबाट पारित भएमा सर्वसाधारणलाई सेयर जारी गर्ने र सेयर संरचना हेरफेर गरी पूँजीवृद्धि गर्न सकिने हुँदा संस्थानले सोहीअनुसार पूँजीवृद्धि योजना तयार गरेको छ । संस्थानको योजनाअनुसार कुल ५ अर्ब चुक्तापूँजीमा संस्थापकतर्फ  ३ अर्ब ५० करोड कायम गर्ने र बाँकी १ अर्ब ५० करोडको लागि सर्वसाधारणमा सेयर जारी गरिनेछ  । 

यस अघि: पब्लिक कम्पनीमा परिणत हुँदै बीमा संस्थान, डेढ अर्बको आईपीओ निष्काशन तयारी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved