बीमा कम्पनीले आईपीओको प्रिमियमबाट बोनस बाँड्न पाउने, कसको क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 11:40:34 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुले आईपीओ निष्काशन गर्दा प्रिमियम बापत संकलन गरेको रकम लाभांशका रुपमा वितरण गर्न पाउने भएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रिमियममा आईपिओ निष्काशन गरेका कम्पनीले चुक्ता पूँजी पुर्याउने प्रयोजनका लागि लाभांश वितरण गर्न दिने स्वीकृति दिएको हो ।

बीमा कम्पनीहरुलाई तोकिएको समयमा चुक्ता पूँजी पुर्याउन सकस परिरहेको अवस्थामा प्राधीकरणले सहजीकरण गरिदिएको बीमा प्राधीकरणका अधिकारीहरु बताउँछन् । प्राधिकरणले २०८० साल असार मसान्तसम्म बीमा कम्पनीहरुलाई पुँजिवृद्धि गर्ने निर्देशन दिएको थियो । सो बमोजिम बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन भनेको थियो ।

बीमा कम्पनीहरुले समयसीमा नै तोकेर चुक्ता पूँजी पुर्याउन निर्देशन दिएपनि अहिलेसम्म करिब एक तिहाई अर्थात तीन जीवन बीमा कम्पनी र चार निर्जीवन बीमा कम्पनीले मात्रै पूँजी पुर्याउन सकेको देखिन्छ । कतिपय बीमा कम्पनीले बोनश तथा हकप्रदबाट पूँजी बढाउन सकेका छन् भने कतिपय बीमा कम्पनी मर्जरमा गएका थिए । 

त्यस्तै केही बीमा बीमा कम्पनीहरुले हालसालै मात्रै प्राथमिक पब्लिक अफरिङ्ग आईपीओ निष्काशन गरी सञ्चालनम  रहेका छन् । ती कम्पनीको हकमा पूँजी वृद्धि गर्ने प्रयोजनका लागि प्रिमियम बापत संकलित रकम बोनश शेयर जारी गर्न दिने गरी सैदान्तिक स्वीकृति प्रदान गरिएको प्राधीकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल बताउँछन् । 'यी कम्पनीहरुलाई पूँजी पुर्याउनका लागि प्रिमियमको रकम बोनस शेयरका रुपमा बाड्न दिने सैदान्तिक स्वीकृति दिइएको हो ।' बिजपाटीसँग उनले भने, 'तर उक्त रकम नगद लाभांशका रुपमा भने बाँड्न पाइने छैन् ।' 

प्राधिकरणले दिएको यस किसिमको सहजीकरणबाट प्रिमियम मूल्यमा आईपीओ जारी गरेका रिलायबल नेपाल लाईफ इन्स्योरेन्स,  सिटिजन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाईफ इन्स्योरेन्सलाई पूँजी पुर्याउने केही सहज हुने देखिन्छ । 

हाल १४ जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, हिमालयन लाइफ र नेशनल लाइफले ५ अर्ब रुपैयाँ बढी चुक्ता पूँजी कायम गरिसकेका छन् । बाँकी ११ बीमा कम्पनीले भने तोकेको पूँजी पुर्याउन सकेका छैनन् । 

त्यस्तै गरी १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये चार कम्पनी आइजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर र सगरमाथा लुम्बिनी (सलिको) ले पुँजी पुर्याए पनि १० कम्पनीको भने पूँजी पुग्न सकेको छैन् । 

यी हुन् प्रिमियममा आईपीओ जारी गरेका कम्पनी

प्रिमियममा आईपीओ जारी गरेका कम्पनीमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाईफ इन्स्योरेन्स रहेका छन् । 

सिटिजन्स लाइफले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २४४ रुपैयाँमा ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो। हल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ छ । ३ अर्ब ७५ करोड चुक्ता पूँजी रहेको यस कम्पनीलाई पनि तोकिएको पूँजी पुर्याउन प्रिमियमबाट संकलित रकम नै पर्याप्त हुने देखिन्छ । यस कम्पनीको शेयर प्रिमियम रकम एक अर्ब ५५ करोड रहेको छ ।

 त्यस्तै रिलायबल नेपाल लाईफले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य सहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो । हाल ४ अर्ब पूँजी रहेको यस कम्पनीलाई प्रिमियम कोषको रकम बोनसको रुपमा बाँड्न पाउँदा पूँजी पुग्ने देखिन्छ । यस कम्पनीको शेयर प्रिमियम रकम एक अर्ब ७५ करोड रहेको छ ।

त्यस्तै आइएमई लाइफले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसा दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो । हाल ४ अर्ब पूँजी रहेको यस कम्पनीलाई पनि प्रिमियम कोषको रकम बोनसको रुपमा बाँड्न पाउँदा पूँजी पुग्ने देखिन्छ । यस कम्पनीको शेयर प्रिमियम रकम एक अर्ब ५३ करोड रहेको छ ।

 त्यस्तै सन नेपाल लाईफले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । हाल सन नेपाल लाईफको च’क्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीले तोकिएको पूँजी पुर्याउन एक अर्ब ८० करोड थप्नु पर्ने देखिन्छ । यस कम्पनीको शेयर प्रिमियम रकम एक अर्ब २६ करोड रहेको छ । यस कम्पनीलाई भने बोनसको रुपमा सबै प्रिमियम रकम बाँड्दा पनि केही अपुग हुने देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved