बीमाको नाममा ८३ करोड हिनामिनाको आरोप, अख्तियार सहित ४ निकायमा उजुरी

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Dec 07, 2023 | 02:14:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनमाथि करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । एशोसिएशनका पदाधिकारीहरुले गैरकानुनी रुपमा पेट्रोल पम्पहरुसँग मार्गस्थल बीमा शुल्क उठाएको र त्यसरी उठाएको करोडौँ रकम हिनामिना गरेको आरोप लागेको हो ।

अख्तियार दुरुपयोग अनुसान्धान आयोग सहितका निकायमा छानबिनका लागि परेको उजुरीमा तोकिए भन्दा बढी बीमा शुल्क उठाएर अपचलन गरेको आरोप लगाइएको छ । नेपाल आयल निगमले मार्गस्थल बीमाशुल्क अन्तर्गत डिजेलका लागि प्रतिलिटरमा ०.०७ रुपैयाँ, पेट्रोलका लागि प्रतिलिटरमा ०.०६ रुपैयाँ र मट्टितेल प्रतिलिटरमा ०.०७ रुपैयाँ बीमाशुल्क संकलन गर्ने प्रावधान भएपनि यसको विपरित हुने गरि पेट्रोलियम डिलर्स एशोसिएशनले उक्त दरभन्दा बढी शुल्क उठाएर रकम अपचलन गरेको आरोप उजुरीकर्ताले लगाएका छन् ।

उक्त उजुरीमा एशोसिएशनले निर्धारित दरभन्दा बढी अर्थात् डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर ०.११५ रुपैयाँसम्म बीमा शुल्कबापत उठाएको उल्लेख छ । आर्थिक वर्ष २०७४/०७५ देखि एशोसिएशनले नै बीमाशुल्क उठाउँदै आएको बताइइन्छ । त्यसअधि नेपाल आयल निगमले यस्तो शुल्क उठाउँदै आएको थियो । 

उक्त उजुरीपत्र अनुसार एशोसिएशनले २०७८/०७९ मा पेट्रोलबाट ८ करोड ६१ लाख ९७ हजार ५८४ रुपैयाँ, डिजेलबाट २० करोड ३८ लाख ५३ हजार ३८७ र मट्टितेलबाट २१ लाख २ हजार ४०६ रुपैयाँ गरी कुल २९ करोड २१ लाख ५३ हजार ३७७ रुपैयाँ संकलन गरेको उल्लेख छ । तर एशोसिएसनले १३ करोड ४ लाख ६६ हजार ८३७ रुपैयाँ मात्र सो वर्षमा बीमा कम्पनीलाई प्रिमियम वापत भुक्तान गरेको पनि उजुरी पत्रमा उल्लेख छ । उजुरीकर्ताले सो वर्ष एशोसिएशनले १३ करोड ८७ लाख ९९ हजार ५ रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन् ।

यसैगरी एशोसिएशनले ६ वर्षमा ८३ करोड २७ लाख ९४ हजार ३० रुपैैैयाँ हिनामिना गरेको आरोप उजुरीकर्ताले दिएको उजुरीपत्रमा उल्लेख छ । यसका साथै मूल्य अभिवृद्धि कर र अन्य कर छलेको समेत आरोप लगाइएको छ । 

उजुरीकर्ताले मसिंर १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । यसको बोधार्थ नेपाल बीमा प्राधिकरण, राजस्व अनुसन्धान विभाग, सम्पति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल आयल निगमलाई पनि पठाइएको छ । 

उक्त उजुरीका आधारमा बीमा प्राधिकरणले भने स्पष्टिकरण माग गर्दै एशोसिएशनलाई पत्र काट्ने तयारी गरेको जनाएको छ । स्रोतका अनुसार प्राधिकरणले स्पष्टिकरण पत्र तयार पारेको र पठाउन बाँकी छ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले उजुरीको बारेमा आफूलाई केही पनि जानकारी नभएको प्रतिक्रिया दिएका छन् । बिजपाटी सँगको कुराकानीमा उनले भने, ‘उजुरी परेको छ भन्ने हल्ला सुनेको छु तर, मलाई आधिकारीक रुपमा केही पनि थाहा छैन ।’ 

एशोसिएशनका महासचिव विश्वप्रसाद अर्यालले झुठो आरोप लगाएर उजुरी दिने काम भएको भन्दै आरोपको खण्डन गरेका छन् । उनले एशोसिएशनले नभई बीमा कम्पनीहरुले नै बीमा शुल्क वापतको रकम उठाउने गरेको र एशोसिएशनले कुनै रकम हिनामिना नगरेको दाबी गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved