कुन बीमा कम्पनीले कसरी पुर्याउँदैछन् अपुग पूँजी ? यस्तो छ क्यापिटल प्लान

चन्दा कार्की

चन्दा कार्की

Dec 12, 2023 | 12:56:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पूँजी वृद्धिको योजना पेश गर्न निर्देशन दिएसँगै कम्पनीहरुले पूँजी वृद्धि योजना पेश गरेका छन् । गत बुधबार प्राधिकरणले मर्जरमा गएर पनि पूँजी पुर्याउन नसकेका साथै पूँजी वृद्धि योजना पेश नगरेका कम्पनीको नाममा पत्र काटेको थियो । 

बीमा प्राधिकरणले दिएको निर्देशन बमोजिम जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने हुन्छ । प्राधिकरणलाई पूँजी वृद्धि योजना पेश गरेका अधिकांश कम्पनीले बोनस र हकप्रदबाट नै पूँजी पुर्याउने भएका हुन् ।

जीवन बीमा कम्पनीहरुको पूँजी वृद्धि योजना

प्राधिकरणको तथ्यांक अनुसार हालसम्म १४ जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, हिमालयन लाइफ र नेशनल लाइफ गरी तीन कम्पनीले ५ अर्ब रुपैयाँ बढी चुक्ता पूँजी कायम गरिसकेका छन् । बाँकी ११ बीमा कम्पनीले भने तोकेको पूँजी पुर्याउन सकेका छैनन्। यीमध्ये हालसालै प्रिमियममा आईपीओ बेचेका ४ कम्पनीलाई प्रिमियम रकमबाट पुूँजी बढाउने प्रयोजनका लागि बोनस बाँड्न दिन सकिने संकेत प्राधिकरणले गरेको छ ।

प्राधिकरणले पत्र काटेपछि पूँजी वृद्धि योजना पेश गरेको सुर्यज्योती लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको घोषणा हुन बाँकी लाभांश वितरण गरेर पूँजी पुर्याउने योजना पेश गरेको छ । कम्पनीको हाल ४ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको छ । तोकिएको पूँजी पुर्याउन कम्पनीलाई ४६ करोड थप गर्नुपर्ने हुन्छ । क्यापिटल प्लान अनुसार उक्त रकम कम्पनीले शेयरधनीलाई बोनस लिएर पुर्याउने भएको छ । 

त्यस्तै सिटिजन लाईफ इन्स्योरेन्सले भने शेयर प्रिमियमको रकम बोनस बाँडेर पूँजी वृद्धि गर्ने योजना प्राधिकरणमा पेश गरेको स्रोतको भनाई छ । प्राधिकरण पनि उक्त रकम बोनसका रुपमा बाँड्न सकिने गरी शैद्धान्तिक स्वीकृति दिएको कम्पनी स्रोत बताउँछन् । 

यता, मर्जरमा गएर पनि पूँजी पुर्याउन नसकेको प्रभु महालक्ष्मीले फर्दर पब्लिक अफरिङ्ग (एफपीओ) निष्काशन गर्ने योजना प्राधिकरणमा पेश गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड रहेको छ । कम्पनीले तोकिएको पूँजी पुर्याउन ७१ करोड थप गर्नुपर्ने देखिन्छ । 

त्यस्तै रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले शेयर प्रिमियमको रकमबाट बोनस बाँडेर पूँजी पुर्याउने भएको छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब रहेको छ । कम्पनीले तोकिएको पूँजी पुर्याउन एक अर्ब थप्नु पर्ने हुन्छ । कम्पनीको शेयर प्रिमियम कोषमा एक अर्ब ७५ करोड रुपैयाँ रकम सञ्चित रहेको छ । 

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी हालैमात्र संस्थानबाट कम्पनीमा रुपान्तरण भएकोले पूँजी बढाउनका लागि एक वर्षको समयावधि दिइएको छ । 

सानिमा रिलायन्सको हाल ४ अर्ब १८ करोड पूँजी रहेको छ । कम्पनीले पनि हालसम्म पूँजी वृद्धिको औपचारिक जानकारी प्राधिकरणलाई दिएको छैन । एशियन लाईफको ३ करोड १५ लाख रुपैयाँ रहेको छ भने  २ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को चुक्तापूँजीको योजना पेश गरेको छैन । ५५ प्रतिशत एलआइसी इण्डियाको लगानी रहेको यस कम्पनीले केही महिनापहिले नै हकप्रदबाट पूँजी पुर्याउने भन्ने जानकारी प्राप्त भएपनि पछिल्लो पटक प्राधिकरणलाई औपचारिक रुपमा केही जानकारी नआएको बताइएको छ ।

नीर्जिवन बीमा कम्पनीहरुको पूँजी वृद्धि योजना

त्यस्तै गरी १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये चार कम्पनी आइजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर र सगरमाथा लुम्बिनीले पुँजी पुर्याए पनि १० कम्पनीको भने पूँजी पुग्न सकेको छैन।

यता, नीर्जिवन बीमा तर्फको कम्पनी नेपाल इन्स्योरेन्सले ७२ करोड ४७ लाख रुपैयाँ बराबरको आफ्नो स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्सको शेयर बिक्री गरेको छ । हाल एक अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको चुक्ता पूँजी शेयर बिक्री पश्चात करिब २ अर्ब २२ करोड पुगेको छ । कम्पनीले तोकिएको पूँजी पुयाउन अझै २८ करोड थप्नुपर्ने हुन्छ ।

त्यस्तै १ अर्ब ३७ करोड पूँजी रहेको प्रभु इन्स्योरेन्सले पनि नेपाल रि इन्स्योरेन्सको शेयर बिक्री गर्ने योजना प्राधिकरणमा पेश गरेको छ । कम्पनीले तोकिएको पूँजी पुर्याउन अझै एक अर्ब १३ करोड थप गर्नु पर्ने देखिन्छ । प्राधिकरणले यसअघि देखि नै नेपाल रि इन्स्योरेन्सको शेयर बिक्रीमा राखेकोमा बिक्री हुन नसकेकोमा अब उक्त शेयरको मुल्य घटाएर पुन बिक्रीमा राख्ने योजना प्रभु इन्स्योरेन्सको रहेको छ । 

हिमालयन एभरेष्टको चुक्ता पूँजी २ अर्ब ३० करोड रुपैयाँ रहेको छ । तोकिएको पूँजी पुर्याउन कम्पनीले २० करोड थप गर्नुपर्ने देखिन्छ । यस कम्पनीले नेपाल पुनर्बीमाको शेयर बिक्रीबाट पूँजी थप गर्दैछ ।  त्यस्तै सानिमा जिआईसीले गतआर्थिक वर्षको घोषणा हुन बाँकी रहेको बोनस र थप रकमको लागि हकप्रद जारी गर्ने योजना प्राधिकरणमा पेश गरेको छ । त्यस्तै एक अर्ब ४५ करोड चुक्ता पूँजी रहेको एनएलजी इन्स्योरेन्सले हकप्रद बिक्री गरेर पूँजी बढाउने योजना प्राधिकरणमा पेश गरेको छ ।

त्यस्तै  १ अर्ब ९० करोड पूँजी रहेको युनाइटेड अजोड इन्स्योरेन्सले पनि पूँजी वृद्धि योजना पेश गरेका छैनन् । प्राधिकरणका अनुसार यस कम्पनीलाई पूँजी वृद्धि योजना पेश गर्न पत्र पठाइ सकिएको छ । यता, औपचारिक रुपमा पूँजी वृद्धि योजना पेश नगरेको नेको इन्स्योरेन्सले थप आवश्यक पूँजी हकप्रदबाट पुर्याउने बताइएको छ । हाल कम्पनीको चुक्ता पूँजी दुई अर्ब १ करोड रहेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीलाई पूँजी वृद्धिको निर्देशन दिइसकेको प्राधिकरण स्रोत बताउँछन् ।

विदेशी लगानीका कम्पनीको पूँजी के हुन्छ ?

नेपालमा सञ्चालित नेशनल इन्स्योरेन्स, मेट लाईफ इन्स्योरेन्स र दि ओरियण्टल इन्स्योरेन्सको हकमा भने सम्पूर्ण दायित्व नै विदेशी कम्पनीले ब्यहोर्ने बताइएको छ । प्राधिकरणका अनुसार यी कम्पनीले नेपालमा शाखा कार्यालयमार्फत सेवा दिएको हुनाले उनीहरुको सबै दायित्व उनीहरुको सम्बन्धित देशको कम्पनीले व्यहोर्ने बताइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल यी कम्पनीले सबै दायित्व ब्योहोर्ने गरी प्राधिकरणमा पत्र नै पठाइसकेको बताउँछन् । नेशनल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने दि ओरियण्टल इन्स्योरेन्सको पूँजी २५ करोड मात्रै रहेको छ । त्यस्तै मेट लाईफको वासलातमा चुक्तापूँँजी प्रष्ट रुपमा खुलाइएको छैन । 

यस अघि :- पूँजी पुर्याउन बोनस र हकप्रद नै रोज्दै बीमा कम्पनी, कुनको योजना के ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved