किसानका कुरा गर्न चारतारे होटलमा ‘कार्यक्रम र रात्रीभोज’ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 24, 2023 | 12:01:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कफीबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्न काठमाडौँको होटल शङ्करमा सोमबार एउटा कार्यक्रम राखियो । निमन्त्रणानुसार आर्थिक विषयवस्तुमा समाचार लेख्ने पत्रकारहरु दिउँसो २ बजे तोकिएकै समयमा लाजिम्पाटस्थित होटल शङ्कर पुगे । कार्यक्रम ३ बजे मात्रै सुरु भयो ।

युरोपियन युनियनको सहयोगमा सञ्चालन भएको ‘इयू–नेपाल ब्यापार तथा लगानी कार्यक्रम’मार्फत अन्तर्राष्ट्रिय ब्यापार केन्द्रको प्राविधिक सहयोगमा भएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न चार तारे होटलमा कार्यक्रम आयोजना गरिनु आफैँमा अनौठो र हास्यास्पद थियो ।

अझ, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का बाली तथा बागवानी निर्देशक श्रीमद श्रेष्ठ, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रशासकीय अधिकृत चन्द्र पुरी, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रतिनिधि र कृषि तथा वन विज्ञान विश्व विद्यालयका प्राध्यापकहरु नै कफीको कुरा गर्न चार तारे होटलमा लाइन लागेर उपस्थित भए । 

त्यसले नेपालका कृषि सम्बद्घ अधिकारीहरु र विज्ञ स्वयम् कृषिप्रति कतिको संवेदनशिल छन् भन्ने देखाउँछ । उनीहरुलाई चारतारेले आकर्षित गरायो, कृषिप्रति होइन । यस्ता गतिविधिले कृषिप्रति अधिकारीहरु अनुदार छन् भन्ने पनि देखाउने सहभागी एक जनाले बताए ।

‘हाम्रो भनाई पनि तारे होटलमा त्यस्तो कार्यक्रम गरेर कफी खेतीको विकास र विस्तार तथा यसको बजारिकरणमा कुनै उपलब्धी हुँदैन भन्ने नै हो’ कफी व्यवसायी महासङ्घका एक जना पदाधिकारीले भने, ‘त्यत्रो होटलमा त्यस्तो कार्यक्रम गर्ने खर्चले एउटा गाउँमा गएर वास्तविक किसानमा लगानी गरेको भए धेरै उपलब्धी हुन्थ्यो ।’

उक्त कार्यक्रममा कति खर्च भयो भन्ने जानकारी नदिइए पनि खर्च सबै युरोपियन युनियनले बेहोरेको हो । 

तीन वर्षमा जम्मा ४६ प्रशिक्षक उत्पादन, २५० किसानलाई तालिम...

‘इयू–नेपाल ब्यापार तथा लगानी कार्यक्रम’ वाणिज्य मन्त्रालयअन्तर्गत सञ्चालित छ । सन् २०२० को फेब्रअरीमा सुरु भएको यो कार्यक्रम २०२३ को डिसेम्बरमा सकिँदैछ ।

तर, यो कार्यक्रमले अहिलेसम्म कफी सम्बन्धि तालिम दिने जम्मा ४६ जना प्रशिक्षक उत्पादन गरेको छ । कार्यक्रम सञ्चालन भएको ३ वर्ष हुन लाग्दा जम्मा १० जिल्लाका २५० कृषकलाई तालिम दिइएको छ । 

एकातिर कफीको उत्पादन घटिरहेको छ भने, अर्कोतर्फ कफीको उत्पादन बढाउने कार्यक्रम गर्नुको सट्टा विदेशबाट आएको ‘फण्ड’ तारे होटलमा भाषण गरेर सिध्याउनु गलत भएको कफी खेती गरिरहेका गुल्मीका एक जना कृषकले नाम नबताउने शर्तमा गुनासो गरे ।

दिउँसोदेखि गरिएको कार्यक्रम साँझ अबेर गरी सकिएको थियो । कार्यक्रममा उपस्थित भएका सबै जना होटल शङकरमै ‘भिआइपी’ रात्री भोज खाना खाएर निस्किएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved