नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम गर्ने भएको छ। कम्पनीले गत फागुन ११ देखि चैत २५ सम्ममा १०० बराबर ६५ कित्ता सेयरका दरले हकप्रद निष्काशन गरेको थियो।
कम्पनीले निष्काशन गरेको ४० लाख १४ हजार ६५१ दशमलब ५८ कित्ता मध्ये अवितरित १ लाख ४७ हजार ३०१ दशमलब ०८ कित्ता लिलाम गर्न लागेको हो। कम्पनीले निष्काशन गरेको हकप्रदमा ४ हजार ४७८ आबेदकले ३८ लाख ६७ हजार २८८ दशमलब ५० कित्ताको लागि मात्र आबेदन परेको थियो।
लिलाममा राखिएको सेयर मध्ये साधारण सेयर १ लाख ४४ हजार ५९१ दशमलब ३५ कित्ता र संस्थापक सेयर २ हजार ५११ दशमलब ७३ कित्ता रहेको छ। साधारण सेयरमा मापदण्ड पुरा गरेका जो कोहि सर्वसाधारणले बोलकबोल गर्न पाउनेछन तर संस्थापक तर्फको लिलामको सेयरमा संस्थापक सेयरधनीले मात्र कबोल गर्न पाउनेछन।
इच्छुक बोलकबोल दाताले यहि जेठ ५ देखि जेठ १९ गते बैंकिंग समयभित्र आफुले खरिद गर्न चाहेको शेयर संख्या, प्रतिकित्ता रकम उल्लेख गरि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा प्रति कित्ता एक सय रुपैयाँबाट कम नहुनेगरी आबेदन दिनुपर्नेछ। जस्ले बढी मुल्यमा बोलि लगाउँछ अर्थात आबेदन दिन्छ उसले नेपाल इन्स्योरेन्सको लिलामको सेयर पाउनेछ।
इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर जमल काठमाण्डौ, ग्लोबल आइएमई बैकका तोकिएका शाखा कार्यालय जस्तै बिर्तामोड, जनकपुर, बिराटनगर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, बिरगंज, बांग्लुंग, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट समेत आबेदन दिन सक्नेछन। हकप्रद बिक्रि तथा वितरण पश्चात नेपाल इन्स्योरेन्सको चुक्तापुंजी १ अर्ब १ करोड पुग्नेछ।
