नाडा अधिवेशनः चौधरी र थापाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा, को बलियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 01:34:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडामा चुनावी सरगर्मी सुरु भएको छ । अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालको भदौ अन्तिममा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । यसका लागि नेतृत्वका आकांक्षीहरु देखिन थालिसकेका छन् ।

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (वाडा) का पूर्व अध्यक्ष ध्रुब बहादुर थापा र नाडाकै वर्तमान उपाध्यक्ष करण चौधरीले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । चौधरी सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् भने थापा फोर्स गाडीका लागि नेपालको इम्पोर्टर तथा डिष्ट्रिव्युटर्स हुन् ।

यस्ता छन् चौधरीका प्रतिवद्धता

चौधरीले नाडा सातै प्रदेशमा विस्तार भइसकेकाले प्रदेश संरचनालाई बलियो बनाउने आफ्नो पहिलो उदेश्य रहेको बताएका छन् । प्रदेश संरचनालाई व्यवस्थित र बलियो बनाएर नाडालाई संस्थागत रुपमा अझ दर्बिलो संस्थाका रुपमा विकास गर्न आफूले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको चौधरीको भनाई छ । 

‘अटोमोवाइल क्षेत्र भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजि क्षेत्रमा ठूलो रोजगारी सिर्जना गर्दै आएको क्षेत्र हो’ चौधरी भन्छन्, ‘सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्ने वातावरण बनाउन मैले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको हुँ ।’

कोरोनाले थलिएको अटोमोवाइल्स व्यवसायको पुनरुत्थान सँगै अटो व्यवसायमा नयाँ आकर्षण र नयाँ उत्साह ल्याउन पनि आफूले अध्यक्ष बनेर काम गर्न चाहेको चौधरीको भनाई छ ।

प्रत्यासी थापाका पनि प्रतिवद्धताका चाङ

थापाका पनि आफ्नै प्रतिवद्धता छन् । नाडालाई सबै अटो व्यवसायीको साझा संस्था बनाउनेदेखि विधान संशोधनसम्मका मुद्दा थापाले उठाएका छन् ।

विधान संशोधन गरेर नाडाभित्र देखिएका खराब पक्षलाई हटाउने आफ्नो लक्ष्य रहेको बताएपनि उनले नाडाभित्र रहेको खराब पक्ष के हो भन्ने खुलाएका छैनन् ।

‘नाडा केही सीमित कम्पनीहरुको कब्जामा छ, केही ठूला व्यवसायीहरुले आफूले चाहेको व्यक्ति मात्रै हरेक पटक नेतृत्वमा आउने गरी पहिल्यै तयारी अवस्थामा राखेका हुन्छन्’ थापा भन्छन्, ‘यस्तो कदम ठिक होइन, कम्तीमा २ कार्यकाल पदाधिकारी भएको व्यक्ति मात्रै अध्यक्षको दाबेदार हुन पाउने खालको व्यवस्था विधान संशोधन गरेर ल्याउन पनि मैले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको हुँ ।’

कस्तो नेतृत्व चाहान्छन् सदस्यहरु ?

नाडाको वर्तमान कार्यसमितिलाई कोरोना भाइरसका कारण काम गर्न समस्या भयो । विगतमा २ पटक ‘नाडा अटो शो’ को संयोजक बनेर सफलतापूर्वक सम्पन्न गराएका कृष्ण प्रसाद दुलाल नाडाको अध्यक्ष बनेपछि अटोमोबाइल्स क्षेत्र थप चलायमान हुने अपेक्षा गरिएको थियो ।

तर, कोरोनाका कारण हरेक वर्ष आयोजना हुँदै आएको नाडा अटो शो नै आयोजना हुन सकेन । यद्यपी राष्ट्र बैंकदेखि अर्थ मन्त्रालयसम्म र भन्सार विभागदेखि ट्राफिक प्रहरीसम्म नाडाले बेलाबेलामा व्यवसायीका समस्या राख्दै आएको छ । तर, सदस्यहरुलाई व्यवसायिक सफलता दिलाउने किसिमका काम गर्न भने नाडाको वर्तमान कार्यसमितिलाई कोरोनाले छेक्यो ।

त्यसकारण पनि कोरोना भाइरसको महामारीका कारण थलिएको अटो व्यवसायलाई गति दिन सक्ने नेतृत्व सदस्यहरुले चाहेका छन् । दुलालसँगै अध्यक्षमा दाबेदारी दिएर अन्तिममा दुलाललाई नै समर्थन गर्दै ‘ब्याक’ भएका प्रकाश कपुरी अबको नेतृत्वले टायर, ट्युब र लुब्रिकेण्टस्देखि महँगा गाडीको बिक्रेता सम्मलाई समेट्न सक्नुपर्ने बताउँछन् । 

देशभित्रै मोटरसाइकल र गाडीको एसेम्बलिङको कुरा आईरहेकाले यसका लागि ‘सबसिटी’ दिलाउन अधिकतम प्रयास गर्ने नेतृत्व आफूहरुले चाहेको अटोमोबाइल्स व्यवसायीहरु बताउँछन् । 

हालसम्म अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका चौधरी र थापामध्ये चौधरी तुलनात्मक रुपमा बलिया देखिएका छन् । तर, पूर्व अध्यक्षहरुको पनि आशिर्वाद चाहिने भएकाले त्यो कसले पाउँछ अहिले नै भन्न सकिने अवस्था भने छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved