किस्तामा सवारी किन्दा कसरी तोकिन्छ ब्याजदर ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 31, 2021 | 01:44:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ‘अटो लोन’ (सवारी कर्जा) खुम्चिँदो छ । हायर पर्चेज कर्जा सेवा दिने कम्पनीहरु ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (दोस्रो संशोधन २०७५)’ अनुसार चल्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट हायर पर्चेज सेवा दिने कम्पनीले यति नै ब्याजदरमा ऋण सापटी लिनुपर्छ भन्ने व्यवस्था छैन । बैंकहरुबीच कर्जा प्रवाहमा तीव्र प्रतिस्पर्धा रहेकाले एक बैंकको तुलनामा अर्कोले कम ब्याजदरमै हायर पर्चेज कम्पनीहरुलाई ऋण दिने भएर यति नै भनेर नतोकिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् ।

‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (दोस्रो संशोधन २०७५) ले ३ प्रतिशत भन्दा बढी ब्याजदर मार्जिन राख्न नपाउने व्यवस्था गरेकाले यसैले कन्ट्रोल गर्छ’ प्रवक्ता ढकालले भने ।

हायर पर्चेज लोनमा कति छ ब्याजदर ?

हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था अनुसार बैंकबाट यस्तो सेवा दिने कम्पनीले लिएको ऋण सापटीमा ३ प्रतिशतभन्दा बढी ब्याजदर थप गर्न नपाउने व्यवस्था छ । 

यो व्यवस्थाको बुँदा नम्बर ९.१ मा ‘कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने ब्याजदरमा ३ प्रतिशतभन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा ब्याजदर मार्जिन कायम गर्नुपर्नेछ’ भनिएको छ ।

यसको अर्थ कुनै हायर पर्चेज सेवा प्रदायकले कुनै बैंकबाट ९ प्रतिशत ब्याजदरमा ऋण लिएको छ भने यसमा अधिकतम् ३ प्रतिशत जोडेर १२ प्रतिशत ब्याजदरमा सवारीको फाइनान्सिङ गर्नुपर्ने हुन्छ ।

यही व्यवस्थाको बुँदा नम्बर ९.१३ मा ‘कम्पनीले रु. १० लाख भन्दा बढीको हायर पर्चेज कर्जा प्रवाह गर्नुपरेमा अनिवार्य रुपमा कर्जा सूचना निकाल्नुपर्नेछ’ भनिएको छ । 

बैंक अनुसार फरक फरक ब्याजदर

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलाल बैंक र व्यवसायी बीचको ‘अण्डरस्ट्याण्डिङ’ मा यस्तो कर्जा प्रवाह हुने बताउँछन् । उनले बैंक अनुसार ब्याजदर फरक फरक पनि हुने बताए ।

‘बैंक र व्यवसायीबीच इन्टरनल सहमति भएको हुन्छ, त्यसै अनुसार अटो लोन लेनदेन हुन्छ’ नाडाका अध्यक्ष दुलाल भन्छन्, ‘ब्याजदरको मार्जिन ३ प्रतिशतभन्दा बढी हुन नहुने नियम छ, अहिले सिंगल डिजिटमै बैंकहरुले लोन दिँदै आएका छन्, बैंकहरुबीच कसले धेरै लगानी गर्ने भन्ने प्रतिस्पर्धा छ, यसले पनि सजिलो बनाएको छ ।’

उनले राष्ट्र बैंकले नियमन गरिरहेको पनि बताए ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved